शुक्रबारदेखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिग फुटबलका लागि अहिलेसम्म मुख्य प्रायोजक भेटिएको छैन।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिगका लागि मुख्य प्रायोजकको खोजी गरिरहे पनि अहिलेसम्म टुंगो नलागेको प्रवक्ता सुरेश शाहले जानकारी दिए।
‘अहिलेसम्म पनि हामी लिगको मुख्य प्रायोजकको खोजीमै छौँ, आजसम्म निर्णय हुने आशा गरेका छौँ’, प्रायोजक नपाए पनि खोजीमा नै रहेको प्रवक्ता शाहले भने।
वि.सं. २०५४ सालदेखि ए डिभिजन लिगका लागि एन्फाले मुख्य प्रायोजक राख्न सुरु गरेको थियो। लिगलाई व्यावसायिक बनाउनका लागि एन्फाले मुख्य प्रायोजक खोज्न थालेको थियो। एन्फाले पहिलो पटक प्रायोजकविना नै लिग गर्न लागेको हो।
लिग सुरु भएपछि २०७२ सालमा आएको महाभूकम्पपछि लिग बीचमा रोकिएको थियो। भूकम्पले दशरथ रंगशाला भत्किएपछि लिग पुनः सुरु हुनसकेको थिएन।
बीचमा रोकिएको लिग २०७५ मा विना रेलिगेसन भएको थियो। त्यो बेलामा लिगलाई पल्सरले प्रायोजन गरेको थियो। त्यसपछि लिगलाई कतार एयरवेजले प्रायोजन गरेको थियो।
तर यो पटक भने मुख्य प्रायोजकविना नै एन्फाले लिग गराउने तरखर गरेको छ। यसअघि लिग सुरु हुनुअघि नै मुख्य प्रायोजक घोषणा गर्ने एन्फाले यो पटक लिग सुरु हुने अघिल्लो दिनसम्म पनि घोषणा गर्नसकेको छैन।
डबल राउन्ड रोबिनमा हुने लिगका लागि एन्फाले पहिलो चरणको खेल तालिका सार्वजनिक गरिसकेको छ। यो पटकका लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्सको खेल मैदान र च्यासल मैदानमा गरी ३ स्थानमा खेल हुनेछ।
लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र खुमलटार युथ क्लब भिड्ने छन्। दशरथ रंगशालामा हुने पहिलो खेल भोलि शुक्रबार साँझ साढे ५ बजे सुरु हुनेछ। खुमलटार र चर्च ब्वाईज युथ क्लब ए डिभिजनमा बढुवा भएका क्लह हुन्। उनीहरुले लिगमा डेब्यु खेल खेल्नेछन्।
लिगको दोस्रो खेलमा शनिबार तीन खेल हुनेछ। लिगको पहिलो चरणमा ९१ खेल हुनेछ। १८२ खेलमध्ये लिगको आधा खेलको प्रत्यक्ष प्रसारण हुनेछ। पाँच राउन्डसम्मका खेलको तालिका सार्वजनिक गरिसकेको छ।
प्रतिक्रिया