ad ad

खेल


...अनि सुजलले देश छाडे

...अनि सुजलले देश छाडे

नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सु्जल श्रेष्ठ। तस्बिर : नेपालखबर


लक्ष्मी जि.सी
चैत १०, २०७९ शुक्रबार ८:५५, काठमाडौँ

तीन वर्षअघि, २०७६ मंसिरमा नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली पुरुष फुटबल टिमको कप्तान थिए सुजल श्रेष्ठ। सुजलकै कप्तानीमा नेपालले उपाधि जितेको थियो।

एक दशकभन्दा लामो समय राष्ट्रिय फुटबल टोलीमा बिताएका उनी अन्तत: सन्यास घोषणा गरेर पलायन भएका छन्। फुटबल करियरबाट सन्यास घोषणा गरी उनले बिहीबार देश छाडे।

सुजलसँगै राष्ट्रिय टिमबाट खेलिसकेका रजिन धिमाल पनि अष्ट्रेलिया लागे। अझै विदेशिने तयारीमा रहेका फुटबल खेलाडीको सूची  लामै छ।

पछिल्लो समय एकपछि अर्का फुटबल खेलाडी बाहिरिने क्रम चलिरहँदा सुजल पनि त्यसको हिस्सा बने। खेलाडी पलायनलाई निरुत्सान गर्न घरेलु फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) होस् वा समग्र खेलकुदको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग कुनै ठोस योजना छैन। फुटबल खेलाडीलाई स्वदेशमै सम्भावना देखाउन एन्फा असफल देखिन्छ भन्दा अतिसंयुक्ति हुँदैन। 

सन् २०११ मा पोखरामा भुटानविरुद्ध खेल्दै सुजलले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए।

२०१६ मा मलेसियामा एएफसी सोलिडारिटी कप जित्दा मकाउविरुद्धको खेलमा सुजलले नै गोल गरेका थिए। तीन वर्षअघि घरेलु मैदानमा भएको १३ औँ सागमा आफ्नै कप्तानीमा नेपालले उपाधि जितेपछि दंग थिए सुजन। भन्छन्, 'त्यो मेरो जीवनको अविष्मरणीय क्षण थियो।'

क्लब फुटबलमा आफ्नो कप्तानीमा मनाङ मर्स्याङ्दी र मछिन्द्र फुटबल क्लबलाई दुई पटक ए डिभिजन लिग च्याम्पियन बनाएका सुजलसँग विदेशिनुपर्दा केही गुनासो भने छैन। ३१ वर्षीय सुजल भन्छन्, 'मेरो लागि खेल जीवन सकियो। लामो समय मैले राष्ट्रिय टिममा बिताएँ, अब नयाँ खेलाडीले मौका पाउनुपर्छ।'

अन्तराष्ट्रिय र क्लब फुटबलको जीवनबाट आफु सन्तुष्ट रहेका उनी नयाँ खेलाडीलाई मौका दिनका लागि आफू बाहिर जान लागेको बताउँछन्। तर खेलाडीको पलायनलाई देशले रोक्न नसकेकोमा  उनी चिन्तित छन्।

आफूले खेल्नुपर्ने खेलिसकेको बताउने उनी नयाँका लागि पनि सम्भावना नदेख्दा दुखी हुन्छन्। भन्छन्, 'मैले पाउनुपर्ने पाइसकेँ। खेल्नुपर्ने खेलिसकेँ। तर व्यवसायिक खेल सुरु गर्दै गरेका र राष्ट्रिय टोलीबाट खेल्ने प्रचूर सम्भावना बोकेका खेलाडी पनि विदेशिनुपर्दा दु:ख लाग्छ।' 

खेलाडी विदेशिनु एन्फा र राष्ट्रले गरेको लगानी खेर गएको उनको बुझाइ छ। तर निरास हुनुपर्ने अवस्था भने नरहेको उनी बताउँछन्। 'पुराना बिदा हुने र नयाँ आउने, यो नियमित चल्ने प्रक्रिया हो,' उनले भने, 'नेपालमा फुटबल खेलाडीको कमी छैन, सिनियर खेलाडी विदेशिनु नयाँ खेलाडीका लागि राम्रो मौका हो।' 

यो नयाँ खेलाडीका लागि चम्किने मौका भएको उनी बताउँछन्। धनकुटाबाट राष्ट्रिय टिमको कप्तानीसम्मको यात्रा गरेका उनी भने्छन्, 'सुरुवाती दिनमा राष्ट्रिय टिमबाट खेलौँला भन्ने मैले सोचेको थिइनँ। फुटबलबाट सोचेभन्दा बढी पाएको छु।'

पलायन हुँदैगर्दा पनि फुटबलप्रतिको उनको मोह भने पूर्ण भंग भइसकेको होइन। कुनै न कुनै रुपमा फुटबलमा सक्रिय रहने उनको योजना छ। उनले अष्ट्रेलियामा बेनी एफसीबाट फुटबल खेल्नेछन्। फुटबललाई जिवन मान्ने सुजल भविष्यमा फुटबल एकेडेमी वा व्यवस्थापनमा फर्कने सम्भावना रहेको बताउँछन्। 

एन्फाका केही पदाधिकारीले औपचारिक सन्यासका लागि पहल गर्न सुजललाई सल्लाह नगरेका होइनन्। तर, सुजललाई त्यस्तो गर्न सही लागेन। सामान्य घोषणासँगै अन्तर्राष्ट्रिय फुटबलबाट विश्राम लिन उचित सम्झिए। अन्तर्राष्ट्रिय खेलाडीले पनि सामान्य ढंगले सन्यासको घोषणा गरेको प्रसंग कोट्याउँदै उनले भने, 'मेरो धारणा कतिलाई मन नपर्न पनि सक्छ। मैदानमा बिदाइ लिनुपर्ने संस्कार पनि परिवर्तन हुनुपर्छ जस्तो लाग्छ। सबैलाई त्यो गर्न सम्भव पनि नहुन सक्छ।'

जीवनलाई अनिश्चितताको बाटो मान्ने उनी पैसा कमाउनका लागि फुटबल कहिल्यै नखेलेको बताउँछन्। 'देशको झण्डा छातीमा राखेर खेल्न पाउनु गर्वको विषय हो।'

तर खेलेर आर्थिक उपार्जन हुनेमा पनि शंका नभएको उनी प्रष्ट पार्छन्। खेलेर के हुन्छ ? भन्नेलाई उनको सरल जवाफ छ, 'खेलेर राम्रो कमाउन सकिन्छ, क्लब फुटबलबाट पनि राम्रो आम्दानी हुन्छ।'

जाँदाजाँदै उनले भने, 'सोलिडारिटी कप र साग जित्दा होस् वा मछिन्द्रलाई लिग च्याम्पियन बनाउँदा ती क्षण मेरा लागि अविस्मरणीय छन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .