सबै अन्योल चिर्दै सहिद स्मारक ए डिभिजन लिग आज (शुक्रबार)देखि सुरु हुँदै छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्व अन्तर्संघर्षमा गाजिँदै गर्दा लिग सुरु हुनलागेको हो।
असार पहिलो साता नयाँ कार्यसमिति आएसँगै फुटबलमा सुखद दिनको आशा राखिए पनि सुरुबाटै अनेक विवाद देखियो।
एन्फाले लिग सुरु गर्नै नसक्ने आशंका बढायो। तर त्यसलाई चिर्दै अघिल्लो संस्करणको लिग सम्पन्न भएको एक वर्षपछि अन्ततः लिग सुरु भएको छ।
सुरु हुनलागेको यो वर्षको लिगले धेरै खेलाडीलाई ‘मिस’ गर्नेछ। यो बीचमा ए डिभिजन लिग खेलेकै दुई दर्जन बढी खेलाडी विदेशिएका छन्। अधिकांश अस्ट्रेलिया पुगेका छन्। राष्ट्रिय टोलीका नियमित सदस्य विशाल राई त्यसको पछिल्लो उदाहरण हुन्।
त्यसअघि राष्ट्रिय टोलीसहितका विदेशिएका अधिकांश खेलाडीले अघिल्लो वर्षको लिग खेलेका थिए। एकै पटक यति धेरै खेलाडी विदेशिँदा त्यसको असर लिगको प्रदर्शनमा पक्का देखिनेछ।
थोरै फर्किए, धेरै विदेशिए
पछिल्लो समय विदेशिएकामध्ये रेजिन सुब्बा स्वदेश फर्केका छन् भने केही वर्षयता अस्ट्रेलिया बस्दै आएका जगजित श्रेष्ठ लगातार दोस्रो वर्ष आर्मीबाट लिग खेल्न फर्केका छन्। तर, विदेशिएका अन्य खेलाडी तत्काल फर्किने संकेत छैन।
तीमध्येका एक हुन् रवि थिङ। लामो समय एपीएफ फुटबल क्लबमा रहेका उनी अस्ट्रेलिया पुगेका छन्। विदेशिने सबै खेलाडीको उही गुनासो छ– देशभित्र फुटबलको प्रतियोगिता हुन छाडेपछि नियमित आम्दानीको स्रोत भएन।
विभागबाहेकका खेलाडीको त्यो गुनासो स्वाभाविक भए पनि विभागमै भएका खेलाडी पनि विदेशिन थालेका छन्। रवि त्यसैमध्येका एक हुन्। तथापि सबैका आफ्नै कथा छन्।
सात वर्ष एपीएफमा रहँदा रविले गत वर्ष लिगमा त्यही क्लबबाट सबै खेल खेले। जसमा उनले ३ गोल पनि गरेका थिए। १८ वर्षकै उमेरमा एपीएफमा आबद्ध उनले पनि उज्ज्वल भविष्यको सपनासहित देश छाडेका हुन्।
केही साताअघिको कुराकानीमा उनले भनेका थिए, ‘विभागको जागिरले आफ्नो लागि मात्र ठिक्क हुने। घरको जिम्मेवारी बढ्दै गएपछि विकल्प खोज्नैपर्ने हुँदो रहेछ। सोही कारण आफूलाई सबैभन्दा मन पर्ने खेल छाडेर पनि हिँड्नुपर्यो।’
विदेशिनुलाई उनी रहर कम बाध्यता बढी मान्छन्।
‘विदेशिने इच्छा त थिएन त के गर्नु रहरले मात्र नहुने रहेछ! फुटबल खेल्नका लागि घरबाट हिँडेको थिए, फुटबल नै खेलिरहन्छु भन्ने नै थियो’, उनले भने, ‘मैले फुटबल खेलेको हेर्ने आमाबुवाको सपना थियो। तर बाध्यताको अगाडि रहरले मात्र सधैँ टिक्न गाह्रो हुने रहेछ।’
एन्फाको आन्तरिक द्वन्द्वले पनि उनीमा अन्य खेलाडीको जस्तै केही निराशा जागेको बुझ्न सकिन्छ। जसले नियमित खेल हुनेमा शंका नै बढाउने काम गर्यो। यता पारिवारिक जिम्मेवारीबाट पनि उनी भाग्न सक्दैनथे।
उमेर बढ्दै जाँदा जिम्मेवारी पनि बढ्ने रहेछ। घरको एक्लो छोरो। घरमा बुवा र बहिनी छन्। आफ्नो आम्दानीले मात्र घर चलाउने अवस्था थिएन। सधैँ बुवाबाटै घर व्यवहार मिलाउने आशा राख्नु उनलाई ठीक लागेन। त्यसैले उनले घरमा सबैलाई सुख दिन सकिएला भनेरै प्रिय खेल छाडेर विदेशिने निर्णय लिए।
हेटौंडा उपमहानगरपालिका १५, पदमपोखरीका रवि सानैबाट फुटबल खेल्थे। उनले गृहनगरमा इन्टरनेट, विजयलालसा अनि एफसी पतालाबाट खेले। त्यही क्रममा उनी १८ वर्षको उमेरमा एपीएफमा आबद्ध भए। त्यसअघि काठमाडौंमा भएको यू–१६ छनोट खेले। तर असफल भए। रविलाई त्यो बेलाको अनुभव अहिले पनि नराम्रो लाग्छ।
‘त्यो बेला हात यसो उचाल्न लगाएर जाँचेजस्तो गरे अनि बढी उमेर भयो भनेर फर्काए’, उनी भन्छन्।
रवि आफूलाई जस्तो नयाँ पुस्तालाई अन्याय नहोस् भन्ने आशा राख्छन्।
‘अहिले मेरो त त्यो उमेर रहेन। खेलाडी छनोट गर्दा आफ्नो होइन राम्रो मान्छे परून्’, उनको चाहना छ, ‘छनोटमा उसको पृष्ठभूमि होइन खेल कौशललाई हेरियोस्! मैले भोगेको पीडा अरुले भोग्न नपरोस्! या त तिमीले राम्रो खेल्न सकेनौँ भन्नुपर्यो। नत्र हात उचालेको भरमा उमेर बढी भयो भनेर फाल्न ठीक हुन्न।’
अनुमान होइन तर्क सही हुनपर्नेमा उनको जोड छ। प्रशिक्षकहरुले पनि सही निर्णय लिनुपर्ने उनको सुझाव छ।
विदेश यात्रा : रविकै रहर
विदेश जाने निर्णय रविको आफ्नै थियो। यद्यपि सुरुमा विदेश जाने मोह नभएको उनी बताउँछन्।
‘घरबाट पनि दबाब थिएन। बुवा सधैँ खेल्नुपर्छ भन्नुहुन्थ्यो’, उनले थपे, ‘सानो छँदा आफ्नो बाइक पछाडि राखेर बुवाले नै मलाई फुटबल खेल्न लानुहुन्थ्यो।’
बसमा यात्रा गर्दा उनलाई वाकवाक लाग्ने भएर छोराको रहर पूरा गर्न बुबा आफैँ पुर्याउन जान्थे।
त्यसो त कुनै बेला उनलाई पढेर जापान जाने सोच नआएको होइन। तर त्यहाँ पनि आफ्नो मान्छेलाई मात्र राम्रो ठाउँमा पारिन्छ भन्ने सुनेकोले जान मन नलागेको उनी बताउँछन्। त्यसपछि उनले विदेश जाने निर्णय नै त्यागिदिए।
तर अर्को एक दिनको प्रसंगले भने फेरि उनलाई विदेश जानुपर्छ भन्ने सोच आयो।
‘एक दिन एक जना दाइको छोरीको पास्नीको निम्ता मान्न पुगेको थिएँ। क्लबका सिनियर दाइहरुको कुरा सुनेँ– यतिका वर्ष जागिर खाइयो केही छैन। अब छाडौँ भने माया लाग्छ’, रवि बहकिए, ‘त्यो सुनेपछि लाग्यो– भविष्यमा त्यस्तै निराशा आउन सक्छ। दाइहरुको त्यो कुरा धेरै दिनसम्म मनमा खेलिरह्यो। अनि विदेश हिड्ने निर्णयमा पुगेँ।’
हुन त उनको नियमित पारिश्रमिक आउने ठाउँ थियो। तर सबै साथीको त्यस्तो थिएन। ‘साथीहरु पैसा छैन भनेको बेला बेला सुन्थेँ’, उनी भन्छन्।
रविले कुनै दिन राष्ट्रिय टोलीबाट खेल्ने सपना देखेका थिए। त्यसलाई छाडिदिए।
भविष्यका अगाडि उनलाई राष्ट्रिय टोलीबाट खेल्ने सपना गौण लाग्यो। बाहिर गएर एक पटक जोखिम मोल्नुपर्छ भन्ने सोचिरहेका बेला अस्ट्रेलियाबाट फुटबल खेल्ने अफर नै आएपछि आफूलाई रोक्न सकेनन्। खेल्ने अनि काम पनि गर्ने योजनासहित उनी अस्ट्रेलिया हानिए।
विदेश पुग्ने अधिकांशको कथा रविसँग मिल्दोजुल्दो छ। अस्ट्रेलियामा नेपालीहरुले गठन गरेका कतिपय क्लबको निमन्त्रणमा पनि नेपाली खेलाडीहरु त्यहाँ पुगेका छन्।
उनी रोयल वेष्टर्न एफसीबाट फुटबल खेल्छन्। उनका अनुसार रोयल लिग २ मा छनोट भएको छ।
‘तत्काल स्वदेश फर्किने सोच छैन’
सुन्दर भविष्यको आशामा विदेशिएका रविको तत्काल स्वदेश फर्किने सोच छैन।
‘परिवार छाडेर आइहालेँ। कति बस्छु त थाहा छैन तर तत्काल फर्कने योजना पनि छैन’, उनी भन्छन्।
नेपालबाट खेलाडी विदेशिएका समाचार उनले पनि सुन्ने र पढ्ने गरेका छन्। त्यो सुन्दा खुसी नलागेको बताउँछन् रवि।
‘तर, भन्न केही मिल्ने अवस्था छैन। कारण म पनि त्यसरी नै विदेशिएको हुँ’, उनले भने, ‘एउटा खेलाडी आफ्नो देशमा धेरै गर्छु भनेर खेलमा नै समर्पित भएर लाग्छ, फुटबल फिजिकल गेम भएकोले खेलाडीले फिटनेसमा पनि त्यतिकै ध्यान दिनपर्छ। तर त्यो सजिलो छैन।’
एउटा खेलाडीले निकै मिहिनेत गरेर आफूलाई योग्य बनाउने उनी बताउँछन्।
लगातार खेलाडी विदेशिँदा त्यसको असर नयाँ पुस्तामा पर्नसक्ने उनको आकलन छ।
‘हामीले देशमै राम्रो गर्न सकेको भए नयाँ खेलाडीलाई पनि मोटिभेट गर्न सक्थ्यौँ होला’, उनी थप्छन्, ‘आफूले छाडेर हिँडेपछि अरुलाई भन्ने ठाँउ पनि रहेन।’
रवि स्वदेशका भाइहरुसँग बेलाबखत कुराकानी गर्छन्। तर उनीहरुलाई दिने जवाफ नभएको उनी सुनाउँछन्। ‘भाइहरुले १२ कक्षा सकाएर आउँछु भन्छन्। उनीहरुलाई नआऊ भन्न सक्दिनँ’, उनले भने, ‘नआऊ भनौँ तपाईं किन जानुभयो नि भनेर सोध्छन्।’
कस्तो छ नेपाल र अस्ट्रेलियाको ‘फुटबल कल्चर’?
रवि अस्ट्रेलिया पुगेर फुटबलमा समाहित भइसकेका छन्। योबीचमा उनले नेपाल र अस्ट्रेलियाको फुटबल प्रशिक्षणमा फरक अनुभूति गरेका छन्।
‘हाम्रोमा र यहाँ प्रशिक्षण फरक हुने रहेछ। हामीले एक महिनामा गर्ने जतिको अभ्यास त एकै दिनमा हुने जस्तो लाग्यो’, उनी भन्छन्, ‘तालिकाअनुसार नै दैनिक प्रशिक्षण हुन्छ। पूर्वनिर्धारित योजनाअनुसार सबै अघि बढ्छ।’
नेपालमा हुँदा मासिक ३० हजार रुपैयाँको आसपासमा बुझ्ने पारिश्रमिकले तत्कालका लागि मात्र पुग्ने रविको अनुभव छ।
‘तत्कालका ठीकै भए पनि भविष्यका लागि सोच्दा आशा गर्ने ठाँउ नै भएन। जिम्मेवारी बढ्दै जाँदा दुख बढ्ने रहेछ’, उनले भने।
अस्ट्रेलिया जानुअघि रविले क्लबमा जानकारी गराएका थिए। भविष्य राम्रो हुन्छ भने जाऊ भन्ने सुझाव पाए। आर्थिक कारणले नै मनमा अनेक तर्क आउने उनको अनुभव थियो।
‘जति धेरै खेल्न पायो व्यस्त भयो दिमागमा केही आउन्नथ्यो। तर पछिल्लो समय खेल हुन छाड्यो’, उनले भने, ‘खेल भइरहँदा व्यस्त भइन्थ्यो दिमागमा खेलबाहेक अरु केही आउँदैनथ्यो।’
खेल नहुँदा उनलाई भविष्यको चिन्ताले सताउने गथ्र्यो। हुन लागेको खेल रोकिँदा झन् बढी चिन्ता लाग्ने, खेल्न पनि नपाइने र सोचेजस्तो कमाइ पनि नहुँदा विदेश मोहले उनलाई तानेको थियो।
युवापुस्ताका रोलमोडल नै विदेशतिर
पछिल्लो समय विदेश पुग्नेमा राष्ट्रिय टोलीका खेलाडी पनि छन्। त्यसमा कतिपय त युवा पुस्ताका रोलमोडल छन्।
उनीहरु पनि विदेशिँदा नयाँ पुस्तामा समेत निराशा बढ्ने निश्चित छ। अस्ट्रेलिया पुग्ने सबैको अवस्था उस्तै नरहेको रविले सुनाए।
उनले भने, ‘सुरुमा एयरपोर्टमा छिर्दा दुःख लागेको थियो। क्लबलाई लिग र नकआउट उपाधि दिलाउने र एक दिन राष्ट्रिय टोलीबाट खेल्ने सपना थियो। ती सबै छाडेर आउँदा दुःख लाग्ने रहेछ!’
आफूभन्दा सिनियर खेलाडीले पनि देश छाड्नुपर्ने परिस्थिति देखेपछि उनका लागि चित्त बुझाउने बाटो बनेको छ।
‘देशका लागि नै खेलेका खेलाडीले छाडेर हिँड्नुपर्दा कत्ति दुःख लागेको होला’, रविको अनुमान छ, ‘देशलाई साफ च्याम्पियनसिप जिताउँछन्। अरु प्रतियोगितामा राम्रो गर्छु भन्ने थियो होला। त्यो सबै बिर्सिएर हिँड्नुपर्यो। त्यस्तोमा कसलाई खुसी लाग्ला र!’
अस्ट्रेलियामा खेल समयबाहेक रविलाई अरु साथीसँग भेट्ने समय खासै मिल्दैन।
विदामा साथीहरुसँग भेट हुँदा देशकै फुटबलबारे कुरा हुने उनी बताउँछन्।
‘अनि यो पनि आएछ त्यो पनि आएछ भन्छौँ। विदेशिनुपरेको पीडामा कहिलेकाहीँ ठट्टा हुँदा किन आएको भन्ने प्रसंग चल्छ’, उनले भने, ‘धेरैको जवाफ उस्तै हुन्छ। कमाउन, सेटल हुन अनि बुढो हुन। अधिकांशले त्यही भनाइ दोहो¥याउँछन्।’
रवि स्टेट २ क्लब एल्भियन फुटबल क्लबमा आबद्ध हुने आशामा छन्।
‘प्रि–सिजनमा खेल हेर्छु भनेका छन्। यहाँ गाह्रो र व्यस्त समय छ’, आफ्नो दैनिकी सुनाउँदै उनले भने, ‘व्यस्त भइन्छ। उठ्यो काममा गयो, प्रशिक्षण गर्ने ठाउँसम्म पुग्न ७० मिनेट लाग्छ। नेपालमा जस्तो सजिलो छैन।’
राजन गुरुङ, मिक्छेन तामाङ उनका रुममेट हुन्। उनीहरुसँग पनि खाना खाने बेलामात्र भेट हुन्छ। अरु खेलाडीले नि देश छाडेको चर्चा गर्ने रवि बताउँछन्।
‘अरुजस्तै म पनि करियर बनाउनका लागि घर छाडेर हिँडेँ’, उनी भन्छन्, ‘एपीएफ पुगेँ। अहिले अस्ट्रेलियामा छु। के थाहा यहाँबाट पनि नयाँ गन्तव्य रोज्नुपर्छ कि!’
प्रतिक्रिया