ad ad

खेल


अढाई महिनामा एपीएफले गरेको ‘चमत्कार’

टोली पहिलोपटक आहा च्याम्पियन बनेपछि प्रशिक्षक थापा दंग
अढाई महिनामा एपीएफले गरेको ‘चमत्कार’

लक्ष्मी जि.सी
माघ १६, २०७८ आइतबार ८:३८, काठमाडौँ

अढाई महिनायता एपीएफ फुटबल क्लबको प्रदर्शन हेर्ने हो भने आकाश–जमिनको अन्तर छ। मंसिर पहिलो साता सुरु सहिद स्मारक ए डिभिजन लिगमा कमजोर सुरुवात गरेको त्यही एपीएफ टोली मोसफलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपमा शनिबार पहिलोपटक च्याम्पियन बनेको छ। संयोग पनि कस्तो हो भने २०औं संस्करण उद्घाटनमा आयोजक सहारा क्लबलाई हराउँदै अघि बढेको एपीएफले आहा राराको सर्वाधिक सफलमध्येको एक टोली मनाङ मर्स्याङ्दी क्लबलाई ट्राइब्रेकरमा जित्दै उपाधि हात पार्याे। 

मनाङ र अर्को विभागीय टोली नेपाल पुलिस क्लबले समान ६ पटक आहा गोल्डकप जितेका छन्। झण्डै डेढ दशकको फरकमा दोस्रोपटक फाइनल खेलेको एपीएफ पहिलोपटक च्याम्पियन बन्न सफल भएको हाे। एपीएफले पछिल्लोपटक २०६४ मा फाइनल खेलेको थियो। त्यति बेला एपीएफलाई पुलिसले हराएको थियो। 

एपीएफले यसपटक लिगको सुरुवात जसरी गरेको थियो, त्यसका आधारमा आहाबाट च्याम्पियन बनेर फर्केला भन्ने कमैले अनुमान गरेका थिए। त्यसमाथि जारी लिगको शीर्षस्थानमा रहेको मछिन्द्र फुटबल क्लब र मनाङको चुनौती पनि पार गर्ला भन्ने धेरैलाई विश्वास थिएन। 

लिगमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी), च्यासल युथ क्लब र सातदोबाटो युथ क्लबसँगको सुरुवाती तीन खेल गुमाएपछि एपीएफ यसपटक रेलिगेसन पर्न सक्छ भन्ने अड्कल पनि गर्न थालिएको थियो। तर, चौथो खेलपछि भने एपीएफको प्रदर्शनमा सुधार हुँदै गयो। लिगको चौथोदेखि नवौं चरणका ६ खेल र आहामा ४ खेल गरी पछिल्ला १० खेलमा एपीएफ अपराजित रहन सफल भएको छ। 

लिगका तीन खेलमै पहिलो र दोस्रो रोजाइका गोलकिपर घाइते भएपछि एपीएफले तेस्रो रोजाइका गोलकिपर उतार्न परेको थियो। अमृतकुमार चौधरी घाइते भएपछि उनको ठाँउ दिलकुमार योन्जन लिम्बुले लिएको खेलमा एपीएफ सातदोबाटोसँग ४–१ ले हारेको थियो। एएफसी क्लबले लाइसेन्स प्राप्त गरे पनि एपीएफले त्यति बेलासम्म विदेशी खेलाडी भित्र्याएको थिएन।

तेस्रो हारपछि पनि विदेशी खेलाडी नथप्दा टोली रेलिगेसनमा पर्ने खतरा रहेको मुख्य प्रशिक्षक कुमारथापाले बताएका थिए। उनले हरेक पोस्ट म्याच कन्फ्रेन्समा विदेशी खेलाडी राख्नुपर्ने र त्यसका लागि व्यवस्थापन तयार हुनुपर्नेमा जोड दिइरहे। सायद त्यो आवाज सुनियो। चौथो खेलमा जापानी गोलकिपरले एपीएफको पोस्ट सम्हाले। थ्रीस्टार क्लबविरुद्धको त्यो खेल गोलरहित बराबरीमा टुंगियो। एपीएफ पहिलो अंक जोड्न सफल भयो।

त्यसपछि दुई अन्य दुई विदेशी खेलाडी थपिए। संयोग पनि त्यस्तै रह्यो– विदेशी खेलाडी समावेश भएपछि एपीएफले हार्नुपरेको छैन। लिगका पछिल्ला ६ खेलमा १० अंक जोड्दै टोली अंक तालिकाको नवौं स्थानमा रहन सफल भएको छ।

लगातार ६ खेलमा अपराजित रहँदै पोखरा पुगेको एपीएफ अब आहा राराको च्याम्पियनको हैसियतमा लिगका बाँकी ४ खेलमा उत्रनेछ। क्लबको इतिहासमा १४ वर्षपछि फाइनल पुगेर टोलीलाई उपाधि दिलाउन सकेकामा प्रशिक्षक थापा दंग छन्। 

आहा राराको इतिहास हाम्रो क्लबभन्दा पनि पुरानो छ, यति लामो गौरवमय इतिहास बोकेको प्रतियोगिताको विजेता बनेको खुसीलाई शब्दमा व्यक्त गर्न गाह्रो छ’, उनले भने, ‘मुख्य कुरा यो प्रतियोगिताको उद्घाटनमा पनि हामी खेलेका थियौं। अन्तिम खेल पनि हामी खेलेर विजेता बनेका छौँ।’

उनले जितको श्रेय भने टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापनलाई दिए। 

थापा तिनै खेलाडी हुन्, जसले मनाङको कप्तानमा रूपमा २०६० र २०६१ सालमा आहा गोल्डकप जितेका छन्। खेलाडी र प्रशिक्षकका रूपमा उपाधि जित्ने सफलता पनि थापाको नाममा जोडिएको छ। थापाले आफ्नो पूर्वटोली मनाङलाई नै हराएर उपाधि दिलाएका हुन्। 

मनाङले पोखरा रंगशालालाई लिगमा घरेलु मैदानका रूपमा प्रयोग गरेको थियो। त्यहाँ खेलका लिगका तीनै खेलमा मनाङ विजयी भएको थियो। आहामा पनि क्वार्टरफाइनल र सेमिफाइनलमा विजयी हुँदै अघि बढेको मनाङले एपीएफको चुनौती भने पार गर्न सकेन। २–२ को बराबरीपछिको ट्राइब्रेकरमा एपीएफ ५–४ ले विजयी भएको थियो। 

आहाको व्यक्तिगत अवार्डमा पनि एएपीएफकै बाहुल्यता रह्यो। टोलीका रक्षक राजन गुरुङ सर्वोत्कृष्ट खेलाडी चुनिए टोलीले पछिल्ला १० खेलमा गरेको प्रदर्शनबाट सबै उत्साहित रहेको सुनाउँदै राजनले लिगका बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिलेको बताएका छन्। आहाको उत्कृष्ट रक्षक घोषित राजन आहाको सर्वोत्कृष्ट खेलाडी बन्छु भन्ने कल्पनासम्म नगरेको बताउँछन्। राजनले आहामा टोलीको जित र व्यक्तिगत रूपमा दुई विधा जित्दा त्यसले टोलीलाई र आफूलाई पनि आउने दिनका लागि उत्साहित बनाएको बताए। 

‘सबैले मेहनत गरेका थियौँ। शतप्रतिशत दिएर खेल्यौं। त्यसले सफलता पनि मिल्यो। विदेशी खेलाडीको आगमनले पनि सहज भएको छ’, उनले भने,  ‘लिगका सुरुवाती खेलमा टोलीमा तालमेल मिलेको थिएन। पछिल्लो समय भने सबै मिलेको कारण नै अनुुकूल नतिजा निकाल्न सफल भएका छौं।’ 

टोलीका खेलाडीको क्षमताअनुसार प्रशिक्षकले प्रयोग गरेको सफलता मिलेको एपीएफका कप्तान नवीन लामाले बताए। 

‘लिगमा सुरुवातमा खेलाडीबारे प्रशिक्षकलाई बुझ्न गाह्रो भएको र पछिल्ला खेलमा आफूहरूको क्षमताअनुसार प्रशिक्षकले प्रयोग गर्नुभएको छ’, उनले भने, ‘यो जितले लिगका बाँकी ४ खेलमा राम्रो नतिजा ल्याउने आशा बढेको छ।’ 

लिगका उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्ता बनेका रवि थिङ पनि आहामा इतिहास रच्न सफल भएकामा दंग छन्। 

‘फाइनल सधैं खेल्न पाइन्न। त्यसैले पाएको अवसरलाई सदुपयोग गर्नपर्छ भन्नेमा हामी दृढ थियौं’, रविले भने, ‘प्रशिक्षकको रणनीतिअनुसार खेलेकै कारण नतिजा निकाल्न सफल भयौं।’ 

प्रशिक्षक थापा भने सफलताले चुनौती झन् बढ्ने बताउँछन्। 

‘लिगमा पनि राम्रो गरिरहेका छौं। आहामा पनि च्याम्पियन बन्दै इतिहास रच्यौं। सफलताले खुसी लाग्नु स्वाभाविक हो’, उनले भने, ‘तर अबको यात्रामा सफलतालाई निरन्तरता दिनुपर्ने चुनौती हाम्रासामु छ। हामी त्यसका लागि तयारी गर्नेछौं।’ 

लिगका बाँकी ४ खेलमा एपीएफले फेरि मछिन्द्र, मनाङसहित संकटा र पुलिसको सामना गर्नुपर्नेछ। आउने खेल चुनौतीपूर्ण हुने बुझेका थापाले पटकपटक अहिले पनि टोलीलाई लिगमा दबाब रहेको बताउने गरेका छन्। तर पनि लिगमा कमजोर सुरुवात गरेको एएपीएफले आहा राराको च्याम्पियनको हैसियतमा लिगको अन्त्य गर्नेछ। 

लिगमा एपीएफको प्रदर्शन
एपीएफ २–३ बीबीसी
एपीएफ ०–१ च्यासल
एपीएफ १–४ सातदोबाटो
एपीएफ ०–० थ्रीस्टार
एपीएफ ३–१ फ्रेन्ड्स 
एपीएफ ३–३ एनआरटी
एपीएफ १–१ आर्मी 
एपीएफ ०–० जावलाखेल
एपीएफ १–० हिमालयन शेर्पा

आहा रारा गोल्ड कपमा एपीएफको प्रदर्शन
एपीएफ २–० सहारा 
एपीएफ ३–१ बीवाईएससी 
एपीएफ ३–१ मछिन्द्र (सेमिफाइनल)
एपीएफ २–२ (५–४) मनाङ (फाइनल) 

याे पनि ​: मनाङलाई ट्राइब्रेकरमा हराउँदै एपीएफ बन्यो पहिलोपटक आहा रारा च्याम्पियन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .