आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले मंगलबार नामिबियाविरुद्ध कीर्तिमानी जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले १४ बलअगावै ८ विकेटको क्षतिमा भेट्टायो।
आईसीसी लिग २ मा नामिबियालाई पहिलोपटक हराउने क्रममा नेपालले एक दिवसीय त्रिकेटमा सर्वाधिक विशाल रनको योगफल भेट्टाएको हो।
घरेलु समर्थकको न्यानो साथ पाएको नेपाली टोलीमा करिब ६ महिनापछि स्पिनर सन्दीप लामिछानेले पुनरागमन गरे। पुनरागमन खेलमा दोस्रो बलमै विकेट झारेका सन्दीपले मैदानमा आँशु झार्दै भावुक बनेका थिए। ११औँ ओभरमा बलिङमा आएका सन्दीपले दोस्रो बलमा विकेट लिएका थिए। उनले समग्रमा ३ विकेट लिए।
आईसीसी लिग २ वन डे मा नामिबिया तेस्रो स्थानमा छ। नेपाल भने एक एक दिवसीय वरीयता जोगाउन संर्घषरत छ।
घरेलु मैदानमा नामिबियालाई हराउँदा त्रिवि मैदानमा बनेका केही कीर्तिमानको चर्चा गरौँ।
विशाल योगफल पूरा
नामिबियाविरुद्ध जित हासिल गर्ने क्रममा नेपालले ओडीआईमा पूरा गरेको यो सर्वाधिक विशाल योगफल हो।
नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले १४ बलअगावै ८ विकेट गुमाएर भेट्टायो।
नेपालले यसअघि सन् २०१९ मा यूएईविरुद्ध तेस्रो एक दिवसीय खेलमा २ सय ५५ रनको लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाएको थियो।
कुशल र रोहितको कीर्तिमानी साझेदारी
घरेलु मैदानमा नेपाललाई जित दिलाउने क्रममा ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेलले शतकीय साझेदारी गरे।
तेस्रो विकेटका लागि कुशल र रोहितले १ सय ३३ रनको शतकीय साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराएका थिए। जुन साझेदारी नेपालका लागि कुनै पनि विकेटका लागि गरेको उच्च साझेदारी हो।
यसअघि सन् २०२२ मा घरेलु मैदानमा भएको पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडीआई खेलमा देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १ सय २३ रनको साझेदारी गरेका थिए।
कप्तान रोहितको १ हजार रन
नेपाललाई ऐतिहासिक जित दिलाउने क्रममा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले ७२ रनको महत्त्वपूर्ण योगदान दिए। रोहितले ५५ रन बनाउँदा एक दिवसीयमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बने।
सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध राष्ट्रिय टोलीमा डेब्यु गरेका रोहितले ३३ खेलमा ६ अर्धशतकसहित १ हजार १७ रन बनाएका छन्। खेलपछि कप्तान रोहितले १ हजार रन पूरा गर्दा खुसी लागेको सुनाए। आफ्नो करियरमा कति रन हान्न सक्छु भनेर योजना बनाइसके पनि अहिले नै त्यसबारे चर्चा नगर्ने उनले बताए।
कुशलको कीर्तिमानी शतक
ओपनर कुशल भुर्तेल एक दिवसीय खेलमा शतक हान्ने पहिलो ओपनर हुन्। यसअघि आसिफ शेखले हानेको ९० रन नै ओडीआईमा नेपालका लागि ओपनरले हानेको सर्वाधिक रन थियो। आशिफले सन् २०१९ मा ओमानविरुद्ध ९० रन हानेका थिए।
नेपाललाई जित दिलाउने क्रममा कुशलले आफ्नो करियरकै पहिलो शतक पूरा गरेका हुन्।
ओडीआईमा नेपालको यो चौथो शतक हो। यसअघि पारस खड्काले २०१९ मा यूएईविरुद्ध १ सय ९ बलमा १ सय १५ रन बनाएका थिए। रोहित पौडेलले १ सय २६ रन हानेका थिए। यस्तै दीपेन्द्रसिंह ऐरीले १ सय ५ रन हानेका थिए।
ओडीआई र टी २० दुवै फर्म्याटमा शतक प्रहार गर्ने कुशल तेस्रा खेलाडी हुन्। यसअघि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले दुवै फर्म्याटमा शतक हानेका थिए।
करणको कीर्तिमानी ५ विकेट
फेबु्रअरी १४ करण केसीका लागि विशेष रहने गर्छ। भयालेन्टाइन डे अर्थात् करण केसी डे मा उनको प्रर्दशन सधैँ सम्झन लायक हुन्छ।
भ्यालेन्टाइन ब्वाई करण केसीले आजको खेलमा पनि ५ विकेट लिँदै कीर्तिमानी प्रर्दशन गरे। नामिबियाविरुद्ध ५ विकेट माथि लिने क्रममा करण नेपालबाट ओडीआई क्रिकेटमा तीनपटक पाँच विकेट लिने पहिलो खेलाडी बने।
करणले गत वर्ष पनि ओमानविरुद्ध समान पाँच विकेट झारेका थिए। नेपालबाट ओडीआईमा करणपछि सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एकपटक ५/५ विकेट लिएका छन्।
प्रतिक्रिया