ad ad

खेल


विवादित अलमुताइरी, मूकदर्शक एन्फा

विवादित अलमुताइरी, मूकदर्शक एन्फा

फाइल तस्बिर


लक्ष्मी जि.सी
बैशाख १९, २०७९ सोमबार १०:१७, काठमाडौँ

नेपाली फुटबल फेरि एकपटक तरगिंत भएको छ। तर त्यो मैदानको प्रदर्शनका कारण नभई मैदान बाहिरको राजनीतिका कारण चर्चामा छ। चर्चामा भन्दा पनि नयाँ विवादमा फसेको छ।

विवादको केन्द्रमा फेरि एकपटक राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी छन्। विगतमा अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङविरुद्ध उभिएका अलमुताइरी पछिल्लो पटक भने आफूले सधै समर्थकको आलोचनाबाट जोगाउने गरेको खेलाडीसँगको विवादमा तानिएका छन्।

नेपालमा एकथरी समर्थक यस्ता पनि देखिएका छन्, जो नेपाली फुटबलको भन्दा पनि बढी अलमुताइरीको समर्थन गर्छन्। उनको आलोचना पचाउन सक्दैन। उनले आफ्नो दायरा नाघ्दा पनि साथ दिने समर्थक छन्। 

अलमुताइरीले सार्वजनिकरुपमा आफ्ना टोलीका खेलाडीको निकै बचाउ गर्ने गरेका छन्। आलोचना नै गर्नुपर्दा पनि खेलाडीको नभई आफ्नो गर्न उनी बारम्बार आग्रह गर्थे। खेलाडी पनि उनलाई सार्वजनिकरुपमै फादर फिगर भन्थे। यति गहिरो सम्बन्धमा कसरी दरार आयो? त्यसमा सबैको आ–आफ्नो बुझाइ छ। उनले नै अति नै माया गरेका खेलाडीमध्ये १० जनाले पत्रकार सम्मेलन गर्दै अलमुताइरीको प्रशिक्षणका खेल्न कठिन हुने परिस्थिति कसरी तयार भयो? त्यसतर्फ कमै ध्यान गएको देखिन्छ। अभिभावक संस्था एन्फाको नेतृत्वले प्रशिक्षक खेलाडीबीचको विवाद हुँदा तत्कालै त्यसलाई सम्बोधन गर्न सकेको देखिएन। नेतृत्व विवादलाई आन्तरिक रुपमा त्यसलाई व्यवस्थापन गर्न असफल भएको छ।   

विभिन्न कारणले विवादमा आइराख्दा सधै अलमुताइरी मात्रै सही हुन्छन् भन्ने हुँदैन। मुख्यतः घटनाक्रमलाई गहिरोसँग हेरिनु र त्यसका आधारमा समाधानको प्रयास थाल्नुपर्छ। तर त्यसमा एन्फा चनाखो देखिँदैन। कतार फुटबल संघको सहयोगमा नेपाली टोलीको प्रशिक्षण सम्हालेका कुवेती अलमुताइरी पटक–पटक एन्फा नेतृत्वमाथि नै हाबी देखिन्छन्।

खेलाडीले सार्वजनिक रुपमै प्रशिक्षकका बारेमा बोल्नु पर्ने अवस्था कसरी तयार भयो? भन्ने विषय गम्भीर छ। खेलाडीको भनाइ मान्ने हो भने एसियन कप छनोटको बन्द प्रशिक्षणमा रहेका आफूहरुलाई एन्फा होस्टल कि होटलमा राख्ने भन्ने विषयले विवादको रुप लिएको देखिन्छ। खेलाडीको सुविधाका लागि विगतमा आवाज उठाउने गरेको अलमुताइरीले यसपटक एन्फा होस्टलमै बस्न खेलाडीमाथि दबाब दिएको खेलाडीले सार्वजनिक गरेका छन्। 

होटल कि होस्टल भन्ने विषयमा टोलीको कार्यवाहक कप्तान रोहित चन्दले होटलमा बस्नुपर्छ भनेपछि त्यहाँबाट विवादको सुरुवात भएको खेलाडीको दाबी छ। त्यतिबेला रोहित एक्लैले त्यो आवाज उठाएकाले उनी अलमुताइरीको पहिलो शिकार भए र उनलाई प्रशिक्षण छाड्न भने।

पछि अन्य ९ खेलाडीले रोहितले आफूहरुको साझा भनाइलाई राखेको भनेपछि अलमुताइरी बढी चिढिएको देखिन्छ। तिमीहरु रोहितको टिमबाट खेल्ने कि मेरो टिमबाट? भन्नेसम्म अलमुताइरीले भनेको दाबी खेलाडीले गरेका छन्। जो रोहितको साथमा छ त्यो मेरो टिममा हुँदैन, तिमीहरु घर जान सक्छौ भनेपछि खेलाडीले प्रशिक्षण छाडेका थिए। यसरी प्रशिक्षण छाड्दा खेलाडीले पनि एन्फा नेतृत्वलाई भने औपचारिक जानकारी भने गराएनन्।  

खेलाडीमाथि अलमुताइरीले दबाब दिने गरेको उनीहरुको अभिव्यक्तिबाट प्रष्ट देखिन्थ्यो। न्यूनतम आवश्यकताका लागि होस्टलमा भन्दा होटलमा सहज हुने भएकै कारण आफूहरुले समान्य माग राखेको खेलाडीको भनाइ छ। त्यो विशुद्ध व्यवस्थापकीय पक्ष हो। त्यसमा अलमुताइरी पर्नुपर्ने देखिन्न। उनले त आफ्ना खेलाडीको सुविधाका लागि व्यवस्थापनसँग माग राख्नुको सट्टा उल्टो खेलाडीमाथि नै होस्टलमा बस्न बाध्य पार्न खोजेको देखिन्छ। एन्फाले अहिलेसम्म पनि घटनाका बारेमा कुनै औपचारिक जानकारी दिएको छैन। अलमुताइरीले पनि आफ्नो पक्ष राखेका छैनन्। आइतबार भने उनले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै ती १० खेलाडीलाई कारबाही नगर्न भन्दै आफ्नो टोलीमा भने उनीहरु नरहने स्पष्ट पारेका छन्। 

राष्ट्रिय टोलीमा खेलाडीलाई राख्ने नराख्ने अधिकार प्रशिक्षकमा निहीत हुन्छ। तर, प्रशिक्षकले सबै कुरामा नियन्त्रण गर्न चाहेको देखिन्छ। मिडियामा बोल्न नदिने, आफूले फेसबुकमा पोष्ट गरेका कुरा मात्र सेयर गर्न लगाउने गरेको खेलाडीले नै बताएका छन्। 

अलमुताइरीको प्रशिक्षणमा नेपाली टोलीले गत वर्ष साफ च्याम्पियनसिपको फाइनलको यात्रा तय गरेको थियो। फाइनल पुर्याउने उनी पहिलो प्रशिक्षक बनेका छन्। त्यसले उनलाई समर्थकका बीचमा थप लोकप्रिय बनाएको छ। लोकप्रिय हुनुको अर्थ उनले गरेको सबै काम सही छन् भन्ने हुँदैन। सामान्य देखिने विवादले ठूलो रुप लिँदा फुटबललाई आलोचना गर्नेलाई अर्को एउटा विषय मिलेको छ। राष्ट्रिय टोलीको नतिजाबाट केही सुखद संकेत दिएका उनी विवादबाट अलग हुनै सकेनन्। एन्फाले पनि उनलाई दायरा भित्र राख्न सकेको छैन। 

एन्फाको निर्वाचन नजिकै आइरहेकोले अलमुताइरीलाई आफूले केही गर्न नसक्ने एन्फा अध्यक्ष कर्मा छिरिङले आफूहरुलाई बताएको खेलाडीको भनाइ छ। निर्वाचनलाई बहाना बनाएर अध्यक्ष शेर्पा पन्छिन खोजेको देखिन्छ। विगतमा वरिष्ठ उपाध्यक्षसँगको उनको भूमिका त्यही नै थियो। नेतृत्वले पनि उनलाई लगाम लगाउन सक्दैन। त्यसकारण उनी कतार फुटबल संघको सहयोगमा नेपालमा छन्। 

ए डिभिजन लिग सकिएको केही समयमा नै अलमुताईरीले राष्ट्रिय टोलीको प्रशिक्षण डाक्दा संकटा क्लबका युवा प्रशिक्षक विष्णु गुरुङलाई सहायक प्रशिक्षकको रुपमा टोलीमा बोलाए। विष्णुलाई एन्फाले नभई अलमुताईरीको आग्रहमा टोलीमा समावेश गरिएको थियो। मिडियासँग बोलेका बहानामा उनले नै विष्णुलाई हटाए। उनका अनेकौं विवाद छन्। तर उनी हरेक घटनामा आफू नै सही भएको देखाउन खोज्छन्। 

यसपटक प्रशिक्षण सुरु गरेकै दिन पत्रकार सम्मेलन गरेले अलमुताइरी नेपाल एशियन कपमा छनोट हुन स्तर नपुग्ने बताइसकेका छन्। त्यो उनको रक्षात्मक चाल थियो। अहिले १० खेलाडीले राष्ट्रिय टोली छाडेपछि १७ नयाँ खेलाडी थपिसकेका छन्। प्रशिक्षण छाडेकालाई फेरि फर्काउने मुडमा उनी देखिँदैनन्। त्यसमा एन्फाको पनि सहमति देखिन्छ। खेलाडीले प्रशिक्षकका कारण सामूहिक रुपमा क्याम्प छाड्नु गम्भीर विषय भए पनि यसलाई एन्फाले सहजरुपमा लिनुले ती खेलाडी तत्काल फर्कने सम्भावना देखिँदैन। 

फेरि पनि फुटबलका सबैखाले विवादको व्यवस्थापनको जिम्मेवारी एन्फाको हो। यसमा एन्फा गम्भीर हुनैपर्छ। खेलाडीलाई अनुशासनको दायरामा राख्नुपर्नेमा दुईमत छैन। तर, त्यसका नाममा अलमुताइरीले आफैंले पनि प्रशिक्षकका दायरा भुल्न हुँदैन भनेर सचेत गराउने जिम्मेवारी एन्फाकै हो। 

निर्वाचनको बहानामा अहिलेको घटनालाई यसै छाड्नु भविष्यका लागि अझ ठूलो विवादको आधार तयार पार्नु पनि हुनसक्छ। त्यसैले समस्या पन्छाउने भन्दा पनि त्यसको सामाधानका लागि प्रयास गर्नुपर्छ। यसअघि पनि विभिन्न विषयमा पटक–पटक एन्फा नेतृत्व चुकिरहेको छ। यसमा एन्फा नेतृत्वले आत्मसमीक्षा गर्न जरुरी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .