ad ad

समाज


कञ्चनपुरमा सुरक्षित गर्भपतन गराउने बढे

कञ्चनपुरमा सुरक्षित गर्भपतन गराउने बढे

प्रतिकात्मक तस्बिर


नेपालखबर
मंसिर २९, २०८० शुक्रबार ११:३२, कञ्चनपुर

कञ्चनपुरमा पछिल्लो समय सुरक्षितरुपमा गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। 

तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निःशुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राख्न थालेपछि गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको हो। 

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकृत खगेन्द्रसिंह कार्कीका अनुसार गत आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा दुई हजार पाँच सय २२ महिलाले यो सेवा लिएका थिए। 

कञ्चनपुर प्रहरीले पनि केही समययता अवैध गर्भपतनलगायत स्वास्थ्य क्षेत्रमा बिना अनुमति सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक बन्द गराउन थालेपछि सरकारी स्वास्थ्य संस्थामा गएर सेवा लिने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो। 

स्वास्थ्य कार्यालयका अनुसार चालु आवको हालसम्म यहाँ आठ सय ९५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन्। 

‘मासिक दुई सय २० भन्दा बढी सेवाग्राही यो सेवा लिन आएको पाइएको छ’, सूचना अधिकृत कार्कीले भने, ‘कञ्चनपुरमा पनि प्रादेशिक अस्पतालदेखि सरकारी केही स्वास्थ्य संस्थाबाट यो सेवा लिने व्यवस्था गरिएको छ।’

नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरका कार्यालयका प्रमुख उद्धव भट्टले पछिल्लो समय स्वास्थ्य संस्थामा सेवा पुगेसँगै सेवाग्राहीको सङ्ख्यामा वृद्धि हुँदै गएको बताए। 

‘पहिला निश्चित ठाउँ भएकाले परिवार नियोजन सङ्घमा मासिक एक सयभन्दा बढी सेवाग्राही पुग्थे’, उनले भने, ‘हामीकहाँ औषधि र औजार विधिबाट यो सेवा प्रवाह गरिरहेका छौँ।’

मासिक ३५ देखि ४० सेवाग्राही सेवा लिन आउने गरेको बताए। सेवा लिन आउनेमध्ये अधिकांशले औषधि विधि रोज्ने गरेको उनले जानकारी दिए। 

कञ्चनपुरमा परिवार नियोजन सङ्घले सन् २००८ देखि यो सेवा दिँदै आएको कार्यालय प्रमुख भट्टको भनाइ छ। स्वास्थ्य कार्यालयले भने सतप्रतिशत सेवाग्राही अझै सरकारी स्वास्थ्य संस्थामा आइनसकेको जनाएको छ। 

‘अझै पनि लुकीछिपी अवैधरुपमा मेडिकल र भारतमा गएर पनि गर्भपतन गराउने पनि छन्’, सूचना अधिकृत कार्कीले भने, ‘अवैध तरिका अपनाउँदा ज्यान जोखिममा पर्न सक्छ ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .