ad ad

खेल


नेपाली युवा टोलीको बिर्सनलायक खेल : १४ गोल खायो, एक गोल फर्काउन सकेन

नेपाली युवा टोलीको बिर्सनलायक खेल : १४ गोल खायो, एक गोल फर्काउन सकेन

लक्ष्मी जि.सी
कात्तिक १५, २०७८ सोमबार १५:१६, काठमाडौँ

पछिल्लो समय नेपाली राष्ट्रिय फुटबल टोलीले उत्कृष्ट लय समातेको छ।

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टोलीको स्तर सुध्रिएको फुटबल पण्डितहरू बताउँछन्। 

नेपाली राष्ट्रिय टोलीले लय समातिरहँदा यू-२३ ले भने बिर्सनलायक प्रदर्शन गरिरहेको छ। कुनै बेला राष्ट्रिय टोलीको भन्दा उमेर समूहको प्रदर्शन अब्बल हुन्थ्यो। 

नेपाली २३ वर्ष मुनिको टोलीले ऐतिहासिक प्रदर्शन गर्दै १३ औँ दक्षिण एशियाली खेलकुद (साग) मा स्वर्ण पदक नै जितेको थियो।  

तर एएफसी यू-२३ एशियन कप छनोटमा भने नेपालको प्रदर्शन बिर्सनलायक रह्यो। नेपाली टोली सहभागी त हुन्छ तर दर्जनौँ गोल खाँदै फर्किन्छ।

एएफसी एशियन कप छनोटमा समूह 'बी' मा रहेको नेपालले लगातार तेस्रो हार भोग्दै समूह चरणबाटै घर फर्किएको छ। 

राष्ट्रिय टोलीका ६ जनासहित सिनियर टोलीको अनुभव लिइसकेका ५ खेलाडी टोलीमा भए पनि नेपालले गतिलो प्रदर्शन गर्न सकेन। 

समूह चरणका तीनै खेलमा डिफेन्सिभ खेलेको नेपालले १४ गोल खायो तर एक गोल पनि विपक्षी पोष्टमा हान्न सकेन। 

नेपालको प्राथमिकतामा एशियन कप छनोट नपरेकोले पनि सोचे अनुकुल नतिजा ल्याउन नसकेको फुटबल विश्लेषक सञ्जीव मिश्र सुनाउँछन्। 

'यो फुटबल हाम्रो प्राथमिकतामा नै परेन, हामीले राष्ट्रिय टोली, यु–१६, यु–१९ लाई प्राथमिकता दिन्छौँ', उनले भने, '१९ वर्ष पुगेका र राष्ट्रिय टोलीबाट फालिएका खेलाडीलाई २३ वर्षमुनि राख्छौँ। त्यसैले तयारी पनि राम्रो गर्न सकेनौँ।’ 

आइतबार भएको समूहको अन्तिम खेलमा नेपाल लेबनानसँग ४–० गोल अन्तरले पराजित भयो। 

समूह चरणको पहिलो खेलमा नेपाल इरानसँग ४–० र दोस्रो खेलमा आयोजक ताजिकिस्तानसँग ६–० को फराकिलो हार भोग्न बाध्य भयो।

एएफसीको समूह विभाजनमा नेपाल बलिया टोलीसँग परेकाले राम्रो नतिजा दिन नसक्नु अर्को कारण रहेको विश्लेषक मिश्र सुनाउँछन्। 

‘नेपालमा यु–१६, र यु–१८ का प्रतियोगिता थोरै मात्रामा हुने गरेका छन्', उनले भने, 'तर यु–२३ को प्रतियोगिता नेपालमा हुन सकेको छैन। त्यसैले यो उमेर समुहका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेका छैनन्।’ 

नेपालले उमेर समूहमा प्रदर्शन गर्न राम्रो गर्नुको मुख्य कारण राष्ट्रिय टोलीमा जाने खेलाडी हुन्छन्। त्यसैले तिनको प्रदर्शन राम्रो हुन्छ। 

तर यु–२३ मा राष्ट्रिय टोलीबाट फालिएका खेलाडीलाई प्रशिक्षकहरुले राख्ने गरेकाले यसको असर टोलीको प्रदर्शनमा देखिएको हो। 

नेपालले अब एशियन कप छनोटमा सुधारिएको प्रदर्शन गर्न तयारीमै जोड दिनुपर्ने खेल पण्डितहरू बताउँछन्।

नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन। छनोट चरणका पछिल्ला दुई संस्करण नेपाली टोली जितबिहीन भएर घर फर्किएको छ। 

यो प्रतियोगिताको पाँचौ सँस्करणसम्म आइपुग्दा इराक, जापान, उज्वेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .