ad ad

खेल


दलहरुका घोषणापत्रमा कस्तो छ खेलकुदका योजना?

दलहरुका घोषणापत्रमा कस्तो छ खेलकुदका योजना?

लक्ष्मी जि.सी
बैशाख १४, २०७९ बुधबार ७:५०, काठमाडौँ

मतदातालाई प्रभावित गर्ने उद्देश्यका साथ निर्वाचनअघि अधिकांश राजनीतिक दलले घोषणापत्र सार्वजनिक गर्ने प्रचलन छ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पनि राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन्। तर, घोषणापत्र कर्मकाण्डी मात्रै देखिन्छ।

घोषणापत्रको अध्ययन गरेर मतदाताले मत दिने अवस्था अझै बनिसकेको देखिँदैन। निर्वाचनको केही समयमात्र बाँकी रहँदा मात्र दलहरुले घोषणापत्र सार्वजनिक गर्ने हुँदा मतदाताका सम्म त्यो पुगेकै हुँदैन। अर्कोतर्फ निर्वाचित प्रतिनिधिले पनि आफू वा आफ्नो दलले जारी गरेको घोषणापत्रलाई आधार मानेर काम गर्ने गरेको अनुभव पनि कमै छन्।

त्यसमध्ये केहीले भने घोषणापत्रलाई आफ्नो कामको आधार बनाएको पाइन्छ। तर, सामान्यतया घोषणापत्रमा समेटिएका अधिकांश योजना अधुरा र अपूरा नै हुने गरेका छन्।

पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले दलहरुलाई बढी भन्दा बढी मतदातामा आफ्नो घोषणापत्र पुर्‍याउन मद्दत भने पुगेको छ। सहर वा गाउँमा विगतको मतदाताका प्रवृत्तिलाई हेर्ने हो भने स्वतन्त्र मतदाताको संख्या कम हुने गरेको छ। कुनै कुनै स्थानीय निकायमा भने स्वतन्त्र उम्मेदवारले पनि राम्रै मत प्राप्त गरेको पाइन्छ। सहर होस वा ग्रामिण भेगमा स्वतन्त्र मतदाताको संख्या कम देखिन्छ। जनतामा दलहरुको प्रभाव बलियो रहेको हुँदा घोषणापत्र नै हेरेर मतदान गर्ने दल वा उम्मेदवारको निर्णय गर्ने परम्परा बन्न सकेको छैन।

कर्मकाण्डीरुपमै आएका दलका घोषणापत्रमा खेलकुदलाई पनि समेटेको देखिन्छ। प्रमुख दलहरुले सार्वजनिक गरेको घोषणापत्रमा खेलकुदलाई दिएको महत्वलाई हामीले यहाँ प्रस्तुत गरेका छौं। 

यसपटक नेकपा माओवादी केन्द्रले भने केन्द्रबाट घोषणापत्र जारी गरेको छैन। माओवादीले त्यसको जिम्मा स्थानिय पार्टी संयन्त्रलाई नै दिएको छ। 

नेपाली कांग्रेस 
नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा खेलकुदलाई केही प्राथमिकता दिएको जस्तो देखिएको छ। नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा समेटेका खेलकुदका बुँदाहरु निम्न छन्-

१) पार्क, व्यायामशाला, रंगशाला निमार्ण कार्यलाई मूर्तरुप दिने,

२) एक स्थानीय तह एक खेलकुद मैदान,

३) क्रिकेट, फुटबल, भलिबल लगायतका खेलकुदलाई उचित प्रोत्साहन दिने,

४) खेलकुदमा लगानी भनेको स्वास्थ्यमा लगानी घटाउनु हो भन्ने बुझेर लगानी गर्ने,

५)विद्यालयको पाठ्यक्रममा खेलकुद समावेश गराउने, 

६) क्रिकेट, भलिबल, फुटबल, ब्याडमिन्टन लगायतका खेलको तालिम सञ्चालन,

७) शारीरिक, मानसिक विकासका लागि खेलकुद क्लब स्थापना 

नेकपा एमाले 

नेकपा एमालेले सार्वजनिक गरेको घोषणापत्रमा सरकारमा हुँदा गरेका कामलाई पनि आफनो घोषणापत्रमा समेट्न भ्याएको छ। नेकपा एमालेले स्थानीय तहमा ५ वर्ष अनुभव र उपलब्धिमा देशको एकमात्र अन्तराष्ट्रिय मापदण्डको दशरथ रंगशाला, पोखरा रंगशाला लगायत रंगशालाको निमार्ण गरेको उल्लेख गरेको छ। 

आगामी पाँच वर्षको योजनामा भने युवाको शारीरिक तथा मानसिक विकासका लागि खेल मैदान, कभर्ड हल तथा क्लब भवन, आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्था लगायत पूर्वाधार निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्ने भनेर उल्लेख गरेको छ। 

एकीकृत समाजवादी पार्टी

हरेक वार्डमा सबै उमेरका मानिसलाई खेलकुद र व्यायामतर्फ आकर्षित गर्न आवश्यक भौतिक संरचना निर्माण गरिनेछ।

बालबालिका तथा युवाहरूको शारीरिक र मानसिक विकासका लागि खेलकुद गतिविधिमा संलग्न हुने वातावरण सिर्जना गरिनेछ। हरेक वार्डमा साना खेल मैदान, योग केन्द्र र हरेक पालिकामा फुटबल, क्रिकेट लगायतका खेल खेल्न सकिने ठुला खेल मैदान निर्माण गरी बालबालिका तथा युवाहरूको स्वास्थ्य सुगठनमा विशेष ध्यान दिइनेछ। 

खेलाडीलाई सम्मान र पुरस्कारको व्यवस्था
सम्बन्धित पालिकामा स्थायी बसोवास भएका खेलाडीमध्ये राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलमा पदक प्राप्त गर्नेहरूलाई पदकको स्तर अनुसार निश्चित रकम पुरस्कारसहित कदरपत्र प्रदान गरिने छ। राष्ट्रिय खेलमा कम्तीमा रजत पदक र अन्तर्राष्ट्रिय स्तरको खेलमा कुनै पनि पदक प्राप्त गर्ने खेलाडीले जागिर खान चाहेमा निजलाई सम्बन्धित पालिकाले योग्यताअनुसार जागिर दिने व्यवस्था गर्नेछन्।​

जनता समाजवादी पार्टी

जनता समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनका लागि आगामी पाँच वर्षको योजना अघि सारेको छ। प्रत्येक वडामा एक फुटसलसहित एक खेलकुद मैदान बनाइनेछ। खेलकुद क्षेत्रमा लाग्न चाहने युवालाई प्रोत्साहनमूलक कार्यक्रमको व्यवस्था गरिनेछ।

राष्ट्रिय समाजवादीले आफ्नो घोषणापत्रमा समेटेका खेलकुदका केही बुँदा निम्न छन्–

क) प्रत्येक गाउँपालिकामा कम्तीमा एक खेल विधाको ग्रामीण स्तरको एक/एक खेलमैदान र रंगशाला निमार्ण गरिनेछ। 

ख) नगरपालिका, उपमहानगरपालिकामा विभिन्न खेल विधाका क्रमशः कम्तीमा तीन र पाँच सुविधासम्पन्न रंगशाला निर्माण गरिनेछ।

ग) प्रत्येक महानगरपालिकामा कम्तीमा दुई/दुई अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गरिनेछ। 

घ) अपाङ्ग, दृष्टिविहीन र फरक क्षमताका खेलाडीलाई प्रोत्साहन हुने गरी सबै पालिकामा कम्तीमा दुई/दुई वर्षमा त्यस्ता खेलाडीको खेल प्रतियोगिता सञ्चालन गरिनेछ। 

राप्रपा नेपाल 
राप्रपा नेपालले आफ्नो घोषणापत्रमा भौतिक पूर्वाधारलाई नै जोड दिएको छ। राप्रपाको घोषणापत्रमा पालिकाहरुमा ५ वर्षभित्र कम्तीमा एक खेलमैदान वा रंगशाला र कभर्ड निर्माण गरिने उल्लेख छ। यस्तै पालिकाभित्र खेलकुदको विकासको निमित्त नियमित रुपले विभिन्न खेलको प्रतियोगिता र प्रशिक्षण संचालन गर्न सम्बद्ध निकायलाई सहयोग तथा प्रोत्साहन गरिनेछ। 

बालेन शाह (स्वतन्त्र) 

स्वतन्त्र उम्मेदवार बालेन शाहले पनि आफ्नो घोषणापत्रमा खेलकुदका विषयलाई समेटेका छन्। 

१) वडा तहमा खेलकुद मैदान र खेलकुद केन्द्र निमार्ण गरिनेछ। 

२) खेलकुद र युवा सशक्तीकरणको प्रवर्द्धन गर्न बैंकहरुसँग उनीहरुको संस्थागत सामाजिक उत्तरदायित्व समावेश गर्न सहकार्य गरिनेछ। 

३) अन्तर्राष्ट्रिय खेलकुद क्लबसँगको सहकार्यमा युवा लिग आयोजना गरिनेछ। 

४) पर्यटन र अर्थशास्त्रलाई प्रत्यक्ष प्रवर्द्धन गर्न अन्तराष्ट्रिय ई–स्पोर्टस् खेलाडीहरुलाई आकर्षित गर्न अन्तर्राष्ट्रिय स्तरमा ई–स्पोर्टस् प्रतियोगिता आयोजना गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .