ad ad

खेल


नवौँ राष्ट्रिय खेलकुद : जस लिने मौका थियो, अपजस बोकाएर सकियो

नवौँ राष्ट्रिय खेलकुद : जस लिने मौका थियो, अपजस बोकाएर सकियो

लक्ष्मी जि.सी
कात्तिक ५, २०७९ शनिबार १८:३, काठमाडौँ

देशको सबैभन्दा ठूलो खेल मेलाको रुपमा रहेको राष्ट्रिय खेलकुदको नवौं संस्करण बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भएको छ। पछिल्ला दुई संस्करणमा जस्तै राष्ट्रिय खेलकुदमा विभागीय टोलीकै दबदबा रह्यो।

१ सय ७२ स्वर्ण, १ सय १० रजत र ८९ कास्य सहित ३ सय ७१ पदक जितेर त्रिभुवन आर्मी क्लब च्याम्पियन बन्यो। अरु दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लब दोस्रो र तेस्रो स्थानमा रहे। विभागीय टोलीलाई चुनौती दिनेगरी प्रदेश खेलकुदले खेलाडी तयार पार्न कठिन रहने नवौँबाट थप प्रमाणित भएको छ। 

यसपटक केही सुखद नतिजा र आशालाग्दा खेलाडीहरुको उदय भएको छ। एथलेटिक्सकी जयरानी थारु त्यसको एक उदाहरण हुन्। अधिकांश खेलमा नयाँ प्रतिभा देखिएका छन्। 

तर, धेरै अर्थमा नवौँ राष्ट्रिय खेलकुद कर्मकाण्डी मात्र रह्यो। कमजोर व्यवस्थापन र गण्डकीवासीलाई नजरअन्दाज गरिनु सोचे अनुरुप खेलकुद सफल नहुनुको मुख्य कारण रह्यो। तुलनात्मक रुपमा काठमाडौंपछि भौतिक पूर्वाधारमा अगाडि रहेको गण्डकी त्यसमा पनि पोखरामा नवौंले सकारात्मक छाप छाड्न सकेन। 

सुरुआतदेखि नै नवौंअन्तर्गतका खेलमा विवाद, अभाव र समस्या देखिनुले यो प्रतियोगिता हतारमा आयोजना गरेको प्रष्ट हुन्छ। दसँैलगत्तै सुरु गरेर र तिहारको दुई दिनअघि सक्नुपर्ने बाध्यता किन पर्यो, चित्त बुझ्दो जवाफ राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग छैन। केही समय पछि सारेर भए पनि नवौंलाई उपलब्धिमूलक र स्मरणयोग्य बनाउने विकल्प राखेपसँग थियो। तर, नेतृत्वले त्यसतर्फ ध्यान नदिएको मात्र होइन, जसरी पनि दसैँ र तिहारकै बीचमा सक्ने योजना बनायो। जसको परिणाम राखेप जस लिन सकिने ठाँउमा आलोचित भएको छ। 

आन्तरिक खेलकुदको महाकुम्भको रुपमा लिइने राष्ट्रिय खेलकुद ३९ वर्षपछि पोखरामा आयोजना हुँदा गण्डकीवासीलाई अपनत्व महसुस गराउन राखेप नेतृत्व पूर्ण रुपमा असफल भयो। खेलसँग सम्बन्धित बाहेकको उपस्थिति उद्घाटनमा हुन सकेन। उद्घाटनको दाँजोमा समापनमा दर्शकहरुको उपस्थित रहे पनि अन्त्यसम्म उनीहरुलाई तान्ने कार्यक्रम हुन सकेन। राखेपले स्थानीयलाई बेवास्ता गरेको ओरोप खेपिरहँदा पोखरा महानगरपालिकाले समापनको दिन कात्तिक ३ गते भने दिउँसो १ बजेपछि विदा दिएर नवौंको समापनलाई सघाउन प्रयास गरेको देखियो। जुन उद्घाटनमा देख्न पाइएको थिएन। 

भन्नका लागि गण्डकी खेलकुद परिषद आयोजक भनिएपनि त्यहाँ सबै क्षेत्रमा राखेपको केन्द्रीय नेतृत्वकै भूमिका मुख्य देखिन्थ्यो। स्थानीय खेलकुदका जिम्मेवारहरुलाई न खास जिम्मा दिएको देखियो न त स्थानीय नेतृत्वले आफ्नो भूमिका स्थापित गराउन सक्यो। देश संघीय संरचनामा गइसकेको दाबी गरिए पनि खेलकुदमा त्यसको अनुभव नवौंमा हुन सकेन। खेलकुदमा केन्द्रीकृत मानसिकता नै हाबी भयो। 

राष्ट्रिय खेलकुदका उद्घाटन र समापनमा मात्र हैन प्रचारप्रसार र खेलका लागि आवश्यक सामग्रीमा पनि केन्द्र नै हाबी देखियो। पोखरामा नयाँ भौतिक पूर्वाधार बन्न सकेन। 

राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ सरकारले छुट्टाएको थियो। त्यसमध्ये उद्घाटन र समापनमा ३ करोड रुपैयाँ खर्च गरेको बताइएको छ। आतिसबाजीका लागि मात्र ९ लाख खर्च भएको समारोह समितिले जनाएको छ। नवौंको उद्घाटन र समापनका लागि प्रयोग गरिएको साउन्ड सिस्टम काठमाडौंबाटै लगिएको थियो। त्यसका लागि मात्र ६० लाख रुपैयाँ खर्च भएको छ। तर, खेल आयोजनाका लागि भने सम्बन्धित संघलाई २ लाख रुपैयाँ छुट्टाइएको थियो। अधिकांश खेलका लागि त्यो रकम पर्याप्त हुन नसकेको संघका पदाधिकारीले गुनासो गरेका छन्। 

राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन २८ गते भए पनि खेलहरु २३ गतेबाट नै सुरु भएका थिए। एक महिनाअघि नै काठमाडौँमा पुरुष क्रिकेट सम्पन्न भएको थियो। महिला क्रिकेटको पहिलो खेल नै म्याटमा खेलाउनुपरेको थियो। लगातार वर्षाका कारण पिच खेल्न योग्य नभएपछि म्याटमा खेल गर्नुपरेको थियो। 

यो पटक पनि राष्ट्रिय खेलकुद विवादबाट टाढा रहन सकेन। विवादकै कारण, फुटबल, उसु, कबड्डी, बक्सिङलगायतका खेल रोकिएका थिए। भलिबलसहित केही खेललाई छाड्ने हो भने खेलमा दर्शकको उपस्थिति रहेन। जबकि पोखरेलीहरु खेलप्रेमीका रुपमा परिचित छन्। पोखरामा आयोजना हुने ठूलासाना भलिबल, फुटबलमा पनि दर्शकको उल्लेख उपस्थिति रहने गरेको इतिहास छ। पोखरा रंगशाला वरिपरिबाहेक खासै प्रचार सामग्री पनि देखिएन। 

राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक दुखद् घटना पनि नवौँमै भयो। खेलका दौरान प्याराग्लाइडिङका खेलाडी निसिम थापाको मृत्यु भयो। जसका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को सूचना नभएसम्मका लागि प्याराग्लाइडिङ सेवामा रोक लगाएको छ।

निसिमको परिवारलाई शोकमा साथ दिने क्रममा भने राखेपले पोखरा रंगशाला हातामा उनको अर्धकदको सालिक बनाउने र मानार्थ स्वर्ण पदक दिने निर्णय गरेको छ। निसिमको मृत्यु भएपछि प्याराग्लाइडिङको अभ्यास म्याचलाई नै आधिकारिक मानेर पदक वितरण गरियो। आर्मीबाट टिम क्रसकन्ट्री विधामा सहभागी टोलीले रजत पदक जिते पनि उनलाई सम्मान स्वरुप स्वर्ण पदक दिएको छ। 

राष्ट्रिय खेलकुदकै बीचमा चोट लागेका भलिबल खेलाडीलाई उपचारका लागि सहयोग संकलन भइरहेको दृश्य पनि पोखरामा देखियो। भलिबल खेलका क्रममा एकै दिन तीन खेलाडीलाई चोट लाग्यो। एकपछि अर्को खेलमा खेलाडी घाइते हुन थालेपछि म्याट नै निकालेर खेल गराउनुपर्ने अवस्था आएको थियो। 

केही खेलका लागि तोबिएको स्थान खेल सुरु गर्ने अघिल्लो दिन मात्र तयारीमा आयोजक जुटेको थियो। हक्कीका महिला र पुरुषतर्फका दुवै खेल तोकिएको समयमा सुरु हुन सकेन। मैदानमा व्यवस्थापनमा ढिलाइ हुँदा बिहान ७ बजेका लागि तोकिएको खेल साढे १२ बजेपछि मात्र सुरु भयो। मैदान खेल्न योग्य नहुँदा अर्को दिनको खेल पनि नियमित समयमा सुरु हुन पाएन। 

आर्चरीको खेल सामग्री समयमा नै नआउँदा पुराना टार्गेट फेस र टार्गेट बोर्ड प्रयोग गरिएको थियो। सम्बन्धित निकायलाई समयमा नै ध्यानाकर्षण गराउँदा पनि वास्ता नगरेपछि पुरानै सामग्रीको प्रयोग गर्नुपर्ने बाध्यता आर्चरीले भोग्नुपर्यो। 

समयमा नै खेलाडीले किट नपाउँदा केही खेलका खेलाडीले राष्ट्रिय टोलीमा प्रयोग गर्ने गरेको जर्सी नै लगाएर खेल दृश्य पनि देखियो। 

नवौँमार्फत पहिलो पटक विभिन्न खेलका खेलाडीको एन्टी डोपिङ परीक्षण गरियो। ४० खेलाडीको एन्टी डोपिङ परीक्षणले खेलाडी मात्र आउने दिनमा सर्ककता रहने विश्वास गर्न सकिन्छ। 

निर्वाचनको मुखैमा राष्ट्रिय खेलकुद आयोजना गर्दा यसले जति चर्चा र स्थान पाउनुपर्ने हो, त्यो पाउन सकेन। राष्ट्रिय खेलकुद खेलाडीका लागि एउटा ठूलो अवसर हो। नयाँ प्रतिभा र च्याम्पियन जन्मने थलो पनि हो। पर्याप्त तयारीका लागि समय नदिनु र हतारमा गरिएको आयोजनाले राष्ट्रिय खेलकुदको मर्ममा प्रहार भएको छ। कम्तीमा मानसिक र शारीरिक रुपमा तयार भएर ठूलो खेल मेलामा उपस्थित हुन पाउने खेलाडीको हकको सम्मान हुन जरुरी छ। 

यसरी खेल र खेलाडीलाई बिर्सिएर राजनीतिक स्वार्थका लागि खेलकुद आयोजना गर्ने हो भने जुन लक्ष्य लिएर राष्ट्रिय खेलकुद सुरु भएको थियो त्यो अधुरै रहनेमा कुनै शंका छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .