मोन्टी देसाईले मुख्य प्रशिक्षकका रुपमा क्रिकेट टोली सम्हाल्दा नेपाल आइसीसी विश्वकप लिग–२ छनोट मात्रै होइन, एक दिवसीय (ओडिआई) मान्यता पनि संकटमा थियो।
फागुनको सुरुवातमा त्यो अवस्थामा रहेको नेपालको अवस्था अहिले पूरै बदलिएको छ। यो एक महिनालाई हेर्ने हो भने क्रिकेट टोली बेजोड लयमा छ।
मोन्टीले सम्हाल्नुअघि लिग २ मा नेपालले २४ खेल खेलिसकेको थियो। त्यसमा ८ जित र १४ मा हारसहित १८ अंकका साथ सात टोलीमध्ये छैटौं स्थानमा थियो।
शीर्ष तीनमा पर्न नेपालले बाँकी १२ मध्ये अधिकांश खेल जित्नुपर्ने अवस्था थियो। शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन मात्रै ९ खेल जित्नुपर्ने समीकरण थियो।
फागुन सुरुमा धेरैलाई लागेको थियो लिग २ को अंकतालिकामा शीर्ष ३ मा रहँदै विश्वकप छनोटमा पर्न त कठिन छ। यस्तोमा ओडिआई मान्यता जोगिए त्यही ठूलो उपलब्धि हुने तर्क क्रिकेटप्रेमीहरु गरिरहेका थिए।
विश्वास गुमाइरहेको क्रिकेट टोली पछिल्लो समय उच्च लयमा फर्किएको छ। लिग २ का पछिल्ला ११ मध्ये नेपालले १० खेल जितिसकेको छ।
अहिले कीर्तिपुरमा नेपाल, यूएई र पपुवा न्यूगिनीबीच लिग २ कै त्रिकोणात्मक श्रृखंला चलिरहेको छ। जारी सिजनको दोस्रो खेलमा यूएईलाई हराउँदै नेपालले ओडिआई मान्यता जोगाइसकेको छ।
अब टोलीको अन्तिम लक्ष्य भनेको बिहीबार फेरि युएईलाई हराउँदै सिधै विश्वकप छनोटमा पुग्नु हुनेछ। त्यसअर्थ भोलिको खेल नेपालका लागि फाइनलसरह हुनेछ।
पछिल्लो तीन सिरिजले नेपाली टोलीप्रतिको धारणा नै फेरिएको छ। २ सय रनमाथिको लक्ष्य भेट्टाउन मुश्किल पर्ने टोलीले अहिले सहजै २ सय ७५ वा त्योभन्दा बढीको लक्ष्य आरामले पूरा गर्ने अवस्थामा छ।
लगातार सफलताको श्रेय खेलाडी र प्रशिक्षक देसाईलाई जान्छ। केही अघिसम्म खेलाडीबीचको विवाद पनि सतहमा सुनिने गरेको थियो।
यद्यपि सार्वजनिक रुपमा त्यसलाई कसैलाई स्वीकारेका थिएनन्। आन्तरिक विवादको असर टोलीको प्रदर्शनमा परेको मान्नेहरु पनि धेरै थिए।
तर, अब परिस्थिति बदलिएको छ। खेलाडीहरु उत्साहित देखिएका छन्। कप्तान रोहित पौडेलले प्रशिक्षक देसाईको आगमनले टोलीमा सकारात्मक माहोल ल्याएको बताएका छन्।
गुलसन झाले देसाईले बिनादबाब खुलेर खेल्न प्रेरित गरेकै कारण मनोबल बढेको बताएका छन्। यतिबाटै अनुमान गर्न सकिन्छ टोलीभित्र साँच्चै सकारात्मक वातावरण तयार भएको छ। देसाईले टोलीको प्रशिक्षण सम्हाल्दा भनेका थिए, ‘नेपाली टोलीमा प्रतिभाको कमी छैन। मानसिक रुपमा मात्रै बलियो बनाउन जरुरी छ।’
देसाईले भने जस्तै अहिले हाम्रा खेलाडी मानसिक रुपमा बलिया देखिएका छन्। मनोबल उच्च भएर खेलाडीहरुमा आत्मविश्वास पनि बढेको छ।
यतिबेला नेपाली टोलीले सामूहिक प्रदर्शन गरिरहेको छ। हरेक खेलमा नयाँ चुनौतीलाई पार गर्दै टिमका सबै सदस्यले सम्झनलायक प्रर्दशन गरिरहेका छन्।
हरेक खेलमा फरक खेलाडी चम्किरहेका छन्। ओपनिङ जोडी कुशल भुर्तेल र आशिफ शेख फेरि लयमा देखिएका छन्। बीचमा केही खस्के जस्तो देखिए पनि उनीहरुको जोडी अहिले पुरानै लयमा छ। मध्यक्रमका ब्याटरले पनि राम्रो गरिरहेका छन्। बलिङमा पनि फरक फरक खेलाडी चलिरहेका छन्।
आइसीसी लिग २ को यात्रामा देसाई अघि नेपाली टोलीको प्रशिक्षण ४ प्रशिक्षकले सम्हाले। उमेश पट्वाल, डेभ ह्वाटमोर, पुवुदु दसानायके र मनोज प्रभाकरले टोलीको नेतृत्व गरेका थिए।
देसाईको नेतृत्व भने छोटो समयमै सम्झनलायक बनेको छ। डेभ ह्वाटमोरले ओपनिङ जोडीका रुपमा कुशल र आशिफलाई जमाए। देसाईले प्रशिक्षण सम्हालेपछि नेपालले यूएईसँग उसकै मैदानमा एक मात्रै खेलमा हार भोग्यो।
लिग २ कै बीचमा क्रिकेटर सन्दीप लामिछानेमाथि नाबालिग बलात्कार आरोप लागेपछि क्यानले उनलाई कप्तानबाट निलम्बन गर्यो। त्यसपछि रोहित पौडेलले कप्तानको जिम्मेवारी पाए।
कप्तान रोहित आफैँ पनि लयमा छन्। उनले अहिले कप्तानी पारी खेलिरहेका छन्। यद्यपि आफ्नै कप्तानीमा टोलीले उच्च प्रदर्शन गरेको मान्न उनी तयार छैनन्।
‘मेरो कप्तानीमाभन्दा टोलीका साथीहरुको कारण सम्भव भएको हो,’ कीर्तिपुर मैदानमा यूएईलाई हराएपछि उनले भनेका थिए, ‘टोलीका सबै खेलाडीले राम्रो प्रर्दशन गरेकाले मेरो कप्तानी पनि राम्रो देखिएको हो। मैले मात्रै केही गरेको छैन। अरु खेलाडी नखेलिदिएको भए यो सम्भव हुँदैनथ्यो।
लिग २ मा नेपालको यात्रा
नेपालले सन् २०२० को फेब्रुअरीमा घरेलु मैदानमा ओमान र अमेरिकासँग खेल्दै लिग २ को त्रिकोणात्मक सिरिजको सुरुवात गरेको थियो। अहिले पिएनजी र यूएईसँग खेल्दै घरेलु मैदानमै लिग २ को यात्रा अन्त्य गर्दैछ।
नेपालले गत डिसेम्बरसम्मका लिग २ का खेलमा बिर्सनलायक प्रर्दशन गरेको थियो। डिसेम्बरअघि नेपाली टोलीले लिग २ का १४ खेलमा हार भोग्दा ८ खेलमा जित निकालेको थियो। जसमध्ये एक खेल बिनानतिजा सकिएको थियो।
लिग २ को अंक तालिकामा स्कटल्याण्डले ५० अंक जोड्दै च्याम्पियन बनेर विश्वकप छनोट सुरक्षित गरिसकेको छ। ओमान पनि ४४ अंककासाथ दोस्रो स्थानमा रहँदै विश्व कप छनोटमा पुगिसकेको छ।
सिधै छनोटमा जान बाँकी एक स्थानका लागि नेपाल र नामिबियाबीच प्रतिस्पर्धा छ। लिग २ का सबै खेल खेलिसकेको नामिबिया ३९ अंकसहित तेस्रो स्थानमा छ। एक खेल कम खेलेको नेपाल ३८ अंकसहित चौथो स्थानमा छ।
बिहीबार यूएईसँगको अन्तिम खेलमा पराजित भए वा कारणवश अंक बाँड्नु पर्ने अवस्था आए सोझै विश्वकप छनोट खेल्ने नेपालको सपना अधुरै रहने छ। त्यसैले नेपालसामु स्पष्ट जितको विकल्प छैन।
नेपाल पराजित भए वा अंक बाँड्नुपर्ने अवस्था आए नामिबियाले विश्वकप छनोटमा स्थान बनाउनेछ।
त्यो भएमा लिग २ को पुछारमा रहने टोली तथा नेपाल र नामिबियामध्ये एक तथा अमेरिका, यूएई र पीएनजीले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ।
प्लेअफमा लिग २ का पुछारका चार टोली र च्यालेन्जर्स कपबाट आएका क्यानडा र जर्सीले स्पर्धा गर्नेछन्।
लिग २ को शीर्ष ३ मा रहने टोलीले सुपर लिगको पुछारमा रहने ५ टोलीसँग विश्वकप छनोटमा खेल्नेछन्।
प्रतिक्रिया