ad ad

खेल


विमल र सुजलका लागि यादगार मैत्रीपूर्ण फुटबल

अनेक उतारचढावबीच गुमाएनन् लय
विमल र सुजलका लागि यादगार मैत्रीपूर्ण फुटबल

फाइल तस्बिर


लक्ष्मी जि.सी
माघ २०, २०७८ बिहिबार १८:४७, काठमाडौँ

मौरिससविरुद्ध दुवै मैत्रीपूर्ण खेलमा सफलता हासिल गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीले एसियन कप छनोटको तयारी थालेको छ। 

पहिलो पटक अफ्रिकी मुलुकसँग दशरथ रंगशालामा शनिबार र मंगलबार भएका दुवै खेलमा नेपाल समान १–० गोल अन्तरले विजयी भएको थियो। 

सामूहिक खेलमा सफलता वा असफलताको जस अपजस पूरै टोलीलाई जान्छ। तर पनि गोल गर्ने खेलाडीको चर्चा स्वाभाविक रुपमा बढी हुने गर्दछ।

त्यस अर्थ यसपटक विमल घर्तीमगर र सुजल श्रेष्ठको चर्चा तुलानात्मक रुपमा बढी छ। 

पहिलो खेलमा विमल र दोस्रोमा सुजलको गोलमा नेपालले सफलता हासिल गरेको थियो। 

पछिल्लो समय खेल जीवनमा उतारचढाव भोगेका दुई खेलाडीबाट गोल निस्किँदा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले उनीहरुमाथि गरेको भरोसामा न्याय गरेका छन्। 

विमलले ३ वर्षभन्दा बढी र सुजलले झण्डै ५ वर्षपछि राष्ट्रिय टोलीबाट गोल गरेका थिए। 

विमल घर्ती मगर
म्यानमारविरुद्ध २०७६ कात्तिक २१ गते मैत्रीपूर्ण खेलपछि विमल शनिबार पहिलोपटक राष्ट्रिय टोलीको जर्सीमा उत्रेका थिए। 

उनले राष्ट्रिय टोलीका लागि गोल झण्डै ४० महिनापछि गरेका हुन्। २०७५ भदौ २३ गते साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशविरुद्धको २–० को जितमा विमलले एक गोल गरेका थिए। 

त्यसयता विमलको यो पहिलो गोल हो। यो उनको नवौँ अन्तर्राष्ट्रिय गोल थियो।

म्यानमारसँगको खेलपछि विमल सुरुमा प्रतिबन्ध र त्यसपछि चोटका कारण लामो समय मैदान बाहिर रहन बाध्य भएका थिए। 

दुई वर्षअघि उनीसँगै राष्ट्रिय टोलीका ४ जना अनुशासनको कारबाहीमा परेका थिए। कुवेतविरुद्ध विश्वकप छनोट खेल्न भुटान जानका लागि तयारी भएर एन्फा पुग्दा उनीहरुमाथि कारबाही भएको थियो। 

त्यति बेला विमल ९० दिनको प्रतिबन्धमा परे। उनीसँगै कारबाहीमा परेकाले स्वदेशमा २०७६ पुसमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) खेल्ने अवसर गुमाउनुपर्यो। १३ औँ सागको स्वर्ण जित्ने टोलीको सदस्य बन्ने अवसर उनीहरुले आफ्नै कारण गुमाएका थिए। 

कारबाही फुकुवा भएपछि २०७६ को लिगको अन्तिम खेलमा विमल मछिन्द्र फुटबल क्लबबाट खेले। त्यसपछि मोफसलका अन्य प्रतियोगिता खेले। 

त्यही प्रदर्शनपछि गत वर्ष पुसमा उनी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा फर्किए। तर, दुर्भाग्य प्रशिक्षणका दौरान चोटग्रस्त हुन पुगे। घुँडामा गम्भीर चोट लाग्यो। कतारमा उपचार गर्दै झण्डै ९ महिनापछि स्वदेश फर्केर उनी फेरि मछिन्द्रमा आबद्ध भए। 

लिगबाट लयमा फर्किने प्रयास गरेका विमलले ३ गोल पनि गरेका छन्। लिगकै प्रदर्शनबाट उनले राष्ट्रिय टोलीमा पुनरागमनको मौका पाए। 

प्रशिक्षक अब्दुल्लाहले उनलाई मौरिससविरुद्ध पहिलो खेलमा पहिलो रोजाइमा राखे। विमलले भने त्यसको भरपूर फाइदा उठाए। 

संयोग पनि गजबकै बन्यो। सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध विमलले बराबरी गोल गरेका थिए। त्यो राष्ट्रिय टोलीबाट उनको पहिलो गोल थियो। 

दशरथ रंगशालाको पूर्वतर्फ रहेको जुन पोष्टमा पाकिस्तानविरुद्ध गोल गरेका थिए, शनिबार मौरिससविरुद्ध पनि त्यही पोष्टमा गोल गर्दै पुनरागमनलाई स्मरणीय बनाएका छन्। 

अलमुताइरीले उनले त्यो गोललाई अर्को एक कदमको रुपमा लिनुपर्ने बताएका थिए। 

‘विमलको लागि यो गोल महत्त्वपूर्ण थियो। पक्कै पनि थियो। तर अब उनले अघि हेर्नुपर्छ, यतिले मात्र हामीलाई पुग्दैन, हामीले उनीबाट धेरै अपेक्षा राखेका छौँ’, अल्मुताइरीले खेलपछि भनेका थिए। 

सुजल श्रेष्ठ
पछिल्लो समय सुजललाई पनि चोटले पटक–पटक दुःख दिएको छ। यही कारण राष्ट्रिय टोलीबाट बाहिर र भित्र भइरहे। 

मौरिससविरुद्ध पहिलो खेलमा दोस्रो रोजाइमा परेका सुजलले दोस्रो खेलमा पहिलो रोजाइमा परेर पूरै समय मैदानमा बिताए। लेफ्ट ब्याकको जिम्मेवारीलाई उनले पूर्ण न्याय गरेको प्रशिक्षक अल्मुताइरीको भनाइबाट पनि पुष्टि हुन्छ। 

‘सुजलले राम्रो खेले। डिफेन्समा हामीसँग अर्को विकल्प तयार भएको छ’, दोस्रो खेल जितेपछि अल्मुताइरीले उनीबारे गरेको टिप्पणी हो यो। 

सुजलले झण्डै ५ वर्षपछि राष्ट्रिय टोलीबाट गोल गरेका थिए। २०७३ को कात्तिकमा मलेसियामा भएको सोलिडारिटी कपमा गोल गरेयता सुजलको त्यो पहिलो गोल थियो। 

आशिष लामाले कर्नरबाट आएको बललाई कडा प्रहार गरेका थिए, त्यसलाई पुजन उपरकोटाले अघि बढाइदिएपछि पोष्टनजिक रहेका सुजल गोल गर्न सफल भएका थिए। 

‘सोलिडारिटी कपपछिको मेरो पहिलो गोल हो। तर, मेरो गोलभन्दा पनि नेपालको जित महत्वपूर्ण हो’, मौरिसससँगको खेलपछि सुजलले भनेका थिए। 

सुजलको पनि अर्को संयोग बन्यो ११ वर्षअघि दशरथ रंगशालामा नै उनले पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। 

सन् २०११ मा टिमोर लिष्टेविरुद्ध ५–० को जितमा सुजलले पनि एक गोल गरेका थिए। तेस्रो गोलपछि उनले पहिलो गोलको पनि स्मरण गरेका थिए। 

उनले टोलीको आवश्यकताअनुसार आफू जुन पोजिसनमा पनि खेल्न तयार रहेको सन्देश पनि दिएका छन्। 

अल्मुताइरीले भने, ‘यो पटक फरक र नयाँ अनुभव भयो। सुजल टोलीबाट आवश्यकताअनुसार आफूलाई जुनसुकै पोजिसनमा ढाल्न सक्ने खेलाडी हुन्।’

एन्फाका उत्पादन
सन् २०११ मा पोखरामा भएको भुटानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीबाट डेब्यु गरेका सुजल टोलीका सिनियर खेलाडीमध्येका एक हुन्। 

एन्फा एकेडेमीका उत्पादन उनको खेल जीवन र चोट पर्यायवाची जस्तै भएको छ। चोटका कारण २०१६ मा बंगबन्धु गोल्डकप र सोही वर्ष भारतमा भएको १२ औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्णपदक जित्दा सुजल टोलीबाहिर थिए। 

१२ औँ सागको समयमा उनको तिघ्रामा समस्या थियो। तर, दुई वर्षअघि १३ औँ साग स्वदेशमा आयोजना हुँदा नेपालले उनकै कप्तानीमा स्वर्णपदक रक्षा गरेको थियो। 

२३ वर्षमुनिका खेलाडीले सहभागिता जनाउने सागमा सिनियर टोलीका ३ खेलाडी राख्न पाउने प्रावधानअनुसार सुजल टोलीको हिस्सा बने। 

गत चैतमा भएको थ्री नेसन्स कपका दौरान सुजलले पुनः चोटको सामना गरे। बंगलादेशविरुद्धको पहिलो खेलमा नै स्प्रिन्ट हान्ने क्रममा बायाँ खुट्टाको पिडुँलामा पीडा भएपछि उनले सोचे अनुसार खेल्न सकेनन्। 

यो वर्षको वैशाखमा दशरथ रंगशालामा भएको नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा सर्वाधिक २ लाख रुपैयाँमा बिक्री भएर पनि चोटका कारण उनले खेल्न पाएनन्। त्यति बेला खेल्न नपाएका उनले पोखरामा व्यवस्थापकको भूमिका निर्वाह गरे। 

असोजमा माल्दिभ्समा साफ च्याम्पियनसिप खेलेयता नेपाली टोली पहिलो पटक मैदानमा उत्रेको थियो। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३४ खेलाडीबाट दुई मैत्रीपूर्ण खेलका लागि अलग–अलग टोली तयार पारेका थिए। नेपाली फुटबलमा त्यो नयाँ प्रयोग थियो। बढीभन्दा बढी विकल्पका लागि अलमुताइरीले त्यो प्रयोग गरेको प्रष्ट पारेका छन्। 

मौरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा प्राप्त जितले सबैलाई खुसी त दिलायो नै उतारचढावपूर्ण यात्रा गर्दै अघि बढेका विमल र सुजलका लागि भने पक्कै यादगार बन्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .