ad ad

खेल


खेलाडीको दसैँ : सोमपाल गाउँ डुल्ने, मन्देले चंगा उडाउने

खेलाडीको दसैँ : सोमपाल गाउँ डुल्ने, मन्देले चंगा उडाउने

लक्ष्मी जि.सी
असोज २६, २०७८ मंगलबार १७:३८, काठमाडौँ

नेपालीहरुले अन्य चाडलाई भन्दा दसैँलाई विशेष रुपमा मनाउने गरेका छन्। रोजगारीका सिलसिलामा विदेशमा रहेका कतिपय दशै मान्ने भनेर घर फर्कन्छन्। अध्ययन र कामका सिलसिलमा राजधानी बस्नेहरु पनि जन्मथलो फर्किछन्। 

हरेकले दसैँलाई विशेष गरेर मनाउने सोचेका हुन्छन्। तर सबैको सोचे जस्तो दशै नहुन पनि सक्छ। देशका लागि खेल्ने खेलाडीको हकमा भने कहिले काहीँ समान्य मानिसहरुको भन्दा केही फरक हुन्छ। 

यति बेला माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपाली फुटबल टोलीले प्रतिस्पर्धा गरिरहेका छ। देशमा दसैँ चलिरहँदा फुटबल टोली भने पहिलो साफ च्याम्पिनसिप जितेर फर्कने दाउमा छ। असोज २७ गते बंगलादेशविरुद्ध आफू अनुकुल नतिजा आयो भने टोली पहिलो पटक फाइनल पुग्नेछ। 

फाइनल पुगेको खण्डमा टोलीले टिकाको अघिल्लो दिन उपाधिका लागि भिड्नु पर्नेछ। विदेशमा रहेका खेलाडीले अनौपचारिक रुपमा टोली भित्रै दशै मनाउनेछन्। दुई वर्षअघि दसैँकै समयमा फुटबल टोली अष्ट्रेलियामा थियो। त्यति बेला टोलीले आफूहरुबीचमै चाडबाडको खुसीयाली साटेका थिए।

देश भित्र हुने खेलाडीले भने यसपटक दशै कसरी मनाउलान्? केही राष्ट्रिय खेलाडीले यसपटक कसरी दशै मनाउँदैछन् त? 

आयशा शाक्य, तेक्वान्दो 
यो पटक मेरो दसैं काठमाडौमा नै हुन्छ। कोरोना महामारीको सक्रमण अझै घटिसकेको छैन त्यसैले पहिला पहिलाको जस्तो रमाइलो त हुँदैन। यो पटक दसैँमा घर गइँदैन। त्यसैले परिवार मात्र मिलेर काठमाडौमा नै मनाउने छौँ। परिवारसँग नै क्वालिटी टाइम बिताउने हो। धेरै भयो छोराहरुलाई बाहिर घुमाउन लगेको छैन, उनीहरुलाई कतै लैजान पर्ला। घरबाहिर धेरै निस्किइदैन। यो बेलामा खेलाडीहरुले मात्र हैन अन्य सबैले स्वास्थ्यको पनि ध्यान दिन पर्छ। हामी खेलाडीहरुले डाइटमा धेरै ध्यान दिइरहेका हुन्थ्यौ तर अहिले धेरै खाइरहेका हुन्छौँ। स्वास्थ्यको पनि ध्यान दिँदै रमाइलोसँग दशैँ मनाउन आग्रह गर्छु। 

मण्देकाजी श्रेष्ठ, कराँते
कोरोना महामारीको कारण धेरै बाहिर जाने वातावरण छैन त्यसैले परिवारसँग नै मनाउने तयारी छ उनले भने, टोलको साथीहरूसँगै रमाइलो गरेर मनाइन्छ। नेवार समुदायको भनेर पनि मासुका परिकारहरु नपाक्ने कुरै भएन तर खाने खाने मात्र हैन त्यसलाई पचाउनका लागि पनि एक समय अभ्यास गर्छु। नेपालीहरुको महान चाड हो त्यसैले परिवारसँग रमाइलो गरेर दसैँ मनाइन्छ। म तास खेल्दिन। त्यसैले यो पटक च‌ंगा उडाएर रमाइलो गरेर दसैँ मनाउने हो। 
 
सदिना श्रेष्ठ, बास्केटबल 
यो पटकको दशैँ परिवारसँग मिलेर रमाइलोसँग मनाउने हो। परिवारको साथमा मज्जाले तास खेल्ने भोज खाने हो। दशैँको बेलामा परिवारमा सबै जना जम्मा भइन्छ। रमाइलो गछौँ। 

सोमपाल कामी, क्रिकेट
दशैँका लागि भनेर परिवारहरु जम्मा भइसक्नु भएको छ। आमा बाबा घर पुगिसक्नु भएको छ। अब म पनि गृहजिल्ला जाने तयारी गरिरहेको छ। दसैँमा पारिवारिक भेटघाट हुन्छ, घरमा साथीहरु आफन्तहरु भेट्न आउनुहुन्छ। उहाँहरूसँगको भेटघाटमा नै  दिन बित्छ। अब दसैँ भन्ने बित्तिकै मासुको कुरा आउँछ त्यसैले थुप्रै परिकारहरु पकाएर खाने हो, रमाइलो गर्ने हो। तास भने मलाइ खेल्न आउँदैन त्यसैले साथीहरुसँग नै रमाइलो गर्छु। एक गाउँबाट अर्को गाउँमा भेटघाटमा हिँड्यो त्यसले शारीरिक अभ्यास पनि हुन्छ। अब गाउँमा गएपछि शारिरिक अभ्यास गर्न सकिँदैन त्यसैले खानामा कन्ट्रोल नै गर्नुपर्छ। अनि हिँडेर नै फिट भइन्छ। 

रेनुका नगरकोटे, फुटबल 
विवाहको पहिलो वर्ष भएकाले पनि टीकाको दिनसम्म काठमाडौंमा मनाइन्छ। टीकाको भोलिपल्ट उदयपुर जाने हो। दसैँमा परिवारसँग बसेर मनाउँदा रमाइलो हुन्छ। परिवारसँग रमाइलोको लागि तास खेल्छौँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .