ad ad

खेल


चुनौती पार गर्न असफल च्यासल

चुनौती पार गर्न असफल च्यासल

लक्ष्मी जि.सी
फागुन १३, २०७८ शुक्रबार ७:२३, काठमाडौँ

सफलताले साना तिना कमजोरीलाई छोपिदिन्छ। त्यसको ठिक उल्टो असफलताले साना तिना कमजोरी पनि ठूलो विषय बन्छन्।

एकपछि अर्को प्रश्न खडा हुन्छन्। च्यासल युथ क्लबको ए डिभिजनबाट बिदाइले त्यस्तै थुप्रै प्रश्न खडा गरेको छ। 

विदेशी खेलाडीको कोटामा नेपाली मूलका इटालियन विकास मेराग्लिया लाई अनुबन्धन गर्दै चर्चा बटुलेको च्यासल तीन वर्ष ए डिभिजन लिगको अनुभव बटुल्दै यो सिजन रेलिगेसनमा परेको छ।

स्थापनाको झण्डै ४ दशकपछि ए डिभिजनमा बढुवा भएको टोलीले तीन संस्करण खेल्दै हैसियत जोगाउन सकेन। 

सातदोबाटो युथ क्लबसँग बुधबार १–० ले पराजित भएसँगै च्यासलको ए डिभिजन यात्राले बिट मारेको छ। त्यसअघि १२ औं चरणकै खेलमा फ्रेन्ड्स क्लबसँग २–१ ले पराजित भएसँगै टोलीको रेलिगेसन तय भएको थियो।

यो सिजन लिगबाट रेलिगेसनमा पर्ने च्यासल पहिलो टोली बनेको थियो। १३ खेलबाट सम्भव ३९ अंक मध्ये च्यासलले मात्र ६ अंक जोडेको थियो। १ मात्र खेलमा जित हासिल गरेको च्यासलले ३ बराबरी र ९ खेलमा हार बेहोरेको थियो। टोलीले २२ गोल खाँदा ५ गोल मात्र फर्काउन सक्यो।  

२०७२ सालको बी डिभिजन लिगको च्याम्पियन हुँदै ए डिभिजनमा बढुवा भएको च्यासलले यसअघि २०७५, २०७६ सालको लिग खेलेको थियो। इटालीको युवा टिमबाट खेलिसकेका विकास, राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जन र राष्ट्रिय टोलीका अर्का खेलाडी कमल श्रेष्ठलाई अनुबन्धन गरेर च्यासलले लिग अघि नै चर्चा बटुलेको थियो।

बालगोपाल साहुखललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो भने युईएफए ‘बी’ लाइसेन्स प्रशिक्षक ली मेन्सनलाई टेक्निकल डाइरेक्टर नियुक्त गरेको थियो । ती सबै प्रयासले च्यासलबाट यसपटक राम्रै नतिजाको आशा गरिएको थियो। त्यसमाथि मुख्य प्रशिक्षकका भाई घरेलु फुटबलका पूर्व स्टार सन्तोष साहुखल च्यासलबाटै खेल्नकै लागि जापानबाट फर्केका थिए।

तर ती सबै प्रयास एक पछि अर्को खेलमा असफल हुँदै गए। दोस्रो खेलमा एपीएफ क्लबमाथि जित दर्ता गरे पनि त्यसपछि टोलीको प्रदर्शन ओरालो लाग्यो। विकास हुन् वा विराज, कमलबाट सोचे जस्तो प्रदर्शन भएन। सन्तोषले पनि २ खेल मात्र खेल्न भ्याए।

लिग चल्दै गर्दा मुख्य प्रशिक्षक साहुखलले पनि टोली छाडे। अन्तिम तीन खेलमा टेक्निकल डाइरेक्टर मेन्सनले टोलीको कमान सम्हाले। १२ औं खेलको नतिजापछि हारको जिम्मेवारी लिदै उनले माफी पनि मागे । 

‘प्रदर्शन कस्तो हुन्छ भन्दा पनि खेलमा गोलले फरक पार्छ। खेलमा गोल गर्नै पर्ने हुन्छ। तर हामी त्यसमै चुक्यौं। हामीले गरेका ५ गोल पनि २ गोल पेनाल्टी भएको थियो, उनले भनेका थिए, यसलाई राम्रो मान्न सकिन्न। हामीले धेरै गोल आफ्नै गल्तीमा खाएका थियौं। सिजनभर नै हामीले राम्रो खेल्न सकेनौं। हारको जिम्मेवारी लिनुपर्छ। हामी सबैले यो जिम्मेवारी लिनुपर्छ। समर्थक, बोर्डलगायत सम्बन्धित सबैसँग माफी चाहन्छौं।’

च्यासलका पूर्व अध्यक्ष दीनेश व्यञ्जनकारले टोली रेलिगेसनमा परेकोमा दुःख लागेको बताएका छन्। ‘धेरै मेहनत गरेर ए डिभिजनको यात्रा सुरु गरेका थियौं। अहिले बी डिभिजनमा झर्दा निकै दुःख लागेको छ, उनले भने, घटुवा हुँदा च्यासलबासी दुखी छौँ। पहिला सहयोग गर्ने संघ संस्था सहयोगी सबैले दुःख मनाउ गर्नुभएको छ’, उनले भने। 

क्लबमा आपसी सल्लाहको कमी रहेकाले पनि सुधार गर्न सकिने थुप्रै ठाँउ सुधार गर्न नसकिएको पूर्व अध्यक्ष व्यञ्जनकारको बुझाइ छ।

‘राम्रोसँग सल्लाह भएन। म्यानेजरलाई नै टोलीको जिम्मा दिएका थियौं। गतवर्ष पनि कोच, खेलाडी र म्यानेजमेन्टको तालमेल नमिल्दा शीर्ष ६ मा आउनुपर्ने टोली नवौ स्थानमा रह्यो। यो वर्षपनि अफिसियल, खेलाडी, कोच र म्यानेजमेन्टको तालमेल मिल्न नसक्दा यस्तो नतिजा आएको हो। आन्तरिक विवाद त थिएन। तर, संवादको कमी भने थियो। सायद त्यही कारणले यो अवस्था आयो’, उनले थपे।

च्यासलको लिग यात्रा 
२०३७ सालमा स्थापना भएको च्यासल क्लब छनोट चरण पार गर्दै २०६५ मा ‘सी’ डिभिजनमा बढुवा भएको थियो । २०६६ मा ‘सी’ डिभिजन लिगको उपविजेताको रुपमा च्यासलले ‘बी’ डिभिजनमा बढुवा भएको थियो ।

त्यसपछि सातवर्षको प्रयासपछि च्यासल ‘ए’ डिभिजनमा बढुवा भएको थियो । त्यसताको ६ वर्षमा ३ संस्करण ए डिभजन लिग खेल्दै यसपटक हैसियत जोगाउन असफल भएको थियो। 

यसपटक ए डिभिजन लिगमा च्यासलको नतिजा
च्यासलविरुद्ध थ्रीस्टार ०–३
च्यासलविरुद्ध नेपालएपीएफ फुटबल क्लब १–० 
च्यासलविरुद्ध न्युरोड टिम १–१
च्यासलविरुद्ध त्रिभुवनआर्मी फुटबल क्लब ०–२
च्यासलविरुद्ध जावलाखेल युथक्लब ०–१
च्यासलविरुद्ध हिमालयन शेर्पा क्लब १–३
च्यासलविरुद्ध संकटा क्लब ०–० 
च्यासलविरुद्ध मनाङ मस्र्याङदी क्लब ०–५ 
च्यासलविरुद्ध नेपालपुलिस क्लब १–२
च्यासलविरुद्ध मछिन्द्र फुटबल क्लब ०–२
च्यासलविरुद्ध ब्रिगेड ब्वाईज क्लब ०–० 
च्यासलविरुद्ध फेन्ड्स क्लब १–२ 
च्यासलविरुद्ध सातदोबाटा युथ क्लब ०–१

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .