आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस! प्रेमिल जोडीको लागि प्रेम व्यक्त गर्ने दिन!
अन्य दिनमा प्रेम प्रस्ताव राख्न नसक्नेहरुले आज प्रेम प्रस्ताव राखेर यो दिनमा माया साटासाट गर्ने विश्वास गरिन्छ। आजको दिन सबैले आ–आफ्नो तरिकाले प्रेम प्रस्ताव राखिरहेका हुन्छन्। प्रेमिल मन र जोडीहरुका लागि आज विशेष मानिन्छ।
त्यसो त आज युवा वर्गले सम्झने दिन हो। उनीहरुको लागि त्यसकारणले पनि आज खास दिन हो। खेल क्षेत्रमा ‘भ्यालेन्टाइन ब्वाई’ले चिनिने करण केसी पनि आजको दिनलाई विशेष रुपमा सम्झिन्छन्।
आजकै दिन थियो– सन् २०१८ को वर्ष करणले सम्झनालायक प्रदर्शन गरेको त्यो इनिङ्स। कमैले बिर्से होलान्! जसले नेपाललाई एक दिवसीय मान्यताप्राप्त देशको पगरी गुथाइदिएको।
अरुले भुलिसकेकै भए पनि अन्तिम ओभरसम्म मैदानमा डटेर नेपाललाई एक दिवसीय मान्यता दिलाएका करणले बिर्सिएका छैनन्।
नामिबियामा क्यानडाविरुद्ध नेपाल पराजित भएको भए रेलिगेसनमा पर्दै डिभिजन ३ मा घटुवा हुन्थ्यो। क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले १ सय ४४ रन बनाउँदा ९ खेलाडी पवेलियन फर्किसकेका थिए। १ विकेटको क्षति नेपालकै लागि भारी पर्नेवाला थियो।
४८ बलमा ५१ रन बनाउनुपर्ने चुनौती, टाढाको जित्ने सम्भावना। क्रिजमा करण केसीको प्रवेशसँगै जोगिएर रन बटुल्ने पर्खाल खडा थियो।
उनी आत्तिएनन्, बरु सम्हालिए। साथमा अलिकति आक्रोश मनमनै लिएर करणले ३१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। उनले बटुलेको ४२ रन नेपाललाई महत्वपूर्ण जित दिलाउन काफी रह्यो। वाउ!
निष्ठुर समय यो पटक पनि बल्झिएको छ। नेपाली क्रिकेट एक दिवसीय मान्यता जोगाउन संघर्षमा होमिएको छ। प्रेम दिवसकै दिन आज नेपालले घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डसँग एक दिवसीय त्रिकोणात्मक शृंखला खेल्दै छ।
नेपालले आज नामिबियासँग खेल्दै सिरिजको शृंखला उद्घाटन गर्दै छ। त्यसकारण आज धेरै दर्शकको नजर करणमाथि हुनेछ।
‘...त्यो हेर्दा खुसी लाग्छ!’
त्यसो त करण आफैँलाई पनि आजको दिन खास लाग्छ।
‘यो दिनमा समर्थकहरुले सामाजिक सञ्जालमा पोष्ट गरिराखेका हुन्छन्’, उनी भन्छन्, ‘त्यो हेर्दा खुसी लाग्छ!’
आफ्नो जन्मदिनभन्दा पनि यो दिन विशेष लाग्ने गरेको सुनाउँछन् उनी।
‘यो दिन मान्छेहरुले सम्झिराखेका हुन्छन्। अरु दिनमा पनि धेरैले यही भनिराखेका हुन्छन्’, करण सुनाउँछन्।
त्यो बेलामा पनि एक दिवसीयका लागि नै रहेको र अहिले पनि त्यही अवस्था रहेको उनलाई राम्रोसँग थाहा छ।
‘दुवै अवस्था यस्तै हो। तर पहिला टोलीमा सिनियर खेलाडी भएकाले उहाँहरु ब्याकअपमा थिए’, करण थप्छन्, ‘तर अहिले त म सिनियर छु।’
त्यसो हुँदा उनले ‘केही प्रेसर’ (दबाब) महशुस गरेका छन्। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता बचाउन टिमलाई कसरी लैजाने भन्ने नै रहेको उनले बताए। यसका बाबजुद एक दिवसीय मान्यता जोगिनेमा ढुक्क छन् करण।
प्रतिक्रिया