१३औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन मितिसम्म सातदोबाटोस्थित तापक्रम प्रणाली (हिटिङ सिस्टम) युक्त पौडी पोखरी निर्माण सम्पन्न नहुने खतरा देखिएको छ।
सागको उद्घाटन मिति आउन ९ दिन बाँकी रहँदा पौडी पोखरी हालसम्म पनि निर्माणाधिन अवस्थामै छ। शुक्रबार अपरान्हसम्म निर्माणसम्बन्धी कुनैपनि भागले पूर्णता पाएको छैन। पौडी पोखरीमा टायल विछ्याउने काम जारी छ, छानो राख्ने ट्रसको काम नै बाँकी छ। त्यसपछि त्यसमा छानो राख्नुपर्नेछ। पोखरी बाहिरको भागमा टायल बिछ्याउनै बाँकी छ। ड्रेसिङ, अफिसियल रुमहरु निर्माणकै क्रममा छन। दर्शकहरु बस्ने फलामे प्यारापिटले पनि पूर्णता पाएको छैन। ‘फिनिसिङ’का सम्पूर्ण कामहरु बाँकी छन।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेशकुमार सिलवालले मंसिर पहिलो सातासम्म पौडी पोखरीको काम सम्पन्न हुने दाबी दोहोर्याए पनि कामको गति हेर्दा उद्घाटन समयसम्म पनि पौडी पोखरीको काम सकिनेमा पौडी संघकै पदाधिकारीहरु ढुक्क छैनन्।
निर्माणाधिन पौडी पोखरी परिसरमै भेटिएका नेपाल पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्य चिन्तित देखिन्थे। ‘यसलाई नबनाई अरु विकल्पै छैन। तर कहिले सकिन्छ भन्न सक्ने अवस्था पनि छैन,’ उनले भने।

चिसो महिनामा खेल हुने भएपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार हिटिङ सिस्टमयुक्त पौडी पोखरी आवश्यक परेको हो। २५ वर्गमिटरको यो ‘सर्ट कोर्ष’ को निर्माण कार्य २०७४ सालमै किराँतेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनीले पाएको हो। तर, तीन पटकसम्म म्याद थपिदा समेत पौडी पोखरीको कामले गति पाएको थिएन। पछिल्लो महिना भने जसरी पनि मंसिर १५ मै साग हुने भएपछि बल्ल यसको कामलाई गति दिइएको हो।
निर्माण कम्पनीका प्रबन्ध निर्देशक सनकसिंह राई अबको ७–८ दिनमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए। ‘अब ७–८ दिनमा काम नसकि सुखै छैन,’ नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘सामानहरु सबै आइसकेको छ। मंसिर १२ सम्म हस्तान्तरण गर्नेगरि हामीले चौबिसै घण्टा काम गरिरहेका छौं।’

पोखरीका लागि आवश्यक सम्पूर्ण सामानहरु आइसकेको उनले बताए। हिटिङ सिस्टम जडान भइसकेको छ। ट्रस तयार नहुँदा छानो ट्रकमै थन्किएको छ। नजिकै रहेको ३० लाख लिटर क्षमताको पूरानो पौडी पोखरीबाट पानी हाल्ने तयारी गरिएको पौडी संघका अध्यक्ष बज्राचार्यले बताए। यस पौडी पोखरीलाई दश लाख लिटर पानी चाहिन्छ।
पौडी पोखरीमा दुई दिन अघि नै टायल ओछ्याउने काम सकिएको थियो। तर टायल ओछ्याएर लम्बाई चौडाई नाप्दा भने दक्षिण र पश्चिमी किनारामा दुरी नपुग्ने भयो। सोही कारण बिहीबार पोखरीभित्र यसअघि नै ओछ्याएका टायल निकाल्न कामदारहरु व्यस्त थिए। ‘टायलको काम सक्न दुई दिन लाग्छ होला,’ बज्राचार्यले भने, ‘त्यसपछि पौडीको बाहिरी भागमा टायल लगाएसँगै पानी हाल्ने काम शुरु गर्नेछौं।’

त्यति गर्दा समेत उद्घाटन मिति मंसिर १५ सम्म पौडी पोखरी सम्पन्न हुनेमा उनी आफै ढुक्क छैनन्। त्यसो त पौडीका खेलहरु मंसिर १९ देखिमात्रै शुरु हुने भएकाले मंसिर १६ सम्म चाहिँ जसरी पनि सम्पूर्ण कामहरु सक्नैपर्ने बाध्यता उनले सुनाए।
पौडी पोखरीमा ७ देशका खेलाडीले ३८ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन। त्यसमा नेपालको पनि दाबेदारी छ। तर समयमै पौडी पोखरी निर्माण नै नसकिएपछि घरेलु पोखरी पनि नेपाली खेलाडीका लागि समेत विदेशीका लागि जस्तै विरानो बन्ने भएको छ।
अहिले नेपाली खेलाडीहरु उपत्यकाको लिंकन स्कुल तथा रविभवनमा प्रशिक्षण गरिरहेका छन्। अध्यक्ष बज्राचार्यले आफूले एक दुई दिन भएपनि खेलाडीहरुलाई यहाँ खेलाउने व्यवस्था मिलाउने प्रयास गरिरहेको बताए।

‘यसपाली हामीले विभिन्न इभेन्ट्समा स्वर्ण तथा राष्ट्रिय कीर्तिमान कायम राख्ने लक्ष्य लिएका छौं,’ उनले भने, ‘खेलाडीहरुले एकदुई दिन भएपनि यसमा खेल्न पाउन् भनेर हामीले हरसंभव प्रयास गरेका छौं।’
पौडी प्रशिक्षक इश्वर कार्की खेलाडीहरुलाई प्रतियोगिताभन्दा ५–७ दिन अघि नै पौडी पोखरी उपलब्ध गराइने जानकारी दिइए पनि त्यो अवस्था नभएको बताए। ‘पौडी पोखरी त बन्छ होला, तर खेलाडीका लागि यसअघि खुला गर्ने भनिएको समयमा नहुने देखिएको छ,’ उनले भने।


प्रतिक्रिया