खेल


साग तोकिएकै समयमा, पाकिस्तानलाई सशर्त अर्को साग आयोजनाको जिम्मा

साग तोकिएकै समयमा, पाकिस्तानलाई सशर्त अर्को साग आयोजनाको जिम्मा

यज्ञराज जोशी
कात्तिक २३, २०७६ शनिबार १२:३५,

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने  ७ वटै राष्ट्रका प्रतिनिधिहरुसँग सरकारले तोकिएकै समयमा साग हुने प्रतिबद्धता जनाएको छ।

दक्षिण एसियाली ओलम्पिक कमिटीको शनिबार काठमाडौंमा बसेको बोर्ड बैठकमा साग आयोजना समितिका अध्यक्ष तथा युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा तथा आयोजक कमिटी र राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव रमेश सिलवालले सरकारका तर्फबाट तोकिएकै मिति मंसिर १५ देखि २४ सम्म साग हुने प्रतिबद्धता जनाएका हुन्।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटानका ओलम्पिक कमिटीका अध्यक्षहरुको सहभागिता रहेको थियो। राखेप सदस्यसचिव सिलवाल आफैँ ओलम्पिक कमिटीको बैठकमा बसेर सबै सदस्य देशका प्रतिनिधिहरुको जिज्ञासाको जवाफ दिएका थिए।

मुख्य आयोजनास्थल काठमाडौंको दशरथ रंगशाला, ललितपुर सातदोबाटोमा निर्माण जारी रहेको हिटिङ सिस्टम युक्त पौडी पोखरी र पोखरा रंगशालाको निर्माण काम जारी रहेकाले समयमै सकिने हो कि हैन भन्ने अन्योल कायमै छ। तर, मन्त्री विश्वकर्मा तथा सदस्यसचिव सिलवालले सागको एकहप्ता अघि सम्पूर्ण पूर्वाधारका काम सम्पन्न गर्ने सरकारका तर्फबाट प्रतिबद्धता जनाए पनि तोकिएकै समयमा साग हुनेमा ढुक्क हुन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आग्रह गरे।

‘दक्षिण एसियाली ओलम्पिक कमिटिमा सरकारका मन्त्री र राखेप सदस्यसचिवले प्रस्टसँग १५ मंसिरमै साग हुन्छ भनेर प्रतिबद्धता जनाउँदै सबैलाई विश्वस्त पार्नुभएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘सदस्य राष्ट्रहरुले साग नेपालको मात्रै नभएर सबैको हो। यसमा सहभागी हुने र आयोजना सम्पन्न गर्ने जिम्मेवारी आफूहरुको पनि भएको स्प्रिट देखाउनुभएको छ।’

उद्घाटन सत्रपछि बसेको दक्षिण ओलम्पिक कमिटिको बैठकमा राखेप सदस्यसचिव सिलवालले सागको आयोजनामा हालसम्म भएका प्रगति तथा उठेका प्रश्नहरुको जवाफ दिएका थिए। सिलवालले भौतिक पूर्वाधार समयमै सम्पन्न हुनेमा सदस्य राष्ट्रहरुलाई आस्वस्त पारेको दाबी गरे।

१३औं सागका सम्बन्धमा शनिबार काठमाडाै‌मा भएको दक्षिण एसियाली ओलम्पिक कमिटीको बैठक।

‘हामीले मंसिर १५ बाटै साग सुरु हुन्छ भनेर आस्वस्त बनाएका छौं,’ उनले भने, ‘३ महिना वा ६ महिनाअघि भौतिक संरचनाहरु बनाउन सकिएको भए राम्रै हुन्थ्यो। तर, हामीले कार्तिकभित्र सबै बनाइसक्छौं। सम्पूर्ण गेमहरु तोकिएकै समयमा हुन्छ। उहाँहरु सबै आस्वस्त हुनुहुन्छ।’

युवा तथा खेलकुदमन्त्री विश्वकर्माले पनि तीनपटक साग सरिसकेकाले अब साग सारेर देशको प्रतिष्ठामा आँच पुर्याउने काम गर्न नसकिने बताए।

‘तीनपटक साग सरेको कुरामा स्वभाविक रुपमा सत्यता छ। अन्तिम पटक सरेको सागलाई अब सर्न दिनुहुँदैन। देशको प्रतिष्ठालाई आँच पुग्न दिन हुँदैन भनेर हामी लागेको छौं,’ उनले भने, ‘गएराति मैले झिमिक्क आँखा नगरि रातभर रंगशालामा बिताउँदै भीआईपीतर्फको प्याराफिटका खम्बाहरु ठड्याउन लगाएको छु। अब पनि साग नहुने कुरामा शंका गरिराख्नुपर्दैन।’

सशर्त पाकिस्तानलाई जिम्मा
बैठकले यसपछि हुने १४ औं सागको आयोजनाको जिम्मा सशर्त पाकिस्तानलाई सुम्पिने निर्णय समेत गरेको छ। समापन समारोहमा पाकिस्तानलाई झण्डा बहन गर्नुका साथै झाँकी प्रदर्शनका लागि आधा घण्टा समय समेत छुट्टाएको अध्यक्ष श्रेष्ठले बताए।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको विधानअनुसार वर्णानुक्रम अनुसार सदस्य राष्ट्रले आयोजनाको जिम्मा पाउने भएकाले नेपालपछि पाकिस्तानको पालो आएको हो। तर, पाकिस्तानले सक्दैन भन्यो या उसले सक्ने स्थिति देखिएन भने भुटान तथा माल्दिभ्समा अर्को साग आयोजना गर्ने विषयमा समेत बैठकले निर्णय गरेको श्रेष्ठले बताए।

‘विधानअनुसार ओलम्पिक कमिटीले पाकिस्तानलाई आयोजनाका लागि पत्राचार गर्ने भएको छ,’ श्रेष्ठले भने, ‘उद्घाटनअघि नै उहाँ (पाकिस्तान)हरुले के प्रतिक्रिया दिनुहुन्छ हेर्छौँ। झण्डा लिइसकेपछि पनि ६ महिनासम्म पनि दक्षिण एसियाली ओलम्पिक कमिटिले भ्रमण गरेर त्यहाँको सरकार, त्यहाँको अवस्था हेरेर चाह्यो भने आयोजक देश परिवर्तन गर्न सक्छ भन्ने निर्णय भएको छ। यदि पाकिस्तानले नै सक्दैनौं भने भुटान र माल्दिभ्समा अर्को साग हुनेछ।’

यस्तै बैठकले स्थापनाकाल देखि नै कमिटिको विधान उही रहेकोले त्यसलाई समयसापेक्ष रुपमा परिवर्तन गर्नुपर्ने तथा ओलम्पिक र ओलम्पिक काउन्सिल अफ एसिया अनुसार जानुपर्छ भन्ने विषयमा पनि छलफल भएको छ।

झण्डा लिइसकेपछि दुई–दुई वर्षमा आयोजक राष्ट्रले प्रतियोगिता आयोजना गरिसक्ने प्रावधान विधानमा समेट्न सबै सदस्य राष्ट्र तयार रहेको श्रेष्ठले जनाए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad