ad ad

खेल


टेण्डी शेर्पा : जसले बास्केटबललाई राष्ट्रिय पहिचान दिलाए

खेलको चिन्ता गर्दा गर्दै बिदा भए
टेण्डी शेर्पा : जसले बास्केटबललाई राष्ट्रिय पहिचान दिलाए

यज्ञराज जोशी
मंसिर ८, २०७८ बुधबार १६:५, काठमाडौँ

सन् २००३ मा नेपाल बास्केटबल संघको चुनावबाट कुलदेव सिंह राठौर अध्यक्षमा चयन भए। त्यही समितिमा भर्खरै अस्कल क्याम्पसको स्ववियु सभापति बनेर खेलकुदमा छिरेका लामा टेण्डी शेर्पा उपाध्यक्ष थिए। 

त्यो बेला नेपालमा बास्केटबलको अवस्था दयनीय थियो। एउटा कोर्ट पनि थिएन। दशरथ रंगशालाको कभर्डहलमा बास्केटबललाई इन्ट्री दिइएको थिएन। ठमेल, कीर्तिपुरको क्लब र केही ठूला क्याम्पसमा मात्रै सीमित थियो। 

भर्खरै क्याम्पसको राजनीतिको तातो जोशबाट आएका टेण्डी बास्केटबललाई नयाँ उचाइ दिन चाहन्थे। तर अध्यक्ष राठौरले उनको गति पक्रन सकेनन्। परिणाम, कार्यकालको दुई वर्षमै राठौर कार्यसमिति भंग भयो र नयाँ अध्यक्ष बने, उनै लामा टेण्डी शेर्पा। 

त्यसपछि बुधबार बिहान ५० वर्षको उमेरमा निधन नहुँदासम्म बास्केटबल संघमा टेण्डी निर्विरोध अध्यक्ष रहिरहे। उनको नेतृत्वमा नेपाली बास्केटबल जुरमुराएको संघका महासचिव नरेन्द्र थापा बताउँछन्।

‘उहाँले कार्यकाल सम्हाल्दा नेपाली बास्केटबल लगभग शून्यमा थियो। बास्केटबललाई रंगशालामा प्रवेश गराउनेदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता गराउन उहाँको योगदान अतुलनीय छ,’ थापा सम्झिन्छन्, ‘उहाँको निधनले नेपाली बास्केटबललाई ठूलो क्षति पुगेको छ। खेलकुद क्षेत्रले पनि एक अभिभावक गुमाएको छ।’

टेण्डीले नेतृत्व सम्हाल्दा रंगशालाको कभर्डहलमा भलिबल र ब्याडमिन्टनका अभ्यास हुन्थे। तर बास्केटबललाई ठाउँ थिएन। टेण्डीले सुरुमै राष्ट्रिय टोलीको अभ्यासलाई व्यवस्थित ठाउँ आवश्यक रहेको ठाने। 

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवलाई ‘कन्भिन्स’ गराए। र, पहिलोपल्ट राखेपको कभर्ड हल नेपाली बास्केटबलको होम कोर्टमा परिणत भयो। जहाँ टेण्डीकै नेतृत्वमा दक्षिण एसियाका सबै उमेर समूह र सिनियर बास्केटबल प्रतियोगिता भइसकेका छन्। 

टेण्डीकै नेतृत्वमा सन् २०१४ मा दक्षिण एसियाली पुरुष च्याम्पियनसिप, सन् २०१६ मा दक्षिण एसियाली महिला च्याम्पियनसिप, २०१७ मा यू–१८ र यू–१६ च्याम्पियनसिप भइसकेका छन्। यी सबै अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा पहिलोपल्ट भएपछि एक समय आफ्नै कोर्टसमेत नभएको बास्केटबलले बल्ल राष्ट्रिय पहिचान पाएको हो। 

२०७६ मंसिरमा स्वदेशमै भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को चार फरक विधामा नेपाली टोलीले पदक जितेका थिए। महिला टिमले रजत पदक जित्दा पुरुष टिमले कास्य जितेको थियो। यस्तै थ्री बाई थ्री मा पुरुष टिमले रजत र महिला टिमले कास्य जितेको थियो।

‘सागमा नेपाली बास्केटबलमा कति क्रेज बढेको छ भन्ने हलमा खचाखच भरिएका दर्शकबाट स्पष्ट हुन्थ्यो। यो सबै टेन्डीकै सक्रियताको देन थियो,’ थापाले भने। 

दुई वर्षअघि ‘देनी मोटर न्युरोन डिजिज’ नामक नशा सुक्दै जाने एकप्रकारको रोगबाट ग्रसित भएपछि बास्केटबलबाट टेण्डीको साइनो छुट्टै गयो। 

थाइल्याण्ड, अमेरिका र भारत हुँदै पछिल्लो वर्ष उनलाई स्वदेशमा ल्याएर परिवारले एक होम केयरमा उपचार गराइरहेको थियो। उनलाई चौबीसै घण्टा एकजना नर्स सहयोगीको आवश्यकता पर्थ्यो। 

थापाका अनुसार उनी आँखाको इसारामा ‘कम्युनिकेट’ गर्थे। जीवनको अन्तिम क्षणमा पुग्दासमेत उनलाई बास्केटबलप्रतिको माया औधी थियो। जुन एक महिना अगाडि उनको फेसबुकमा देखिएको एक स्टाटसले पनि पुष्टि गर्छ।

‘मेरो अवसानपछि मेरो शरीरको प्रत्यारोपण गर्न सकिने अङ्गहरु सबै दान गर्न चाहेको जानकारी गराउन चाहन्छु’, उनले लेखेका थिए, ‘साथै, मेरो उपचारमा प्रयोग भएका दुईटा भेन्टिलेटर मेसिन र अन्य लाखौँका उपकरण पनि नेपाल बास्केटबल संघमार्फत अभाव भएका अस्पतालमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।’

विगत 
बुबा लामा पासाङ शेर्पा २०२७ सालमै सोलुखुम्बु जिल्ला पञ्चायत अध्यक्ष थिए। पछि उनी नेपाल किसान संगठनका अध्यक्ष समेत बने। २०३२ सालमा शेर्पाको परिवार काठमाडौंमा सरेको हो। 

टेण्डीले पानीपोखरीको भानु मेमोरियल स्कुलबाट एसएलसीसम्मको अध्ययन सके। त्यसपछि नेपाल साइन्स क्याम्पस(अस्कल) मा भर्ना भएका उनी पढाइसँगै राजनीतिमा सक्रिय भए। तत्कालीन अनेरास्ववियुबाट उनले दुईपटक (२०५५–०५७) स्ववियु सभापति जितेका थिए। 

‘विद्यार्थी राजनीतिमा टेण्डी सबैका लोकप्रिय थिए,’ २०४६ सालदेखि सँगै हुर्केबढेका थापा भन्छन्, ‘विद्यार्थीलाई फिस घटाइदिनुपर्यो, ल्याब, पुस्तकालयमा सामाग्री चाहियो वा अन्य समस्या आए टेण्डीले तत्कालै समाधान दिन्थे।’

खेलकुदमा टेण्डीको रुचि भने अस्कलको राजनीतिमा होमिनु अघिबाटै थियो। क्याम्पसमै उनले अस्कल ट्रफी भनेर बास्केटबल प्रतियोगिता गराउँथे। त्यसबेला उपत्यकाका कलेजहरू सहभागी हुन्थे। तिनै प्रतियोगिता खेलकुदमा लाग्ने टेण्डीका माध्यम बने।

त्यसपछि उनी खेलकुद र राजनीति दुवैका बलिया खेलाडी बने। टेण्डी एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको महासचिव पनि भए। लगत्तै उनी तत्कालीन नेकपा माओवादीबाट राखेप सदस्यसचिव बनेका युवराज लामाका पालामा राखेपकै उपाध्यक्ष समेत भए।

त्यसपछि उनी नेपाल ओलम्पिक कमिटी उपमहासचिव हुँदै महासचिवमा समेत निर्वाचित भएका थिए। नेपाली खेलकुदले भुल्न नसक्ने एक पात्र उनी रोगले थलिएपछि पछिल्लो दुई वर्ष गुमनाम जस्तै बनेर भौतिक दुनियाँबाट बिदा भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .