ad ad

खेल


पुरुष भलिबल टोलीको ५ वर्षअघिको सफलता दोहोरिएला?

पुरुष भलिबल टोलीको ५ वर्षअघिको सफलता दोहोरिएला?

लक्ष्मी जि.सी
पुस १०, २०७८ शनिबार १२:४८, काठमाडौँ

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले दुई वर्षअघि दुई महिनाको फरकमा दुई ठूला सफलता दिलाएको भलिबल प्रेमीले अझै भुलेका छैनन्। 

त्यसैले महिला टोलीले भाग लिने सेन्ट्रल जोन होस् वा दक्षिण एसियाली खेलकुद (साग) मा पदकको आशा पक्कै गरिन्छ।

दुई वर्षअघि बंगलादेशमा भएको सेन्ट्रल जोनमा नेपाल च्याम्पियन बनेर फर्केको थियो। नेपालको भलिबल इतिहासमै अन्तर्राष्ट्रिय भलिबलमा च्याम्पियन बनेको त्यो पहिलो अवसर थियो। २०७६ कात्तिकमा सेन्ट्रल जोनको उपाधि जितेको अर्को महिना स्वदेशमा भएको १३ औं सागमा नेपालले रजत पदक जितेको थियो।

त्यो नेपालले साग इतिहासमा जितेको पहिलो रजत पदक थियो। त्यसअघि नेपाली महिला टोलीले आठौं, दसौं र १२ औं सागमा कास्य पदक जितेको थियो।

तर, नेपाली पुरुष टोलीको हकमा भने पदकको यति लामो सूची छैन। अन्तर्राष्ट्रिय सहभागिताको यात्रा सुरु गरेको ४ दशकभन्दा लामो समय भएपछि पुरुष टोलीले अहिलेसम्म एउटा मात्र पदक जित्न सकेको छ।

सागमा भारत, पाकिस्तान जस्ता राष्ट्रको चुनौती पार गर्नै मुस्किल पर्ने नेपाली टोलीले २०७३ चैतमा माल्दिभ्समा भएको सेन्ट्रल जोनमा कास्य पदक जितेर फर्केको थियो। त्यो पुरुष भलिबलको इतिहासमा अहिले सम्मको एकमात्र पदक हो।

अहिले फेरि एकपटक पदक जित्ने आशासहित नेपाली टोली बंगलादेशमा जारी सेन्ट्रल जोनमा प्रतिस्पर्धा गरिरहेको छ। महिला टोलीबाट उपाधिको रक्षाको अपेक्षा गरिरहँदा पुरुष टोली भने कम्तीमा पदकविहीन नहोस् भन्ने कामना गर्नुपर्ने अवस्था छ।

दुई खेलमा महिला र पुरुष टोलीको सुरुवात हेर्दा पनि त्यस्तै देखिन्छ। महिला टोलीले श्रीलंका र माल्दिभ्सलाई लगातार हराउँदै बलियो दाबेदारी प्रस्तुत गरिरहँदा पुरुष टोली भने पहिलो खेलमा आयोजक बंगलादेशसँग पराजित भएको छ। महिलातर्फ ६ र पुरुषतर्फ ५ टोलीको सहभागिता रहेको छ।

पुरुष टोलीले दोस्रो खेलमा उज्वेकिस्तानलाई ३–१ ले हराउँदै केही सम्भावना भने बढाएको छ। तर, यतिमा टोली पदकसहित फर्किन्छ भन्न सकिने अवस्था भने छैन। 

राउन्ड रोबिनमा माल्दिभ्स र श्रीलंकासँग खेल्न अझै बाँकी छ। सबैले एकअर्कासँग खेलिसकेपछि शीर्ष २ टोलीले स्वर्ण र रजत पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। तेस्रो र चौथो टोली कास्य पदकका लागि भिड्नेछन्।  एउटा खेल जितेर नेपालले कम्तीमा कास्य पदकको दाबेदारी भने प्रस्तुत गरेको छ।

तीन वर्षअघि स्वदेशमा सेन्ट्रल जोन आयोजना हुँदा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। त्यसपछि १३ औं सागमा पनि टोलीको प्रदर्शन सन्तोषजनक हुन सकेन। सागबाट नेपालसँग अहिले पनि पदकको आशा गर्ने अवस्था बनेको छैन।

बंगलादेश जानुअघि पुरुष टोलीका कप्तान इम राना पदक जित्ने लक्ष्यका साथ यात्रामा निस्कन लागेको बताएका थिए। टोलीले झण्डै डेढ महिनाको तयारी पनि बंगलादेशको यात्रा सुरु गरेको थियो। अन्तर्राष्ट्रिय भलिबल संघको सहयोगमा प्रशिक्षक हान एबिङले नेपाली टोलीलाई प्रशिक्षण दिएका छन्। तीन वर्षअघि पनि उनकै प्रशिक्षणमा नेपालले प्रतिस्पर्धा गरेको थियो।

श्रीलंकालाई पनि हराउन सकेको अवस्थामा पदक जित्ने सम्भावना रहने कप्तान रानाले बताएका थिए। उनलाई विश्वास छ, अनुभवी खेलाडी सम्मिलित टोलीबाट सम्झनलायक प्रदर्शन हुनेछ।

पछिल्लो पटक स्वदेशमै सेन्ट्रल जोन आयोजना हुँदा दर्शक दीर्घाबाट खेल हेर्न बाध्य मानबहादुर श्रेष्ठले यसपटक टोलीमा पुनरागमन गरेका छन्।

उनी टोलीका महत्वपूर्ण खेलाडीमध्येका एक हुन्। विदेशी प्रशिक्षकसँग पहिलोपटक प्रशिक्षण लिँदा सुरुमा केही गाह्रो भएपनि बिस्तारै सहज हुँदै गएको अनुभव साटेका थिए।

माल्दिभ्समा पदक जित्दा टोलीका सदस्य रहेको मानबहादुर त्यतिबेला टोलीमा अहिले केही परिवर्तन भए पनि पदक जित्नेमा भने आफूहरु आशावादी रहेको बताउँछन्। टोलीका खेलाडीहरु फर्ममा रहेका कारण प्रदर्शन राम्रो गर्ने अपेक्षा गरेका मानबहादुरले व्यक्तिगत रुपमा आफूले पनि चुनौतीका रुपमा लिएको बताएका थिए। 

टोलीका लिबेरो विनोद चन्द पनि छोटो तयारीका बाबजुद पनि पदकका लागि आफूहरुले शतप्रतिशत प्रयास गर्ने बताएका थिए ।

नेपाली पुरुष टोलीले सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय भलिबलको यात्रा सुरु गरेको नेपालले १९७८, १९८२, १९८६ र २०१८ मा एसियाली खेलकुदमा भाग लिएको थियो।

सन् १९८७ को तेस्रो सागदेखि निरन्तर भाग लिए पनि पदकको आशा गर्न सकिएको छैन। यसपटक बंगलादेशबाट कस्तो प्रदर्शन गरेर फर्किन्छ त्यसका लागि भने केही दिन प्रतीक्षा गर्नुपर्ने हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .