नेपाली फुटबल छोडेर खेलाडीहरु पछिल्लो समय वैदेशिक रोजगारीमा जाने क्रम तीव्र बनिरहेको छ।
कतिले फुटबलमा आफ्नो भविष्य नदेखेर विदेशिएका छन् भने कति पारिवारिक कारण बाहिर गएका छन्। यसरी अहिलेसम्म झण्डै ५० खेलाडी विदेशिइसके।
तीमध्ये ४१ खेलाडी यो वर्ष मात्र वैदेशिक रोजगारीका लागि हिँडेका छन्।
त्यसो त वैदेशिक रोजगारीलाई आफ्नो गन्तव्य बनाउने खेलाडी मात्र छैनन्। अन्य क्षेत्रका पनि बाहिरिएका छन्।
खेलकुदमै पनि अन्य खेलका खेलाडी पनि विदेश गइरहेका छन् तर चर्चा फुटबल खेलाडीकै बढी हुने गर्छ। विदेशिएका अधिकांश खेलाडीको रोजाइ अष्ट्रेलिया बन्यो।
केही खेलाडी खाडी देश पुगे त केहीले युरोपियन देशलाई आफ्नो गन्तव्य बनाए।
फुटबलभन्दा भिसा प्यारो
पछिल्लो समय राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका सुजल श्रेष्ठले पनि अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाए।
सुजलसँगै राष्ट्रिय टोलीकै रजिन धिमाल र सरोज दाहाल पनि बाहिरिए। वैदेशिक रोजगारीलाई गन्तव्य बनाउँदै गर्दा सुजलले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरे।
केहीअघि घरेलु गतिविधि शून्य रहेको भन्दै बाहिरिएका खेलाडी पछिल्लो समय लिग चलिरहँदा पनि बाहिरिने क्रम चलिरहेको छ।
कति खेलाडी अझै भिसा पर्खिरहेका छन्। यसले पनि नेपालमा फुटबल गतिविधि नभएर मात्र खेलाडी विदेशिएका हुन् भन्ने आकलनलाई गलत साबित गरिदिएको छ।
विदेशिएकामध्ये जगजित श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब) र रेजिन सुब्बा (एफसी खुमलटार) लिग खेल्न फर्किएका थिए।
सहिद स्मारक ए डिभिजन लिगको सुरुवातमा नै अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले विदेशिएका खेलाडीलाई लिग खेल्न फर्किन आग्रह गरेका थिए। विदेशिएका खेलाडीलाई एन्फाले फुटबल खेल्न फर्किन गरेको आग्रह सम्भवतः पहिलो थियो।
घरेलु लिगले पनि रोकेन
राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राई, डिफेन्डरद्वय दीनेश राजवंशी र गौतम श्रेष्ठ तथा मिडफिल्डर तेज तामाङ पनि अष्ट्रेलिया पुगे।
त्यसअघि नितिन थापा र रञ्जन विष्टले पनि अष्ट्रेलियाकै बाटो रोजे। कतिपय खेलाडी लिगका लागि भनेर क्लबमा आबद्ध पनि भएका थिए।
क्लबहरु लिगको तयारीमा जुटिरहँदा उनीहरुका खेलाडी विदेश पलायन हुनुले फुटबलप्रति खेलाडीको मोह घटेको वा वैदेशिक मोहले तानेको मान्न सकिन्छ।
खेलाडी लगातार विदेशिएको विषयमा विगतमा ओठे जवाफ फर्काउने गरेको एन्फा नेतृत्वले खेलाडीलाई स्वदेशमा सम्भावना देखाउन नसकेको सत्य हो।
देशको प्रतिनिधित्व छाडेर विदेशका नेपालीको क्लबमा
घरेलु फुटबल र राष्ट्रिय टोलीको सदस्य हुनुको शानलाई छाडेर खेलाडीले विदेशमा रहेका नेपालीले स्थापना गरेको क्लबहरुबाट खेल्न उपुयक्त सम्झे।
पछिल्लो पटक विदेशिने अझ त्यसमा पनि अष्ट्रेलिया जाने अधिकांश खेलाडी नेपालीहरुले स्थापना गरेको क्लबको निमन्त्रणमा पुगेका छन्।
फुटबल खेलाडी विदेशिनु एक खालको ट्रेन्डकै रुपमा देखिएको छ। यो १ वर्षमा ४१ खेलाडी विदेशिएका छन्। एन्फाले खेलाडीलाई बन्देज लगाउन सक्दैन। तर यता ए डिभिजन लिग भइरहँदा पनि खेलाडी रोकिन किन चाहेनन्? त्यसमा मन्थन भएको छैन।
देशभित्र आम्दानीका हिसाबले अन्य खेलभन्दा फुटबल, क्रिकेट अगाडि आउँछ। विभागमा रहेका खेलाडीको नियमित आम्दानीको स्रोत तलब हो।
अन्य खेल र विभागबाहेकका खेलाडीले खेलेर पैसा कमाउने अवस्था छैन। तर, विदेशिने खेलाडीमा कतिपय विभागमै आबद्ध खेलाडी पनि छन्।
नियमित तलबले मात्र पनि खेलाडीलाई रोक्न सकिन्न भन्ने उदाहरण यसले देखाउँछ। हरेक मान्छेका आआफ्ना सपना हुन्छन् र तिनलाई पूरा गर्न कोशिस पनि गर्छन। यो त नियमित प्रक्रिया भयो।
कसरी रोक्ने विदेश पलायन?
राष्ट्रिय टोलीबाट खेलिसकेका र क्लब फुटबलबाट पनि राम्रै आम्दानी गर्दै आएका खेलाडीको विदेश पलायन त रोक्न सकिन्न भने अन्य खेलका खेलाडीलाई रोक्न त्यसै पनि कठिन छ।
खेलाडीले सक्रिय खेल जीवन नै छाडेर विदेशिनु भनेको त्यो खेल र देशकै खेलकुदका लागि घाटा हो।
एउटा खेलाडी तयार हुन वर्षौँ लाग्छ। ४ वर्षअघि मात्र राष्ट्रिय टोलीमा रहेका सन्तोष तामाङ र गत वर्षबाट मात्र पर्न थालेका दर्शन गुरुङले खेलेर भविष्य नदेख्नुले पनि घरेलु फुटबलको अवस्थालाई उजागर गर्छ।
पटक–पटक राष्ट्रिय टोलीबाट खेलिसकेका विभिन्न खेलका थुप्रै खेलाडी अमेरिकामा छन्। अष्ट्रेलिया, युरोप, अमेरिका नै खेलाडीको गन्तव्य हुने गरेको छ। ती देशमा जान सम्भव नहुने खेलाडीहरुको रोजाइ अन्य एसियाली मुलुक हुने गरेको छ।
अहिलेसम्म कति राष्ट्रिय खेलाडी विदेशिए भन्ने तथ्याङ्क कोहीसँग छैन। खेलकुदको अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) पनि यसमा अनभिज्ञ छ।
नेतृत्व परिवर्तनले पनि यदि फुटबल खेलाडीमा विश्वास जगाउन सक्दैन भने त्यो असफलता नै हो। फुटबल वा कुनै पनि खेल भाषण वा कागजमा होइन मैदानमा खेलिनुपर्छ।
त्यसले मात्र खेलाडी र खेलसँग जोडिएकाहरुमा विश्वास पैदा गर्न सकिन्छ। त्यसले नै खेलाडीलाई खेलको विकल्प खोज्नबाट रोक्न सक्छ।
‘स्वदेशमै बस्नुहोस्, हामी वातावरण बनाउँछौँ’
तर, यसपटक जसरी फुटबल खेलाडी विदेशिएका छन्। त्यसले भविष्यप्रति गम्भीर प्रश्न खडा भएको छ।
व्यावसायिक फुटबलको विकासका कुरा गरेर नथाक्ने एन्फाको अगाडि हरेक साताजसो खेलाडी विदेशिनुले नेतृत्वमाथिको अविश्वासका रुपमा पनि लिन सकिन्छ।
खेलाडीहरु एन्फा पदाधिकारीसँग व्यक्तिगत रुपमा भेट्दा पनि उत्साहीभन्दा बढी निराश हुने गरेको चर्चा पनि सुन्ने गरिएको छ। नेतृत्वले फुटबल खेलमा आबद्ध सबैमा आशा जागृत गराउन नसकेको सत्य हो। देशभित्र पनि फुटबलमा भविष्य छ भन्ने सन्देश दिन एन्फा चुकिरहेको छ।
त्यसैले एन्फा नेतृत्व कहिले विदेशी जाने खेलाडीलाई रोक्न सकिन्न भन्छ त कहिले आफैँ फुटबल खेल्न स्वदेश फर्किन आह्वान गर्छ।
एन्फा महासचिव किरण राई भन्छन्, ‘खेलाडी विदेशिनु दुःखद कुरा हो। देशको लागि केही गर्छु भन्ने खेलाडीलाई फुटबलबाट देशमा बस्ने वातावरण बनाउने प्रयत्न एन्फाको सधैँ रहन्छ।’
उनले नेपालमै खेलेर बाँच्ने आधार तयार गर्ने तयारीमा एन्फा रहेकाले फुटबल खेलेर करियर बनाउन सकिने बताए।
‘यसको वातावरण बनाउन हामी प्रयत्न गरिरहेका छौँ’, उनले भने, ‘स्वदेशमै बस्नुहोस्।’
फुटबलभित्र चल्ने राजनीतिले पनि खेलाडी निराश भएको हुनसक्ने उनको भनाइबाट अनुमान गर्न सकिन्छ।
उनले थपे, ‘फुटबलको राजनीति एकातिर चलिरहन्छ, फुटबल विकास र फुटबल एक्टिभिटिजमा कुनै डिस्टर्ब हुँदैन।’
यहाँभन्दा अब फुटबल–शून्य देश नबनाउने दाबी गर्दै उनले फुटबल गतिविधिलाई निरन्तर रुपमा अगाडि लैजाने योजना कार्यान्वयन गर्ने बताए।
‘त्यसैले फुटबल करियरमा नै भविष्य भएको हुँदा तपाईंहरु विदेश वा अर्को करियरमा नजानका लागि अनुरोध र अपिल गर्छु’, राईले भने।
उनले त्यसो भने पनि सम्बोधनभन्दा व्यवहारमा खेलाडीलाई विश्वास जगाउने मामिलामा एन्फा असफल भएको छ भन्दा फरक पर्दैन।
प्रतिक्रिया