ad ad

खेल


संघर्षले अघि बढेको पुष्पाको खेल जीवन (भिडिओ)

संघर्षले अघि बढेको पुष्पाको खेल जीवन (भिडिओ)

लक्ष्मी जि.सी
माघ २८, २०७८ शुक्रबार १४:१९, काठमाडौँ

असफलताबाट हरेस खानेले सफलताको स्वाद चाख्न गाह्रै हुन्छ। एकपटक वा पटकपटक  असफल हुँदैमा प्रयास गर्न छाड्ने हो भने सफलता कसरी मिल्ला र? सहजै सफलता कसले पाएको छ र? अझ त्यो पनि खेलाडीले। हाम्रै कति खेलाडीले मज्जाले सफलताको साथ चाखेका छन्।

तर, उनीहरु असफलताबाट डराएर होइन, त्यसबाट सिकेर अघि बढेका उदाहरण हाम्रै वरिपरि छन्। खेलाडीले शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि आफूलाई उत्तिकै दुरुस्त राख्न जरुरी छ। तब मात्र सफलताको आशा गर्ने ठाउँ रहन्छ।

असफलताबाट भागेर र हरेस खाएर पछि हट्नुभन्दा शारीरिक र मानसिक रुपमा बलियो भएर निरन्तर मेहनत गर्न सक्यो भने सफलता मिल्छ भन्ने एउटा गतिलो उदाहरण हुन्– धाविका पुष्पा भण्डारी।

दुई वर्ष अघिसम्म उनी गुमनाम जस्तै थिइन्। २०७६ को पुसमा स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेपछि भने उनी धेरैको नजरमा परिन्।

नेपालले स्वर्ण पदक मात्र ५१ वटा जितेको त्यो सागको म्याराथनमा पुष्पाले रजत पदक जितेकी थिइन्। म्याराथन (४२.१९५ किलोमिटर दौड) यसै पनि सहज हुँदैन। स्वर्ण पदकको छायाँमा परेर पनि म्याराथनमा रजत पदक जित्दा पुष्पा चर्चामा रहिन्।

पुष्पाले कान्छीमाया कोजुको राष्ट्रिय कीर्तिमान समेत भंग गर्दै दक्षिण एसियाको महाकुम्भका रुपमा रहेको सागमा रजत पदक जितिन्। पुष्पाले २ घण्टा ५० मिनेट ११ सेकेण्डमा दौड पूरा गरेकी थिइन्। त्यसअघि कान्छीमायाले सन् २०१६ मा २ घण्टा ५५ मिनेट ५७ सेकेण्डको कीर्तिमान बनाएकी थिइन्। सागको त्यो सफलताले पुष्पालाई ट्र्याकमा दौडिरहन थप प्रेरणा मिल्यो ।

गत वर्षको पुषमा बंगलादेशमा भएको शेख मुजाहिद्दिन दक्षिण एसियाली म्याराथनमा स्वर्ण पदक जितेर उनले सफलताको अर्को सिँढी चढिन्। त्यसले उनको परिचय झनै फराकिलो बनायो।

पुष्पाले २ घण्टा ५९ मिनेट ४१ सेकेण्डमा दौड पूरा गर्दै पहिलो स्थान प्राप्त गरेकी थिइन्। केही साताअघि भएको यसपटकको म्याराथनमा भने उनले कास्य पदकमा चित्त बुझाउनुपर्‍यो।

कोरोना महामारीका कारण तयारीमा असर गरेकोले बंगलादेशमा यसपटक सोचेजस्तो नतिजा ल्याउन नसकेको उनी सुनाउँछिन्।

*** 

स्कुल जीवनमै दौडन सुरु गरेकी पुष्पाले सफलता के हो भनेर थाहा पाउन नै समय लाग्यो। कक्षा ६ मा पढ्ने बेलामा उनले दौडन सुरु गरिन्। खेल जीवनको उतारचढावलाई नजिकबाट भोगेकी पुष्पाले सफलताको स्वाद लिन लामो समय कुर्नुपर्यो। कक्षा ६ मा राष्ट्रपति रनिङ शिल्डमा दौडिएपछि उनको खेल यात्रा त्यहीँ रोकियो।

त्यसपछि एकै पटक २०६८ मा कक्षा ११ मा पुगेपछि दौडने अवसर जुर्यो। धनगढीमा भएको छैटौं राष्ट्रिय खेलकुदमा ५ किलोमिटर दौडमा कास्य पदक जितिन्। त्यसपछि पनि उनको दौडले निरन्तरता पाउन सकेन। २ वर्ष खेल जीवनबाट टाढा रहिन्।

त्यति बेला कुनै क्लबको नजरमा पर्न नसकेपछि घर फर्कनु बाहेक उनीसँग विकल्प थिएन। घर फर्केर पढाइलाई निरन्तरता दिइन्।


५/१० किलोमिटर दौडबाट खेल जीवन सुरु गरेकी उनी पछि म्याराथनतर्फ आकर्षित भइन्। उनको दौड देखेर उनलाई प्रशिक्षकले म्याराथनमा जान सल्लाह दिए।

उनले स्मरण गरिन्, ‘२०६८ को मेरो दौड देखेर दिवंगत प्रशिक्षक रविन कुमार राई म्याराथन दौडन सल्लाह दिनुभयो। मैले हुन्छ भने। क्षेत्रीयमा छनोट भए अनि राष्ट्रिय स्तरको माम्याराथन खेले। समय त राम्रो थिएन तर पनि जितेँ।’

म्याराथन राम्ररी नबुझ्दै उनी त्यसमा दौडेकी थिइन्। न उनलाई म्याराथनको दूरी थाहा थियो न त त्यसमा लाग्ने समय नै।

त्यो दिन सम्झिँदै उनले भनिन्, ‘प्रशिक्षकले मेडल आउला जस्तो छ भनेपछि दौडन तयार भए। सबैले दौडिएका छन्, म पनि सक्छु भनेर दौडिएँ। त्यतिबेला कसैले म्याराथनको दूरी र त्यसमा लाग्न सक्ने समय भनेको भए सायद दौडिने थिइनँ होला।’

खेलकुदमा प्रायः मध्यम परिवारबाट संघर्ष गरेर निखारिएकाहरुले आफ्नो प्रतिभा देखाइरहेका छन्। सुरुवातमा उनले १ सय २० रुपैयाँ पर्ने स्कुल जाँदा लगाउने सेतो जुत्ता लगाएर म्याराथन दौडिएकी थिइन्।

म्याराथनको स्टार्ट प्वाइन्टमा हुँदा एकजनाले भनेको उनलाई अहिले पनि सम्झना छ। ‘यति सानो मान्छे तिमी यही जुत्ता लगाएर दौडने हो। उनले सहज जवाफ दिइन्, हजुर। यो जुत्ता लगाएर तिमीले दौड पूरा गर्यौ भने म खाना पनि खाँदिनँ।’ त्यो घटना सम्झिँदै उनले अगाडि भनिन्, त्यसमा म दोस्रो भएँ। राष्ट्रिय प्रतियोगितामा दोस्रो हुनु मेरो लागि ठूलो उपलब्धि थियो।’

***

सल्यानको शारदा नगरपालिका वडा नम्बर १४ मा जन्मिएकी पुष्पा परिवारकी कान्छी छोरी हुन्। ३ दाजु र २ दिदीपछिकी उनलाई सुरुमा कराँते खेल्न मन थियो। कान्छा दाई कराँते खेल्थे।

तर, उनलाई सँगै कराते सिक्न लैजान दाई तयार भएनन्। कराते खेल्ने उनको रहन पूरा नभए पनि दौडमा जान भने उनलाई कसैले रोकेन। जिल्ला स्तरका दौडमा भाग लिइन्। त्यो समय कल्पना बुढाथोकी उनको साथी जस्तो भएर आइन्। उमेरले दिदी भए पनि पुष्पा उनीसँगै दौडन थालिन्। कल्पनासँगै दौडेकी पुष्पा राष्ट्रिय स्तरमा पुगिन्।

हक्की स्वभावकी भएर पनि पुष्पालाई एथलेटिक्स माहोलमा घुलमिल हुन भने गाह्रो भयो। सहज हुन समय लाग्यो। प्रशिक्षकले यहाँ सबै दाजुभाइ जस्तो हो, एकअर्कालाई कोहीले पनि नराम्रो नसोच्ने भनेपछि भने उनलाई ढुक्क लाग्थ्यो। बिस्तारै माहोल सहज हुँदै गयो, उनको दौडको गति पनि अघि बढ्न थाल्यो।

सुरुवातका दिनमा उनलाई खेलाडीको डाइटको बारेमा पनि थाहा थिएन। खेलाडीले धेरै पानी पिउनुपर्छ। फलफुल खानुपर्छ भन्ने सुनेकी थिइन्। त्यसैले पानी मज्जाले पिउँथिन्। फलफूल गाउँघरमा जे हुन्थ्यो, त्यही खान्थिन्। टाढाको बजार र आर्थिक अवस्थाका कारण फलफूल किनेरै खाने अवस्था भने उनको थिएन।

***

२०६९ मा माघमा भएको राष्ट्रिय खेलकुद प्रतियोगिता जितेपछि पुष्पालाई नेपाल एपीएफले करारमा राख्यो। त्यो समयमा एक जना दिदीसँगै बसौली भनेपछि उनी सल्यान छाडेर काठमाडौ आइन्।

तर, २०७३ साउनमा करार सकियो। त्यसपछिको २ वर्ष क्लबविहीन भएर बसिन्। तर पनि दौड भने छाडिनन्। २०७५ सालमा एपीएफमा स्थायीरुपमा भर्ना भइन्। त्यसअघि पनि विभागमा भर्ना हुने उनको प्रयास सफल भएन।

भिडिओ

खर्च जुटाउनकै लागि उनी म्यादी प्रहरी पनि भइन्। परिवारबाट आर्थिक सहयोग हुन अवस्था नभएकाले आफ्नो उनले आफ्ना लागि आफै खर्च जुटाउनुपर्थ्यो। दाइहरू जागिरे भएपछि भने उनलाई सजिलो भयो। खर्चकै कारण परिवारले उनलाई खेल्न छाड्न पनि भन्यो। तर, उनले आफ्नो सपना पूरा गर्न दौडने भन्दै सम्झाइन्।

खेल जीवनलाई अघि बढाउन पनि उनी विभागमा आवद्ध हुन चाहन्थिन्। तर, त्यो यात्रा पनि सहज रहेन। गाँउ जाँदा पुष्पालाई अझै जागिरे भएकी छैनस्? भन्ने प्रश्नले घोच्थ्यो। काठमाडौं आएको ५ वर्ष भइसकेको थियो तर पनि उनीसँग आम्दानीको स्थायी स्रोत थिएन।

स्वयम्भूको बसाइ, त्रिपुरेश्वस्थित दशरथ रंगशालामा प्रशिक्षण। स्वयम्भू त्रिपुरेश्वर हिँडेरै आउने–जाने गर्थिन्। खेलाडीले प्रशिक्षणपछि आराम गर्नुपर्छ भन्ने पनि उनलाई थाहा थिएन। ‘अहिले जस्तो भएको भए सायद अर्कै हुन्थेँ होला’, उनले थपिन्, ‘त्यो बेलामा साथीहरुले केही चाहिए भन भन्थे। तर, भन्न मन लाग्दैनथ्यो। घरबाट पैसा पठाउने अवस्था थिएन।’

खर्च जुटाउन दिउँसो काम गर्न केहिले सल्लाह दिए। तर बिहान र साँझको अभ्यासले त्यो सम्भव थिएन। पुराना खेलाडी समेत रहेका अर्जुन ढकालले खानाको व्यवस्था मिलाइदिएपछि उनी त्यसकै भरमा दौडमा निरन्तर लागिरहिन्। भन्छिन् ‘अरु डाइटको बारेमा केही सोचिएन। किनकी मलाई यहीँ टिक्नु थियो।’

एक समय उनलाई काठमाडौ छाडेर सल्यान फर्कने सोच पनि आयो। तर गुरुको सल्लाहले अडिइन्। ‘काठमाडौंसम्म पुग्न कतिले कडा मेहनत गर्छन्। तिमी काठमाडौंमा बस्न पाएकी छौँ, अभ्यास गर्ने मैदान छ। फर्किने हैन सकेसम्म यहीँ टिक्ने हो। हरेश नखाउ भनेपछि मैले फर्किने विचार त्यागेँ’, उनले भनिन्।

त्यो समय म्याराथनमा तेस्रो चौथो भए पनि ५/१० हजार रुपैयाँ पाइन्थ्यो। खर्च जुटाउने त्यो पनि एउटा माध्यम थियो। त्यसरी दौडेर जितेको पुरस्कारको पैसाले जुत्ता किन्न र डाइट खर्च पुर्‍याउँथिन्। संघर्षका कथा त कति हो कति। जागिरे भएपछि भने उनलाई सहज भयो।
 
प्रतियोगिता आयोजना गर्ने अनि पुरस्कारको रकम खेलाडीलाई दिन नपरे हुन्थ्यो भन्ने आयोजकको कमी नरहेको उनको अनुभव छ। एकपटक सल्यानबाट ५ हजार रुपैयाँ ऋण खोजेर काठमाडौं आएकी उनले दौडमा भाग लिइन्। १० हजार रुपैयाँ जितिन्। पुरस्कार रकमले ऋण तिर्न सकिन्छ भनेर खुसी थिइन्। तर बिडम्बना उनले त्यो रकम पाइनन्। पुरस्कार बापत लिएको चेक लिएर बैंक पुग्दा के के मिलेन भनेर फर्कायो। एउटा चेक लिएर कति डुल्नु भनेर उनले पैसाको माया मारिन्। ऋण तिर्न गाह्रो भयो। अहिले पनि पुरस्कार रकमको कर काटिरहेका हुन्छन्। खेलाडीको पुरस्कारमा कर लाग्दैन भन्ने सुने पनि व्यवहारमा भने त्यो नभएको देख्दा उनलाई दुःख लाग्छ।

***

खेल जीवन कहिलेसम्म कसरी अगाडि जान्छ भन्ने बारेमा आफूले केही नसोचेकी बताउने पुष्पा शरीरले साथ दिए १० वर्ष अझै दौडन्छु भन्ने हिम्मत गर्छिन्। ओलम्पिक खेल्ने सपना उनको पनि छ। तर, पूरा हुने नहुने उनलाई थाहा छैन। ओलम्पिक नभए एसियाली खेलकुद खेल्ने उनको चाहना छ। 

उनले बिट मारिन् ‘सम्भव भएसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने हो। तर अन्न पानीको शरीर हो कहिले सम्म साथ दिन्छ के थाहा। अगाडि जे छ त्यसमा राम्रो गर्दै इतिहास बनाउन लाग्ने हो भन्नेमा दृढ छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .