आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई डिएल मेथडबाट हरायो। नेपालले यूएईलाई ९ रनले पराजित गर्दै ग्लोबल छनोटमा स्थान पक्का गरिसकेको छ।
अब आगामी जुन जुलाईमा जिम्बाबेमा हुने विश्वकप छनोट नेपालले खेल्नेछ। विश्वकप छनोट १८ जुनदेखि ९ जुलाइसम्म हुनेछ।
विश्वकप छनोटमा १० टोलीले ३४ खेल खेल्नेछन्। विश्वकप छनोटमा सुपर लिगका पुछारका ५ टोली, लिग २ का शीर्ष ३ टोली तथा प्लेअफबाट दुई टोली गरि १० टोलीले खेल्नेछन्।
विश्वकपमा आयोजकसहित सुपर लिगका शीर्ष सात टोली र विश्वकप छनोटबाट शीर्ष २ टोली गरी १० टोलीले खेल्नेछन्।
सन् २०१९ देखि २०२३ सम्म चलेको लिग २ मा ओमानका विलाल खानले सर्वाधिक विकेट लिए। विलाल लिग २ का ३५ खेलमा ७६ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा छन्।
सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष सातमा नेपालका दुई खेलाडीले स्थान बनाएका छन्। सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने छन्। सन्दीपले ३१ खेलको ३० इनिङ्समा ७२ विकेट लिएका छन्।
नेपालकै तीब्र गतिका बलर करण केसी सर्वाधिक विकेट लिने खेलाडीको छैटौँ स्थानमा छन्। करणले ३० खेलमा ५० विकेट लिएका छन्।
यसैबीच नेपालका लागि सर्वाधिक विकेट लिने पाँच खेलाडीको चर्चा यहाँ गरिएको छ।
सन्दीप लामिछाने
स्पिनर सन्दीप लामिछाने लिग २ मा नेपालको तर्फबाट सर्वाधिक विकेट लिने पहिलो खेलाडी हुन्। सन्दीपले ३१ खेलमा २८२ ओभर बलिङ गर्दा १ हजार १ सय ४२ रन दिए।
१८ मेडन राखेका सन्दीपको इकोनमी ४.०४ रहेको छ। सन्दीपले पाँच पटक चार विकेट र दुई पटक पाँच विकेट लिए। सन्दीपले लिग २ को अन्तिम खेलमा दुई विकेट लिएको भए ओडिआईमा सर्वाधिक छिटो १ सय विकेट लिँदै विश्व कीर्तिमान कायम गर्ने थिए। उनी सो विश्व कीर्तिमान कायम गर्न १ विकेट पछि छन्।
करण केसी
लिग २ मा ५० विकेट लिएका तीब्र गतिका बलर करण केसी सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो स्थानमा छन्।
करणले ३० खेलमा २१५.५ ओभरमा १ हजार १ सय ३ रन खर्चे। १५ ओभर मेडन राखेका करणको इकोनोमी ४.०४ रह्यो। करणले लिग २ का तीन खेलमा पाँच विकेट झारे। त्यति नै खेलमा चार विकेट लिए।
सोमपाल कामी
तीब्र गतिका बलर सोमपाल कामीले लिग २ का ३१ खेलमा ३६ विकेट लिए। २२८.३ ओभर गरेका सोमपालले १ हजार १ सय ११ रन दिए। २० मेडन राखेका सोमपालको इकोनोमी ४.८६ रह्यो। लिग २ मा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सोमपाल १६ औं नम्बरमा छन्।
दीपेन्द्रसिंह ऐरी
अलराउन्डर दीपेन्द्रसिंह ऐरीले लिग २ मा २३ विकेट लिए। १९४.२ ओभर बलिङ गरेका दिपेन्द्रले २३ विकेट लिन ७ सय ३३ रन खर्चे। ८ मेडन राखेका दिपेन्द्रको इकोनोमी ३.७७ रह्यो।
कुशल मल्ल
बायाँ हाते स्पिनर कुशल मल्लले लिग २ मा १६ विकेट लिए। कुशलले १८ खेलमा १ सय १० ओभर बलिङ गर्दा ५ मेडन राखे। १६ विकेट लिदा कुशलले ५ सय २ रन खर्चे। उनको इकोनमी ४.५६ रह्यो।
यस्तै, लिग २ मा नेपालका ललित राजवंशीले १५ र सुसन भारीले १४ विकेट लिए। गुलसन झाले सात, मोहम्मद आदिल आलमले ६ र सागर ढकालले ४ विकेट लिए। शरद भेषावकर, बसिर अहमद र विक्रम सोबले समान २ विकेट लिए। ज्ञानेन्द्र मल्ल, प्रतिश जिसी, पवन सर्राफ र कुशल भुर्तेलले एक एक विकेट आफ्नो नाममा गर्न सफल भए।
प्रतिक्रिया