ad ad

खेल


यू–१९ मा ‘फ्लप’ सन्दीपलाई राष्ट्रिय टोलीको कप्तानी!

खेलाडी भन्छन् : सिनियरलाई लत्याइयो, यसले विभाजन ल्याउँछ
यू–१९ मा ‘फ्लप’ सन्दीपलाई राष्ट्रिय टोलीको कप्तानी!

फाइल फोटो


यज्ञराज जोशी
मंसिर २९, २०७८ बुधबार २२:३५, काठमाडौँ

सन्दीप लामिछाने एक समय नेपाली यू–१९ टोलीका कप्तान थिए। तर उनको कप्तानीमा नेपाली यू १९ टोलीले सम्झनलायक कुनै प्रदर्शन गर्न सकेन। 

परिणाम, तत्कालीन यू–१९ प्रशिक्षक विनोद दासले सन्दीपको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई कप्तानमा नियुक्त गरेका थिए। 

अहिले तिनै विनोद राष्ट्रिय टोलीको व्यवस्थापक छन्, ठीक यसैबेला क्यानले बुधबार अप्रत्यासित निर्णय गर्दै राष्ट्रिय टोलीको कप्तानमा यिनै सन्दीपलाई नियुक्ति गर्ने निर्णय गरेको छ। 

अनुशासन उल्लंघन गरेको भन्दै क्यानको बोर्ड बैठकले बुधबार कप्तान ज्ञानेन्द्र मल्ललाई हटाउने निर्णय गरेपछि सन्दीपलाई कप्तान बनाइएको हो।

क्यानका कार्यसमिति सदस्य अमितवीर पाण्डेका अनुसार बोर्ड बैठकमा सन्दीपलाई कप्तान नियुक्त गर्ने ठाडो प्रस्ताव राखिएको थियो। उक्त प्रस्तावलाई विरोधका बाबजुद बहुमतले पारित गरियो। 

‘३ बजेका लागि भनेर बोलाइएको बैठकको जानकारी नै १० बजे गराइएको थियो। हामीलाई बैठकका एजेन्डाहरूबारे कुनै जानकारी दिइएको थिएन,’ पाण्डेले नेपालखबरसँग भने, ‘सन्दीपलाई नयाँ कप्तान नियुक्त गर्नेबारे पहिले कुनै छलफल नै भएको थिएन। सिधै ठाडो प्रस्ताव ल्याएर बहुमत देखाउँदै पारित गरिएको छ।’

दुई जनाले राजीनामा दिएपछि क्यानको हालको कार्यसमितिमा १७ जना छन्। त्यसमध्ये महिला सदस्य जयन्ती भट्ट अनुपस्थित थिएन। बाँकी सदस्यमध्ये पाण्डेसहित ६ जनाले ज्ञानेन्द्र मल्ललगायत खेलाडीलाई गरिने कारवाहीबारे विरोध जनाएका थिए। 

यसरी विरोध जनाउनेमा पाण्डेसहित कार्यसमिति सदस्यहरु छुम्बी लामा, ऋषिराम गौतम, दाउद अन्सारी, करण मल्होत्रा र सञ्जय सिंह थिए। उनीहरु खेलाडीहरूमाथि कारवाही गर्न नहुने पक्षमा उभिए।

विरोध जनाउनेमध्येका एक कार्यसमिति सदस्यले भने, ‘अहिले नेपाली टोलीबारे सबैभन्दा बढी जानकार कोही छ भने व्यवस्थापक विनोद दास हुन। तिनैले फ्लप कप्तान भन्दै हटाएका सन्दीपलाई राष्ट्रिय टोलीको कप्तान नियुक्त गर्ने निर्णयले हामीलाई अचम्म लागेको छ।’ 

सन्दीपलाई कप्तान बनाउने निर्णय राष्ट्रिय टोलीका सिनियर सदस्यहरुलाई पनि चित्त बुझेको छैन। टोलीमा लामो अनुभवसँगै घरेलु क्रिकेटका पनि सफल कप्तान शरद भेषावकर, विनोद भण्डारीलगायत हुँदाहुँदै सन्दीपलाई कप्तानी दिइएको उनीहरुलाई चित्त बुझेको छैन। 

‘सन्दीपभन्दा सिनियर तथा अनुभवी खेलाडीहरु टोलीमा हुनुहुन्छ। उहाँहरुले कप्तानीमा आफूलाई पटकपटक प्रमाणित पनि गरिसक्नुभएको छ,’ टोलीका एक सिनियर सदस्यले नेपालखबरसँग भने, ‘सन्दीपलाई कप्तान बनाउने निर्णय आत्मघाती छ। महत्वपूर्ण प्रतियोगिता आइरहेका बेला यसले टोलीमा टुटफुट ल्याउनेछ।’

मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले मिडियामा क्यानविरुद्ध खेलाडी ग्रेडिङलगायत विषयमा बोलेको भन्दै स्पष्टीकरण सोधिएको थियो। जवाफमा खेलाडीहरूले हस्ताक्षरसहित उल्टै ११ बुँदे मागपत्र क्यानमा बुझाएका थिए। 

त्यहीँबाट खेलाडी र क्यानबीच तिक्ततापूर्ण सम्बन्ध सुरु भएको हो। लगत्तै क्यानले आफ्ना कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा पाँच सदस्यीय समितिले अनुशासन छानबिन समिति बनायो। 

उक्त समितिले तयार पारेको प्रतिवेदनमा खेलाडीहरूले अनुशासन उल्लंघन गरेकाले कारबाहीको सिफारिस बोर्ड बैठकलाई गरेको थियो। 

उक्त प्रतिवेदनका आधारमा बोर्ड बुधबार बसेको बैठकले ज्ञानेन्द्रसहितका खेलाडीलाई कारवाहीको डण्डा चलाएको हो। 

ज्ञानेन्द्र र दीपेन्द्रलाई कप्तान र उपकप्तानबाट हटाएको बोर्डले उनीहरुसँगै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाको केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय गरेको छ। अर्थात, यी खेलाडीले अब ६ महिनाको पारिश्रमिक पाउने छैनन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .