ad ad

खेल


त्यो कठिन लक्ष्य : जहाँ पुग्ने प्रयत्नमा छन् पारस खड्का

त्यो कठिन लक्ष्य : जहाँ पुग्ने प्रयत्नमा छन् पारस खड्का

लक्ष्मी जि.सी
साउन २२, २०७८ शुक्रबार १०:२६, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट गरेको सन्यास घोषणा धेरैका लागि अप्रत्यासित थियो। 

मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत विज्ञप्ति निकालेर उनले अन्तर्राष्ट्रिय क्रिकेटको बिट मार्ने निर्णय सार्वजनिक गरे। पारस जहिलेसम्म राष्ट्रिय टोलीमा रहे तबसम्म सबै कोणबाट चर्चाको केन्द्रमै रहे।

लामो खेल जीवनबाट विश्राम लिएपछि पनि क्रिकेटप्रतिको जिम्मेवारी अझै बाँकी रहेकाले भविष्यमा नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्वका लागि आफू इच्छुक रहेको उनले बताएका छन्।

खेलाडीका रुपमा सक्रिय हुँदा पनि भविष्यमा व्यवस्थापनमा आउने इच्छा रहेको उनले लुकाएनन्। त्यसका लागि आगामी दिनको तयारीमा जुट्नकै लागि योजनावद्ध रुपमै सन्यास घोषणा गरेको पत्रकार सम्मेलनमार्फत बुधबार पनि बताए। 

पारसको क्यान सपना 
आगामी दिनमा क्रिकेट विकासका लागि जुनसुकै भूमिकामा आफू तयार रहेको बताएका पारसको लक्ष्य भने क्यानको मुख्य नेतृत्वमै पुग्ने थियो। 

यद्यपि उनले अर्को कुरा पनि भन्न छुटाएनन्, ‘सफल खेलाडी वा कप्तान सफल व्यवस्थापक हुन्छ भन्ने जरुरी छैन।’

उनले बारम्बार एक्लैले चाहेर मात्रै क्रिकेटसहित खेलको विकास सम्भव नरहेको बताए। त्यसको सन्देश उनी आउने दिनमा क्रिकेटका स्टेक होल्डरसँग हातेमालो गर्न तयार रहेको बुझ्न सकिन्थ्यो।

क्यानको जिम्मेवारीमा पुग्न कठिन बाटो तय गर्नुपर्ने उनले बुझेका छन्। क्यानमा अहिले नेतृत्वका लागि तीन तह छन्। जिल्ला, प्रदेश र केन्द्र। 

उनको लक्ष्य केन्द्रकै नेतृत्व लिने छ। अन्तर्राष्ट्रिय क्रिकेट छाडेको दुई वर्ष पुगेपछि मात्रै क्यानको नेतृत्वका लागि प्रतिस्पर्धा गर्न सकिने व्यवस्था छ। त्यही आधारलाई ध्यानमा राख्दै पारसले सन्यास घोषणा गरेका हुन्। 

उनले पत्रकार सम्मेलनमा क्यानको वैधानिक व्यवस्थाबारे चर्चा गरेका थिए। कम्तीमा परिस्थिति अनुकुल भएमा क्यानको नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने उनको चाहना रहेको बुझ्न सकिन्छ।

उनले आफ्नो लक्ष्य प्रष्टसँग राखेका छन्।

‘खेलाडीका रुपमा जति गर्न सकिन्छ गरेँ, सायद मैले गर्न सक्ने यही थियो’, उनले भनेका छन्, ‘आगामी दिनमा व्यवस्थापकका रुपमा सबैसँग मिलेर देशको क्रिकेट विकास गर्न लाग्नेछु।’

क्रिकेट एकेडेमी
अबको दुई वर्ष नेपाली क्रिकेट कसरी अघि बढ्छ भन्न सकिने अवस्था छैन। क्रिकेटमा सक्रिय रहन केही समयपछि एकेडेमी स्थापना गर्ने घोषणा पनि पारसले गरिसकेका छन्। 

उनले भोलिका दिनमा क्रिकेटभन्दा टाढा नरहने कुरा उनको भनाइबाट बुझ्न सकिन्थ्यो। खेलाडीका रुपमा पनि क्रिकेट विकासका लागि गर्न सकिने विषयमा आफ्नो भनाइ राख्न पारस पछि परेनन्। 

अब त खेलाडीको बन्धनबाट पनि उनले मुक्ति लिइसकेका छन्। त्यस अर्थ भावी दिनमा उनले क्रिकेट विकासमा आफ्नो धारणा अझै सशक्त ढंगले राख्ने देखिन्छ। 

तर, मैदानमा उनी नेतृत्वको टोलीलाई जसरी साथ र सहयोग मिल्थ्यो, मैदान बाहिर पनि त्यस्तै साथ मिल्ने नमिल्ने अहिल्यै भन्न सकिन्न।

उनले आगामी यात्रालाई कसरी अघि बढाउँछन्? त्यसमा नै उनको भविष्य निर्भर गर्नेछ। मैदानभित्र कप्तानका रुपमा अरुको सल्लाहमा निर्णय लिने सुविधा उनीसँग थियो। तर उनकै निर्णय अन्तिम हुन्थ्यो। तर मैदान बाहिर निर्णय प्रक्रियामा उनलाई त्यही साथ नमिल्न सक्छ।

खुड्किला तय गर्दै जानुपर्छ
जिल्लादेखि केन्द्रसम्मको नेतृत्वका लागि दलगत राजनीतिको प्रभाव खेलका संघहरूमा रहने गरेको छ। क्यान पनि त्यसबाट अछुतो छैन। राजनीतिक दलहरुले भविष्यमा पारसलाई कसरी सघाउँछन् त्यसले पनि नेतृत्वमा पुग्ने उनको प्रयासमा अर्थ राख्नेछ।

केही वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले क्यानलाई निलम्बनमा राख्दा पारसले केही हदसम्म व्यवस्थापकीय भूमिका निर्वाह गरेका थिए। 

क्यान निलम्बन रहेकै अवस्थामा नेपालले एक दिवसीय मान्यता पाएको थियो। जसलाई जोगाइराख्नु मुख्य चुनौती रहेको उनले बताएका छन्। 

क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे पनि निलम्बनको समयमा पारसले निर्वाह गरेको भूमिकाले नेपाली क्रिकेटलाई उचाइमा पुर्याउन मद्दत गरेको स्मरण गर्छन्। त्यसकारण पनि क्रिकेट प्रेमीले आउने दिनमा पारसबाट त्योभन्दा जिम्मेवार भूमिका निर्वाह गरेको हेर्न चाहेको पाण्डे मान्छन्। 

‘पारसबाट अपेक्षा राख्नु स्वभाविक हो। तर मुख्य विषय उनले कस्तो टिम बनाएर अघि बढ्छन्, त्यसमा धेरै कुरा निर्भर हुन्छ,’ पाण्डेले भने, ‘उनले राम्रो टिम बनाएर गए भने लक्ष्यमा पुग्न गाह्रो नहोला।’

राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान उत्तम कर्माचार्यले नेतृत्वमा जान पहिले जस्तो सहज नरहेको बताए। 

‘पहिला मनोनयन गर्ने प्रणाली थियो। अहिले सबै तहबाट चुनिँदै आउनुपर्ने हुन्छ। जिल्ला, प्रदेश हुँदै केन्द्रमा पुग्नुपर्ने हुन्छ,’ कर्माचार्यले भने, ‘लामो समय क्रिकेटमा बिताएकाले पारसलाई काम गर्न सहज होला। तर व्यवस्थापनमा आइहाल्न समय लाग्छ। त्यसका लागि उनले कठिन र लामो बाटो बनाउनुपर्छ।’

क्रिकेट विकास एक्लैले सम्भव छैन भन्ने पारसको कुरालाई कर्माचार्य पनि समर्थन जनाउँछन्। 

‘पारसले भनेका छन्, क्रिकेटमा धेरै गर्न बाँकी छ तर त्यो एक्लै गर्न सकिन्न। सबैलाई मिलाएर लिएर जान वातावरण बनाउनुपर्छ,’ उनको सुझाव छ, ‘पहिला आधा काम आफूले गर्दा आधा काम केन्द्रले तानेर हुन्थ्यो। अहिले पारसलाई मात्रै होइन, अरु नयाँलाई पनि गाह्रो छ। पारसलाई शुभकामना दिन्छु, जुन सोच छ त्यसले पक्कै क्रिकेटको विकासलाई फाइदा पुग्छ। अहिलेको परिस्थिति हेर्दा भावी दिनमा पारस आउन आवश्यक पनि। तर त्यसका लागि खुड्किला तय गर्दै जानुपर्छ। त्यो उनी आफैँले गर्ने हो।’ 

व्यवस्थापनका लागि फरक क्षमता 
अर्का पूर्व कप्तान पवन अग्रवालको नजरमा पनि पारसलाई नेतृत्वसम्म पुग्न सहज छैन। 

‘जिल्लाबाट नेतृत्वसम्म आउन पहिला सदस्य हुनुपर्ने हुन्छ। सदस्य हुन त पारसलाई कठिन छैन। व्यवस्थापनसम्म पुग्नु र त्यो पोजिसनलाई होल्ड गर्ने र न्याय गर्ने अर्को कुरा हो’, अग्रवालले भने, ‘त्यो व्यक्तिगत कुरा हो। सबै खेलाडी त्यहाँ पुगेर सफल हुन्छन् भन्ने छैन। स्किल पनि हुनुपर्यो।’

क्रिकेट खेलाडी हुँदा एउटा क्षमता र ज्ञान  पनि चाहिन्छ भने व्यवस्थापनका लागि त्यो भन्दा फरक क्षमता हुनुपर्ने अग्रवाल बताउँछन्।

‘व्यवस्थापन फरक कला हो। त्यसका लागि लिडिङ स्किल पनि चाहन्छ’, उनले भने, ‘त्यो स्किल आफूमा विकास गरेको छ भने नेतृत्वमा जाँदा खासै चुनौती हुँदैन।’

मैदानमा खेल्नु र क्यानमा व्यवस्थापकको भूमिका निर्वाह गर्नु दुई अलग विषय भएको अग्रवाल बताउँछन्। 

‘संस्थालाई कहाँ पुर्‍याउने, कुन लक्ष्य पूरा गर्ने भन्ने हो। हाम्रोमा धेरै स्वयंसेवकसँग काम गर्नुपर्ने हुन्छ’, क्यानको केन्द्रीय समितिमा काम गरिसकेका अग्रवालले भने, ‘त्यहाँ आफ्नो नेतृत्व क्षमतालाई प्रयोग गर्दै काम लिनुपर्ने हुन्छ। अरु देशमा भन्दा नेपालको बोर्डमा काम गर्न गाह्रो छ। जहाँ हामी धेरै स्वयंसेवक भएर काम गर्नुपर्ने हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .