ad ad

खेल


मछिन्द्रको एएफसी कप छनोट यात्रा

दक्षिण एसियाली टिमसँगै प्रतिस्पर्धा गर्नुपर्ने
मछिन्द्रको एएफसी कप छनोट यात्रा

लक्ष्मी जि.सी
पुस २२, २०७८ बिहिबार १३:१५, काठमाडौँ

कतार एयरवेज सहिद स्मारक 'ए डिभिजन लिग' सकिएको केही सातामै मछिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्नुपर्ने देखिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को तयारी हेर्दा फागुन अन्तिमसम्ममा लिग सकिने देखिन्छ। एन्फाले लिगको अन्तिम चार चरणको खेल फागुन दोस्रो हप्तासम्म सक्ने योजना बनाएको जनाएको छ।

अहिले सातौं चरण सकिएको छ। नवौं चरणपछि झण्डै एक महिना लिग स्थगित हुने एन्फाले जनाएको छ।

दशरथ रंगशालामा नेपाली राष्ट्रिय टोलीले मौरिसससँग माघ १५ र १८ गते दुई मैत्रीपूर्ण खेल खेल्दै छ। त्यसको दुई साताअघि र पछि लिगको खेल हुँदैन। 

त्यसलगत्तै मछिन्द्र एएफसी कप छनोटको तयारीमा जुट्नु पर्ने हुन्छ। यद्यपि त्यसको मिति तय भइसकेको छैन। प्रारम्भिक चरण कहिले हुने भन्ने टुङ्गो लाग्न बाँकी भए पनि एसियाली फुटबल महासंघ (एएफसी)ले दोस्रो चरणको मिति भने तय गरिसकेको छ।

जसअनुसार दोस्रो चरणको पहिलो खेल चैत २२ गते हुनेछ। त्यसअघि नै एएफसी कपको पहिलो चरणमा मछिन्द्रले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।

प्रारम्भिक चरणमा मछिन्द्रसँग माल्दिभ्स, भुटान र श्रीलंकाका टोली छन्। त्यसबाट छनोट हुने टोलीले दोस्रो चरणमा भारत र बंगलादेशका टोलीको सामना गर्नुपर्ने हुन्छ।

लिग र एएफसी कपको छनोट तालिका हेरेर त्यसका लागि तयारी सुरु गर्ने मछिन्द्रका व्यवस्थापक अनिल श्रेष्ठ बताउँछन्। 

राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता रहेको मछिन्द्रले एएफसी कप छनोटका लागि थप बलियो टोली बनाउने श्रेष्ठको दाबी छ।

उनले लिग चल्दाचल्दै एएफसी कप खेल्नुपर्ने अवस्था आउने संकेत गरे। उनले भने, ‘लिग सकियो भने यिनै खेलाडी लान्छौं, लिगकै दौरान जान पर्यो भने बाहिरबाट अन्य खेलाडी राखेर जान्छौं।’

लिगका लागि एक करोड बढी खर्च गरिसकेको मछिन्द्रले एएफसी कपका लागि कति खर्च हुन्छ? भन्ने अनुमान गरेको छैन।

एएफसी कप छनोट खेल्न एएफसीले ३० हजार अमेरिकी डलर क्लबलाई दिन्छ। त्यसबाहेकको खर्च क्लब आफैंले जुटाउनुपर्ने हुन्छ। घरेलु मैदानमा खेल्दा भने त्यो सहयोग पाइँदैन।

एएफसीले दिने रकम मात्र तयारीका लागि पर्याप्त नहुने व्यवस्थापक श्रेष्ठको भनाइ छ।  एएफसीको सहयोग विना नेपाली क्लबले छनोट खेल्न पनि नसक्ने उनले सुनाए। त्यसमा प्रायोजकको भूमिका पनि त्यतिकै हुने श्रेष्ठको बुझाइ छ।

उनी भन्छन्, ‘प्रायोजक विना हामी केही गर्न सक्दैनौँ। ए डिभिजन लिगका लागि अहिले पनि हरेक क्लबले १ करोड रुपैयाँभन्दा धेरै लगानी गरेका छन्।’

एएफसीले सहयोग नगरे एन्फाले सहयोग गर्ने महासचिव इन्द्रमान तुलाधरले बताउँछन्। उनले भने, ‘यसले क्लबलाई धेरै फाइदा पुग्छ। क्लबले मेहनत गर्ने पनि त्यसैको लागि हो। जसले लिगको पनि स्तर पनि बढ्छ।’

क्लबले एएफसी कप छनोट खेल्नु भनेको अन्तर्राष्ट्रिय स्तरमा देशको लिगको स्तर देखाउने माध्यम पनि हो।

महासचिव तुलाधर भन्छन्, ‘एएफसी कप छनोटले गर्दा इन्टरनेशनल एक्सपोजरका लागि पनि सहयोग गर्छ। यो नहुने हो भने ए डिभिजन लिगमा नै सीमित हुनुपर्छ। त्यसैले क्लबहरुलाई पनि बलियो बनाउन एएफसी कपले सहयोग गर्छ।’

दोस्रो प्रयासमा मछिन्द्र एएफसी कप छनोट खेल्दै
मछिन्द्रले दोस्रोपटक एएफसी कप छनोटमा स्थान सुरक्षित गरेको हो। २ वर्षअघि मछिन्द्र लिग इतिहासमै पहिलोपटक उपाधि विजेता भएको थियो। तर, एएफसी क्लब लाइसेन्स प्राप्त नगरेका कारण टोलीले एएफसी कप छनोट खेल्न पाएन।

उसको स्थानमा लाइसेन्स भएको एकमात्र टोली त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कप छनोट खेलेको थियो। त्यतिबेला उसले छनोटको पहिलो चरण पार गरेको थियो । 

दोस्रो पटकमा मछिन्द्रसहित मनाङ मर्स्याङ्दी र एपीएफ क्लबले लाइसेन्स प्राप्त गरेका थिए। त्यसैले यसपटक एएफसी कप छनोटका लागि ४ टोलीमात्र प्रतिस्पर्धामा थिए।

क्लब लाइसेन्स नहुने क्लबले एएफसीको प्रतियोगिता खेल्न पाउँदैन। यसपटक लिग चल्दै गर्दा एन्फाले एएफसी कप छनोट खेल्ने टोलीको नाम एएफसीलाई दिनुपर्ने थियो।

यसको समाधान निकाल्न एन्फाले सातौं चरण सकिँदा शीर्ष स्थानमा रहने चारमध्ये एक टोलीको नाम पठाउने प्रस्ताव गर्यो। उक्त प्रस्ताव एएफसीले स्वीकार गर्‍यो। 

जसअनुसार मछिन्द्र लिग तालिकाकै शीर्षस्थानमा रहँदै एएफसी कपका छनोटमा पुग्न सफल भएको छ। च्याम्पियन हुँदा खेल्न मौका गुमाएको मछिन्द्रले यसपटक सातौं चरणको समाप्तिमै एएफसीको आधिकारिक प्रतियोगिता खेल्न पाउने भएको छ।

जारी लिगमा मछिन्द्रको यात्रा

पाँचौं चरणको समाप्तिमा मछिन्द्रभन्दा मनाङ बलियो अवस्थामा थियो। छैटौं चरणमा भएको मछिन्द्रसँगको खेलमा बराबरीको नतिजा निकालेको भए पनि मनाङलाई छनोटमा पुग्न निकै सहज हुने थियो।

मछिन्द्रलाई भने छनोटमा पुग्न उक्त खेल जित्नैपर्ने दबाब थियो। छैटौं चरणमा मनाङलाई १–० ले हराएर मछिन्द्रले सम्भावना बलियो मात्र बनाएन, निर्णयका लागि सातौं चरणमै पुग्ने अवस्था बनायो। सातौं चरणमा मनाङले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई हरायो।

त्यसले मछिन्द्रलाई फेरि नेपाल पुलिस क्लबविरुद्धको खेल जित्नुपर्ने बाध्यता बन्यो। त्यसअघि नै अन्य दुई टोली आर्मी र एपीएफ छनोटको दौडबाट बाहिरिसकेका थिए। सातौं चरणको खेलमा मछिन्द्रले पुलिसलाई १–० ले हरायो र छनोटमा पुग्न सफल भयो।

एएफसी कप छनोट चरणमा पुगेपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले विदेशी खेलाडी थप्ने योजना सुनाए।  

उनले भने, ‘एएफसी कपको निर्देशिका हेरेपछि कुन कोटामा कस्तो खेलाडी राख्ने भनेर निर्णय गछौँ। एएफसीमा विदेशी खेलाडी राखेर नेपाली र विदेशी खेलाडीको संयोजन गरेर जान्छौँ।’

टोलीका कप्तान सुजल श्रेष्ठले पनि एएफसी कप छनोटमा आफूहरु उत्साहित रहेको बताए।

उनले भने, ‘सात खेलमा नै छनोट भयौँ। टिममा दबाब थियो, सबै टिमले मेहनत गरेको छ। लाइसेन्स नभएर यसअघि खेल्न नपाउँदा दुःख लागेको थियो। तर, अहिले हामीले मौका पायौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .