सन् २०१३ मा तत्कालिन क्षेत्र नम्बर ३ काठमाडौँले १९ वर्षमुनिको राष्ट्रिय प्रतियोगिताको उपाधि जित्यो। १७ वर्षीय सोमपाल कामी च्याम्पियन टोलीका नायक थिए।
नेपालबाट पहिलो प्रतियोगिता खेलेका सोमपालको दुई शतक र प्रभावशाली बलिङको मद्दतमा क्षेत्र नम्बर ३ ले उपाधि उचालेको थियो। त्यही प्रदर्शनका आधारमा सोमपाल तत्कालिन राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेको नजरमा परे। दासानायकेकै मार्गदर्शनमा सोमपाल नेपालको सबैभन्दा तीव्रगतिको ट्राइक बलर पनि बने।
सही ‘लाइन एण्ड लेन्थ’ मा १ सय ४० किलोमिटर प्रतिघन्टाको दरले बलिङ फाल्ने सक्ने क्षमता त्यसबेला सोमपाल बाहेक अन्य नेपाली खेलाडीमा थिएन। त्यहीकारण छोटो समयममा नै बन्द प्रशिक्षण हुँदै सोमपालले २०१४ जनवरीमा राष्ट्रिय टोलीबाट डेब्यू गरे।
त्यसपछिको आफ्नो यात्राबारे सोमपाल सटिक वाक्यमा भन्छन्, ‘जति म खेल्दै गएँ, त्यति नै नेपालले उपलब्धि हासिल गर्दै गयो। यो सबै फर्केर हेर्दा रोमाञ्चक हुन्छ, खुशी पनि लाग्छ।’
सोमपालको डेब्यू यता नेपालले टि–२० विश्वकप हुँदै ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई)को मान्यता हासिल गर्यो। ओडिआई श्रृङ्खला खेल्यो, श्रृङ्खला जित्यो। कुनैपनि खेलमा न सोमपाल छुटे, न उनको प्रदर्शनमा नै कुनै कमी देखियो।
टी–२० अन्तर्राष्ट्रियको विश्व वरियतामा ६६औँ स्थानमा रहेका सोमपालले नेपालबाट ६ ओडिआई खेल्दै १३ विकेट लिएका छन्। नेपालका लागि ओडिआईमा ५ विकेट लिने उनी पहिलो र एक्ला खेलाडी हुन्। यो कीर्तिमान उनले २०१९ को जनवरीमा भएको यूएईविरुद्धको श्रृङ्खलाका क्रममा बनाएका थिए। उनकै योगदानको मद्दतमा नेपालले पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला नै जितेको थियो।
नेपालबाट पन्ध्र टी–२० अन्तर्राष्ट्रिय खेलेका सोमपालले १७ विकेट लिएका छन्। टी–२० अन्तर्राष्ट्रियको दशौँ नम्बरमा ब्याटिङ गर्दै सर्बाधिक रन(४०) बनाउँने विश्व कीर्तिमान पनि उनका नाममा छ।
नेपालले २०१४ मा टि–२० विश्वकप खेलेको थियो, जहाँ सोमपालले ३ खेलमा ४ विकेट लिए। नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गर्दा सोमपालको प्रदर्शन उत्कृष्ट रह्यो। दुबै खेलमा उनले २–२ विकेट लिएका थिए।
२०१८ को विश्वकप छनोट हुँदै नेपाललाई ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता दिलाउँदाका प्रमुख खेलाडी सोमपालको चर्चा अघिल्लो हप्ता ग्लोबल क्यानाडा टि–२० लिगमा अनुबन्ध भएपछि ह्वात्तै बढेको छ।
ग्लोबल टि–२० लिगको टोली ‘विनिपेग हक्स’ ले अनुबन्ध गरेसँगै सन्दीप लामिछानेपछि सोमपाल अन्तर्राष्ट्रिय व्यवसायिक फ्रेन्चाइजी लिगमा अनुबन्ध हुने नेपालका दोस्रो खेलाडी बनेका छन्। विदेशी लिगमा अनुबन्धपछि हौसिएका सोमपाल यसले आत्मविश्वास अझै बढाउने बताउँछन्।
‘क्रिकेटमा प्रदर्शन दिन आत्मविश्वास हुनुपर्छ। अहिलेसम्म नेपालमा इपीएल (एभरेष्ट प्रिमियर लिग), डीपीएल (धनगढी प्रिमियर लिग) र पीपीएल (पोखरा प्रिमियर लिग) खेलिरहेका थिए,’ सोमपालले भने, ‘बाहिर गएर अन्तर्राष्ट्रिय लेभलको लिग खेल्दा आत्मविश्वास अझै बढ्छ। त्यसले प्रदर्शन र प्लेयरलाई परिपक्क बनाउन अझै सहयोग पुर्याउँछ। त्यसैले, हिजो मेरो प्रदर्शन ८० प्रतिशत थियो भने आज सय प्रतिशत हुनेछ।’
पन्जाबबाट शुरु भएको क्रिकेट
तीनवर्षको उमेरमा गुल्मीबाट सोमपाल बुबाका साथमा भारतको पञ्जाब पुगे। त्यही उनको प्राथमिक स्कुलसँगै क्रिकेटको कखरा सुरु भयो। गल्ली क्रिकेट हुँदै सोमपाल विद्यालयको टिमसँगै मिसिए।
‘सानैदेखि टेलिभिजनमा क्रिकेट हेर्दा यस खेलतर्फ आकर्षित हुन थालेको थिएँ’, सोमपालले सुरुवाति दिन सम्झे, ‘गल्ली क्रिकेटमा ब्याटिङ र बलिङ दुबै गर्नुपर्थ्यो पछि सोहेब अख्तरको खेल हेरेपछि बलर बन्ने इच्छा जाग्यो।’
समयक्रममा आफूले पन्जाबमा उमेर समूहको खेलहरु पनि खेलेको उनी बताउँछन्।
त्यसैक्रममा एकदिन फेसबुकका साथी अर्जुन अधिकारीले ‘नेपालबाट क्रिकेट खेल्ने हो?’ भनेर सोमपाललाई म्यासेज पठाए। सोमपालले सहमति जनाए। उनले यस विषयमा आफ्नो परिवारसँग कुरा पनि गरे। सहमति पाएपछि सोमपाल अर्जुनसँगै काठमाडौँ आए। पहिलोपटक काठमाडौँ आएका सोमपाललाई अर्जुन र उनको परिवारले सहयोग गर्यो।
त्यसबेला १९ वर्षमुनिको राष्ट्रिय प्रतियोगिताका लागि क्षेत्र नम्बर ३ काठमाडौँको जिल्ला छनोट चलिरहेको थियो। त्यसमा नेपाल क्रिकेट फ्यान क्लबले पनि सहभागिता जनाएको थियो। फ्यान क्लबबाट खेल्दै सोमपालले छनौटकर्तालाई प्रभावितमात्रै पारेनन्, काठमाडौँको टोलीमा नै छानिए।
राष्ट्रिय प्रतियोगितामा काठमाडौँबाट लगातार दुई खेलमा शतक जमाएपछि सोमपाल तत्कालिन राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदुको नजरमा परेका थिए। त्यसै प्रदर्शनले उनलाई यू–१९ एसिया कपको टिममा समेत पुर्यायो।
त्यहीबेला नेपाली सिनियर टोलीले आइसीसी विश्वकप छनोटको तयारी गरिरहेको थियो। तयारीका लागि काठमाडौँमा ‘जर्नी टु वल्र्डकप’ प्रतियोगिता आयोजना भयो। उक्त प्रतियोगिताको चार खेलमा दश विकेट लिनु सोमपालको जीवनमा ‘टर्निङ प्वाइन्ट’ रह्यो । त्यस प्रदर्शनपछि सोमपालले उमेर समूहको प्रतियोगिता खेल्नु परेन। उनी सोझै राष्ट्रिय टोलीमा परे।
त्यसबेला राष्ट्रिय टोलीका तीव्रगतिका बलरहरु जीतेन्द्र मुखिया तथा अभिनाश कर्ण घाइते थिए। अर्का तीव्रगतिका बलर अमृत भट्टराई पनि भर्खरै मैदान फर्किएका थिए। मुख्य खेलाडीहरु घाइते भएकाले पनि सोमपालले चाँडै मौका पाएका थिए। तर पछि उनले आफूलाई प्रमाणित पनि गरे।
‘यति छिटै राष्ट्रिय टिममा पर्छु भन्ने त थिएन, खासमा धेरै बलरहरू इन्जुरी समस्याका कारणले पनि मैले मौका पाएको हुँ’ राष्ट्रिय टोलीका सबैभन्दा फिट खेलाडीले भने, ‘मलाई के लाग्छ भने रिजल्ट आफ्नो हातमा हुँदैन, प्रदर्शन पनि आफ्नो हातमा छैन, तर आफ्नो हातमा जे छ, त्यसमा फोकस गर्नुपर्यो। फिटनेशमा फोकस गरिरहेकै कारण पाँच वर्षदेखि निरन्तर नेपाली नेपाली टिमबाट खेलिरहेको छु।’
डेब्यूपछि नछुटेका सोमपाल
२०१४ मा भएको आइसीसी विश्वकप छनोटमा यूएईविरुद्धको खेलमा सोमपाल पहिलोपटक नेपाली जर्सीमा देखिए। तर, डेब्यू भने सोचेजस्तो भएन्। ७ ओभर बलिङ गरेका उनले कुनै विकेट पाएनन्। ‘पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्दा नर्भस थिएँ, तर पछि प्रशिक्षक र कप्तानले सम्झाउँदै निराश हुन दिएनन्’ सोमपालले कारण खुलाए।
त्यसपछि नियमित लयमा फर्किएका सोमपालले प्रतियोगितामा ८ विकेट लिए। त्यो प्रतियोगितामा नेपाली खेलाडीले लिएको विकेटमा सर्वाधिक दोस्रो बढी थियो। उनीअघि बसन्त रेग्मी एक विकेटमात्रै बढी लिएर अघि थिए। त्यस प्रदर्शनपछि सोमपाल नेपाली टोलीमा कहिलै छुटेनन्।
डेब्यूकै वर्ष सोमपालले नेपाली टोलीबाट सबैभन्दा बढी प्रतियोगिता खेले। हरेकमा उनको उत्कृष्ट प्रदर्शनले निरन्तरता पायो। सोहीवर्ष भएको टी–२० विश्वकपका तीन खेलमा चार विकेट लिए। लगत्तै भएको एसिसी प्रिमियर लिगमा १५ विकेट लिँदै उनी प्रतियोगिताको ‘वेस्ट बलर’ बने। सोही प्रतियोगितामा मलेसियाविरुद्ध उनले (१०–३–४७–५) करिअरकै उत्कृष्ट बलिङ गरे।
सोही वर्ष एसियन गेम्समा उनले मात्र २.५० को औषतमा बलिङ गर्दै ३ खेलमा ५ विकेट लिए। त्यस प्रदर्शनले उनलाई एसियन क्रिकेट काउन्सिलको प्रतियोगिताको उत्कृष्ट–११ को सूचिमा पुर्यायो। त्यसबेला नेपालबाट प्रतियोगिताको उत्कृष्ट–११ को सूचिमा पर्ने सोमपाल एक्ला खेलाडी थिए। २०१४ मै नेपालले डिभिजन ३ जित्दा सोमपालले ११ विकेट लिए।
दशौं नम्बरमा ब्याटिङको कीर्तिमान

सन् २०१४ मा टी–२० विश्वकप खेलेपछि नेपालले पहिलोपटक ‘टी–२० अन्तर्राष्ट्रिय’ को मान्यता पाएको थियो। सोहीक्रममा नोभेम्बरमा नेपालले श्रीलंकामा हङकङविरुद्ध अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने भयो। वर्षाले सुरुवाती ३ खेल रद्द भयो। तर, अन्तिम खेल हङकङले जित्यो।
तर विश्वभर चर्चा भने सोमपालको भयो। कारण, उनले दशौँ नम्बरमा ब्याटिङ गर्दै सो स्थानमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमान रचेका थिए।
१२ ओभरको खेल सकिँदा नेपाल २५–८ को दयनीय स्थितिमा थियो। दशौँ नम्बरमा ब्याटिङमा आएका सोमपालले शक्ति गौचनसँग ४३ रनको साझेदारी गर्दै टोलीलाई उकासे। सो क्रममा ३१ बलमा उनले ६ चौका र २ छक्काको मद्दतमा ४० रन बनाए, जुन अन्तर्राष्ट्रिय टि–२० प्रतियोगितामा दशौँ नम्बरका ब्याट्सम्यानले बनाएको सर्वाधिक स्कोर थियो। श्रीलंकाका प्रदीप निसान्तले सो स्थानमा यसअघि बनाएको ३७ रनको कीर्तिमान सोमपालले भंग गरिदिएका थिए।
उनले राखेको कीर्तिमान राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा मिडियामा समाचार बन्यो। सोही समाचार भारतीय टेलिभिजनमा बुबाले हेरे।
‘खेल्दा कीर्तिमान बनाउँदा भनेर खेलिन्न। माथिल्लो क्रममा राम्रो ब्याटिङ नभएपछि मेरो कीर्तिमान बनेको हो,’ सोमपाल सम्झन्छन्, ‘खेल सकिँदासम्म पनि मलाई कीर्तिमानबारे थाहा थिएन, रमन (शिवाकोटी) दाइले भनेपछि मात्रै थाहा पाएँ। पछि भारतीय टेलिभिजनबाट बुबाले पनि मेरो कीर्तिमानबारे थाहा पाउनुभएछ। उहाँले खुशी हुँदै ‘अझै राम्रो गर्दै जानु’ भन्नुभयो। त्यसले मलाई ज्यादै खुशी दिलायो।’
२०१५ मा नेपालले डिभिजन दुई खेल्यो। त्यसमा उनले ११ विकेट लिए। त्यसलगत्तै सोमपाल लगायत चार नेपाली खेलाडीलाई श्रीलंकाको कालुतुरा फिजिकल कल्चरल क्लबले इमर्जिङ ट्रफी खेल्न बोलायो। तीन दिवसीय प्रतियोगितामा ८ इनिङ खेल्दै सोमपालले ३९ विकेट लिए। २०१५ देखि २०१७ सम्म नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्यो। उक्त प्रतियोगितामा सोमपालले १५ विकेट लिए। तर, नेपाल डिभिजन दुईमा झर्यो।
पहिलो ओडिआई जितको नायक
२०१८ को फेब्रुवरीमा भएको डिभिजन–२ मा सोमपालको १० विकेटको मद्दतले नेपालले अर्को महिना भएको विश्वकप छनोटमा स्थान बनायो। छनोटको आठौँ स्थानमा रहेपछि नेपालले ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पायो।
त्यसको पाँच महिनापछि अगष्टमा नेपालले नेदरल्याण्ड्ससँग दुई खेलको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) श्रृङ्खला खेल्ने भयो। नेपालको पहिलो ओडिआई खेलमा डेब्यू गर्ने ११ जना खेलाडीमा सोमपाल एक थिए। डब्यू ओडिआईमा सोमपालले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिएपनि नेपालले खेल गुमायो।
तर, नेदरल्याण्ड्सविरुद्धको दोस्रो ओडिआईमा नेपालले रोमाञ्चक एक रनको जित निकाल्दै श्रृङ्खmा बराबरी गर्यो। नेपाली क्रिकेट इतिहासको पहिलो ओडिआई जितको नायक यिनै सोमपाल थिए। अलराउण्ड प्रदर्शन गरेका सोमपालले ब्याटिङमार्फत् ४६ बलमा ६१ तथा बलिङमा एक विकेट लिँदै ‘म्यान अफ द म्याच’ प्रदर्शन गरे।
पहिलो ओडिआई श्रृङ्खला खेलेको ५ महिनापछि पुनः नेपालले दोस्रो ओडिआई यूएईविरुद्ध खेल्यो। गत जनवरी (२०१९) मा भएको समान ३–३ खेलको ओडिआई र टि–२० दुबै श्रृङ्खला नेपालले २–१ ले आफ्नो पक्षमा पार्यो।
एकातिर नेपालले पहिलो पटक ओडिआई श्रृङ्खला जितेको थियो भने अर्कातिर सोमपालले यूएई विरुद्धको दोस्रो ओडिआईमा ५ विकेट लिँदै कीर्तिमान राखेका थिए। यसले उनलाई नेपालबाट ओडिआईमा ५ विकेट लिने पहिलो र एकमात्रै खेलाडी बनायो।
बुबालाई खुशी पार्न आइपीएल खेल्ने धोको
राष्ट्रिय टोली र घरेलु लिगमा लगातार उत्कृष्ट प्रदर्शन गरेपछि सोमपाल अघिल्लो साता ‘ग्लोबल क्यानाडा टि–२०’ मा अनुबन्धित भए, जहाँ उनले वेष्टइण्डिजका डुविन ब्रावो, दक्षिण अफ्रिकाका जेपी डुमिनी, पाकिस्तानका उमर अकमल, अष्ट्रेलियाका क्रिस लेन जस्ता स्टार खेलाडीहरुसँग ‘ड्रेसिङ रुम सेयरिङ’ गर्नेछन्।
पहिले देखि नै आफूपनि विदेशी लिग खेल्न योग्य रहेको र एकदिन अवश्य खेल्ने विश्वास सोमपालमा थियो। ‘पहिले देखि नै आइपीएल र अन्य विदेशी लिगहरु हेर्दै आएका थियौँ, कहीँ न कहीँ लाग्थ्यो कि, हामी पनि त्यो खेल्न योग्य छौँ, खेल्ने सपना पनि थियो, त्यो बल्ल पूरा भएको छ,’ सोमपालले भने, ‘यो सुरुवात हो। टोलीमा पर्छु कि पर्दिन, त्यो अवस्था हेरेर कप्तान–प्रशिक्षकले निर्धारण गर्लान्। तर, मेरो तर्फबाट अहिलेसम्म कडा मेहनत गरेको छु। त्यहाँ मौका पाउँछु र पक्कैपनि राम्रो गर्छु भन्ने लागेको छ।’
क्यानाडाको अधिकारिक टि–२० लिग रहेको यो प्रतियोगिताको दोस्रो संस्करणमा सोमपाल अनुबन्धित भएका हुन्, जहाँ विश्वका धेरै क्रिकेट हस्तीहरु एकआपसमा भिड्नेछन्। तर, पहिलेदेखि नै भारतमा बस्दै आएका सोमपालका बुबालाई भने क्रिकेटमा भारतीय टोली र लिगमा भारतको आइपीएल (इण्डियन प्रिमियर लिग) नै ठूलो लाग्छ।
त्यसैले, बुबालाई खुशी पार्नपनि एकदिन सोमपाललाई आइपीएल खेल्ने लक्ष्य छ। ‘नेपालबाट अन्तर्राष्ट्रिय लिग खेल्न दोस्रो खेलाडीका रुपमा गइरहेको छु, यो अवश्य पनि ठूलो अवसर हो,’ सोमपालले भने, ‘बुबालाई यो लिग कति ठूलो हो भन्ने ‘आइडिया’ छैन, उहाँलाई लाग्छ– आइपीएल नै सबैभन्दा ठूलो लिग हो। आशा छ, भविष्यमा आइपीएल पनि खेलेर बुबालाई खुशी पार्नेछु।’

प्रतिक्रिया