ad ad

खेल


नवौँ राष्ट्रिय खेलकुद : म्याग्दीमा खेल मैदान तयार

नवौँ राष्ट्रिय खेलकुद : म्याग्दीमा खेल मैदान तयार

नेपालखबर
असोज १८, २०७९ मंगलबार १०:१६, काठमाडौँ

म्याग्दीमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ। 

यही असोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ। जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरिएको जनाएको छ।  

समितिका अध्यक्ष दिनेश केसीले भलिबल सञ्चालन हुने बेनीको खुल्लामञ्च खेलमैदानमा दुई वटा भलिबलको कोर्ट निर्माण र प्याराफिट रङरोगन गरिएको जानकारी दिए। “खेलमैदानको ढुङ्गासहितको माटो खनेर फालेर बाहिरबाट माटो ल्याएर हाली रोलरले फेलेर सम्माएका छौँ”, उनले भने, “बेनी नगरपालिकाले बनाएको खुल्लामञ्चको प्याराफिटमा रेलिङ हालेर रङ लगाउने काम सकिएको छ।”

राखेपले पठाएको रु पाँच लाख बजेटबाट खुल्लामञ्चमा खेलमैदान तयार पारिएको हो। तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने कालीपुलको कबर्डहलमा पङ्खा, बत्ती जडान, शौचालय, शयनकक्ष मर्मत, रङरोगन र भवनअगाडि ढलान गरिएको जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक कर्ण प्रधानले बताए। 

बेनी नगरपालिकाले विनियोजन गरेको तीन लाख रुपैयाँ बजेटबाट तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने कालीपुल कबर्डहलको मर्मत गरिएको हो। प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि ११ वटा टिमका ६१७ जना म्याग्दीमा आउँदै छन्।  

होटल व्यवसायी सङ्घको समन्वयमा खेलाडीलाई राख्ने होटल व्यवस्थापन भएको छ। बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयले अतिथि सत्कार, सरसफाइ, झाँकी प्रदर्शनीका लागि विभिन्न उपसमिति बनाएर तयारी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .