ad ad

खेल


एएफसी कपमा छनोट हुन ३ टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा

एएफसी कपमा छनोट हुन ३ टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा

लक्ष्मी जि.सी
पुस ७, २०७८ बुधबार ९:१२, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अबको दुई चरणको खेलले एएफसी कप छनोट खेल्ने टोलीको टुंगो लाग्ने भएकाले छैटौं र सातौं चरण रोमाञ्चक हुने आशा गर्न सकिन्छ। 

यद्यपि एएफसी कपको छनोटको दौडमा ३ टोली मात्र छन्। एएफसी लाइसेन्स प्राप्त गरेका क्लबले मात्र एएफसी कप छनोट खेल्न पाउने भएकाले नेपालमा अहिलेसम्म ४ टोली त्यसमा समावेश छन्। क्लब लाइसेन्स लिने मध्ये एपीएफ फुटबल क्लब छनोटको दौडबाट बाहिरिसकेको छ। बाँकी ३ टोली भने जारी लिगको अंकतालिकाको शीर्ष ३ मा छन्। 

मनाङ मर्स्याङ्दी क्लब १३ अंकसहित शीर्ष स्थानमा छ। साबिक विजेता मछिन्द्र फुटबल क्लब ११ अंकका साथ दोस्रो तथा त्रिभुवन आर्मी फुटबल क्लब ९ अंकसहित तेस्रो स्थानमा छ। यी ३ टोलीमध्ये सातौं चरणको समाप्तिमा माथिल्लो स्थानमा रहने टोलीले एएफसी कप छनोट खेल्न पाउनेछन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियाली फुटबल महासंघ (एएफसी) लाई आग्रह गर्दै लाइसेन्स प्राप्त टोलीमध्ये सातौं चरणको समाप्तिमा माथि रहने टोलीको नाम दर्ता गराउने भनेको थियो। सोही अनुसार यी ३ टोलीमध्ये सातौं चरणको शीर्ष स्थानमा रहने टोलीले एएफसी कपमा देशको प्रतिनिधित्व गर्नेछ।

शीर्ष ३ टोलीमा मनाङलाई छनोट हुन सबैभन्दा सहज छ। यद्यपि त्यसका लागि टोलीको छैटौं चरणमा मछिन्द्रसँगको खेल महत्वपूर्ण हुनेछ। मछिन्द्रलाई जितेको खण्डमा मनाङको १६ अंक पुग्नेछ। त्यो अवस्थामा मछिन्द्रले अर्को खेल जित्दा र आर्मीले छैटौं र सातौं चरणको खेल जिते पनि मनाङलाई भेट्ने छैनन्। त्यसअर्थ छैटौं चरण नै पनि एएफसी कपका लागि निर्णायक हुने सम्भावना छ।

शनिबार हुने खेलमा मछिन्द्रले मनाङलाई हराए छनोट हुने टोलीको टुंगो लाग्न सातौं चरणसम्म कुर्नुपर्नेछ।

लाइसेन्स प्राप्त ४ मध्ये ३ टोली एएफसी कपको छनोटका लागि प्रतिस्पर्धा गरिरहँदा अर्को टोली एपीएफ भने रेलिगेसन क्षेत्रबाट उक्लिन प्रयासरत रहेको थियो। पाँचौं चरणमा पुग्दा एपीएफ पहिलो जित निकाल्दै ४ अंक जोडेर रेलिगेसन क्षेत्र छाडेको छ। 

दुई वर्षअघि मछिन्द्रले पहिलोपटक लिग च्याम्पियन बनेर पनि क्लब लाइसेन्स नभएका कारण एएफसी कप छनोट खेल्नबाट वञ्चित भएको थियो। त्यतिबेला दोस्रो स्थानमा लिग अन्त्य गरेको आर्मीले देशको प्रतिनिधित्व गरेको थियो। त्यो समय आर्मीसँग मात्र क्लब लाइसेन्स थियो। बाँकी तीन टोलीले भने यो वर्ष क्लब लाइसेन्स लिएका हुन्। 

अब छैटौं चरणमा मनाङ र मछिन्द्रले एकअर्काको सामना गर्दा आर्मीले भने थ्री स्टारको सामना गर्नेछ। एपीएफले भने न्यूरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ। ए डिभिजन लिगको इतिहासमा नै पहिलोपटक काठमाडाैं बाहिर पोखरामा शनिबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै मनाङले एएफसी कप छनोटका लागि बलियो दाबेदारी प्रस्तुत गरेको थियो।

पुलिससँगको जितपछि मनाङका प्रशिक्षक राजेन्द्र तामाङले भनेका थिए, ‘सातौँ चरणसम्म शीर्ष स्थानमा रहने टोलीले एफसी खेल्ने मौका छ। त्यही अनुसार हामीले तयारी गरिरहेका छौँ। पुलिससँगको खेल हाम्रो लागि महत्वपूर्ण थियो। त्यसमा हामी सफल भयौँ। अब भनेको मछिन्द्रसँगको खेल अझै महत्वपूर्ण छ। हाम्रो लक्ष्य पनि एफसी कप खेल्ने हो। अंक तालिकामा तल भएको भए त्यो आशा मारिन्थ्यो पनि होला। तर, शीर्ष स्थानमा भएकाले शीर्षमा नै रहेर एफसी कप खेल्ने लक्ष्यमा छौं।’

पाँचौं चरणमा सातदोबाटो युथ क्लबसँग १–१ को बराबरी खेलेपछि आर्मीको एएफसी कप छनोटको दौड केही कमजोर बनेको थियो। सातदोबाटोसँग बराबरी खेलेपछि आर्मीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले भनेका थिए, ‘एफसी कप खेल्नका लागि अब हाम्रो नतिजाले मात्रै पुग्दैन। मनाङ र मछिन्द्रको नतिजा पनि हाम्रो लागि महत्वपूर्ण हुनेछ। बराबरीले उपाधि होडका लागि अन्य टोलीको भर पर्नुपर्ने अवस्था छ। तर, हाम्रो लक्ष्य भनेको एफसी कपका लागि छनोट हुने नै हो।’

मछिन्द्रले पनि पाँचौं चरणमा संकटासँग गोलरहित बराबरी खेल्दा त्यसको फाइदा मनाङले उठाएको छ। संकटासँगको बराबरीले मच्छिन्द्रको एफसी कप छनोटको यात्रामा केही धक्का लागेको छ। त्यसअघिको खेलमा आर्मीले बराबरी गरेपछि मछिन्द्रलाई ठुलो अवसर थियो तर मछिन्द्रले पनि बराबरीकै नतिजामा चित्त बुझाउनु परेको थियो। 

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले बराबरीपछि बाँकी दुई खेलमा आफू अनुकूल नतिजा निकाल्न प्रयास गर्ने बताएका थिए। 

लाइसेन्स प्राप्त अन्य टोली र एपीएफको फरक प्राथमिकता छ। एपीएफको लक्ष्य रेलिगेसनबाट जोगिनु हो। टोलीका प्रशिक्षक कुमार थापाले एएफसी कपभन्दा पनि टोलीलाई रेलिगेसन जोगाउनु नै मुख्य विषय भएको बताएका थिए। टोलीका दुई गोलकिपर घाइते भएका कारण एपीएफले पछिल्लो खेलमा जापानी गोलकिपरलाई पोष्टको जिम्मा दिएको थियो। संयोग त्यो खेलमा फ्रेन्ड्सलाई ३–१ ले हराउँदै एपिएफले पहिलो जित दर्ता गराएको थियो। 

यस्तो रह्यो लिगको पाँचौं चरण 
पहिलो पटक ए डिभिजन लिग पोखरामा आयोजना गर्न आफैंले पहल गरेको खेलमा मनाङले पुलिसलाई ३–१ ले हरायो। पाँचौं चरणमा आर्मीले सातदोबाटो युथ क्लबसँग १–१ को बराबरी र मछिन्द्रले संकटा क्लबसँग बराबरी खेलेको थियो।

जावलाखेल युथ क्लब, हिमालयन शेर्पा र एपीएफ क्लबले पहिलो जित हासिल गरे। जावलाखेलले च्यासल युथ क्लबलाई १–० ले, हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई र एपीएफले फ्रेन्ड्सलाई समान ३–१ ले हराए। थ्री स्टार र एनआरटीले गोलरहित बराबरी खेले।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .