कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिग फुटबलमा उपाधि दाबेदार मानिएका दुई टोली च्यासल युवा क्लब र मछिन्द्र क्लबले बराबरी गर्दै अंक बाँडेका छन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी गर्दै अंक बाँडेका हुन्।
खेलको २८औं मिनेटमा च्यासलका कप्तान सन्तोष साहुखलले अग्रता बनाए पनि ८८औं मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले बराबरी गोल फर्काए। पेनाल्टी क्षेत्रबाट तामाङको प्रहार गोलमा परिणत भएको थियो।
पहिलो खेलमा जित दर्ता गरेका दुवै टोलीको समान ४ अंक छ। लिगको पहिलो खेलमा सहज जित दर्ता गरेका दुवै टोली उपाधिका मुख्य दाबेदारका रुपमा उभिएका छन्।
शुक्रबार नै हुने अर्को खेलमा ललितपुरे डर्बीमा ब्रिगेड ब्वाईज र फ्रेण्ड्स क्लब आमनेसामने हुँदै छन्। खेल दिउँसो ३ बजे दशरथ रगंशालामा हुनेछ। दुवै टोली पहिलो अंक जोड्न प्रयासरत हुनेछन्।
ब्रिगेड ब्वाइज पहिलो खेलमा पराजित भएपछि पहिलो अंक जोड्न संघर्षरत छ। फ्रेन्ड्सले पनि आर्मीसँग २–० को हार व्यहोर्दै लिगमा खराब सुरुवात गरेको थियो।
Shares

प्रतिक्रिया