खेल


किन छ्यापियो गोलरक्षक किरणको अनुहारमा तातो चिया?

किन छ्यापियो गोलरक्षक किरणको अनुहारमा तातो चिया?

यज्ञराज जोशी
असार १३, २०७६ शुक्रबार १२:२३,

राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा उपकप्तान किरण चेञ्जोङ र ट्रनेर विवेकबिक्रान्त अधिकारीबीचको विवादले चर्को रुप लिएपछि अखिल नेपाल फुटबल संघ(एन्फा)ले दुबैलाई घटनासम्बन्धमा स्पष्टिकरण सोधेको छ।

गत सोमबार(असार ९) राष्ट्रिय टोलीको अभ्यास शत्रअघि दुबैबीचको विवाद हुँदा किरणको शरिरमा तातो चिया छ्यापिएको थियो। किरणले ट्रेनर विवेकले विवादका क्रममा आफ्नो अनुहारमा चिया छ्यापेको बताइरहँदा विवेकले भने किरणले आक्रामण गरेपछि आफूले प्रतिरक्षा गर्दा चिया किरणको शरिरमा परेको दाबी गरेका छन्।

विश्वकप छनोटको तयारीका लागि नेपालले गत आइतबार(असार ८)बाट प्रि सिजनको अभ्यास शुरु गरेको थियो। मुख्य प्रशिक्षक योहान कालिन बिदामा रहेका कारण सहायक प्रशिक्षक किरण श्रेष्ठ, फिटनेश ट्रेनर अधिकारीले नेपाली टोलीको प्रशिक्षण शुरु गराएका हुन्।

तर, प्रशिक्षण शुरु भएको दोस्रो दिन बिहान भएको उक्त घटनापछि ट्रेनर अधिकारीलाई यतिबेला एन्फाले सात दिन निलम्बनमा छन्।

के हो विवाद?
आइतबारबाट सहायक प्रशिक्षक श्रेष्ठ तथा ट्रेनर विवेकले प्रि–सिजन अन्तर्गत प्रशिक्षण हुने भन्दै खेलाडीलाई खबर गरेका थिए। ट्रेनर विवेकका अनुसार पहिलो दिन १६ जनामात्रै उपस्थित थिए। अनुपस्थित हुने खेलाडीमा गोलरक्षक किरण समेत एक थिए।

पहिलो दिनको अभ्यासमा विवेकले ‘वान माइल रन’ नामको अभ्यास गराए। विवादको मुख्य कारण त्यही ट्रेनिङ रह्यो। पहिलो दिन नै उक्त कडा ट्रेनिङ गराएको बारे दोस्रो दिन(सोमबार) किरण र विवेकबीच विवाद भएको थियो। जसले किरणको अनुहारमा तातो चिया छाप्ने सम्मको घटना घटायो। अन्य खेलाडीहरुले लगत्तै उनीहरुलाई नछुटाएको भए घटना अझै ठूलो हुने थियो।

‘कोच(योहान कालिन), म र सहायक प्रशिक्षक बसेर एक महिना अघि प्रि–सिजन तयारी गर्छौ भनेर कार्यतालिका बनाएका थियौं। कोचबाट अप्रुभ भएको कार्यतालिका अनुसार नै आइतबारबाट उक्त प्रशिक्षण गरिएको हो,’ विवादमा आएको पहिलो दिनको प्रशिक्षण बारे ट्रेनर विवेकले भने, ‘त्यो दिन हामीले ‘वान माइल रन’ अभ्यास गरेका थियौं। त्यसमा साढे ६ मिनेटमा डेढ किलोमिटर दौड्नुपर्ने हुन्छ। ५ मिनेटजति ब्रेक हुन्छ। त्यसरी दुई–तीन सेट दौडनुपर्ने हुन्छ। जम्माजम्मी एउटा खेलाडीले ५ किलोमिटर मिटर जति दौडिनुपर्ने हुन्छ।’

फुटबल खेल्ने एउटा खेलाडीले ९० मिनेटको समयमा १० किलोमिटर दौड्नसक्ने उनी बताउँछन्।

त्यसैदिन नै केही खेलाडीले कडा प्रशिक्षण भएको बताएका थिए। उनीहरुलाई आफूले ‘विस्तारै गर’ भनेको विवेक बताउँछन्।

पहिलो दिन नै ‘वान माइल रन’ अभ्यास गराएको थाहा पाएपनि किरणले दोस्रो दिन(सोमबार) बिहान सो दिनको प्रशिक्षणअघि ट्रेनर विवेकलाई सोधे, ‘किन पहिलो दिन नै यति कडा ट्रेनिङ गराएको?’

‘तिमीले यस्तो कडा प्रशिक्षण गरायौं, कस्तो ट्रेनिङ हो यो? पहिलो दिनमै यस्तो गराउँने? दौडेरमात्रै हुन्छ? यताउता भन्न(किरणले) थाल्यो,’ विवेकले घटना बताउँदै भने, ‘मैले ट्रेनिङ कार्डियोबाट सुरु गरेको हो। किनकी फुटबल खेलाडीको फिजिकल्ली र स्टामिना मजबुद बनाउँन यो आवश्यक हुन्छ भनेर उसलाई भने। उसले ‘के हो यस्तो? हामीले त यस्तो कहिलेपनि देखेका छैनौं। बाहिर गएरपनि हामीले ट्रेनिङ गरेका छौं। बाहिर त हामीले यस्तो कहीपनि देखेनौं’ भनेर दादागिरी रवैया देखायो।’

किन गराइस? तैले गराउँनु हुदैन् भन्ने रवैया किरणको स्टारडमबाट आएको विवेक बताउँछन्। ‘त्यो भनेको आफ्नो शक्ति दुरुपयोग गर्न खोजेको जस्तै हो। त्यहीमाथि कोचहरु जस्तो मान्छेलाई हात उठाउँनु अनुशासनविहीन काम हैन् र?,’ विवेकले प्रश्न गरे।

विवेकले किरणले स्टारडम रवैया देखाएको भन्दै गर्दा किरणले भने उनले सबै झुठो बोलेको बताए।

‘पहिलो दिनको प्रशिक्षणलाई उनले(विवेक) कल ट्रेनिङमात्रै भनेका छन्,’ किरणले भने, ‘तर, कल ट्रेनिङ हैन्, त्यहाँ केटाहरुले सकि नसकि ‘गिभअप’ नगरी ट्रेनिङ गरेको छ। म स्कुलको एउटा कार्यक्रमले गर्दा अनुपस्थित थिए। अर्कोदिन उपकप्तानका रुपमा सोध्दाको यो इस्यु हो।’

‘पहिलो दिन ६ मिनेटमा ५ राउण्ड हान्नुपर्ने त्यो पनि ‘थ्री ल्याप’ कुदाएको थियो रे,’ किरणले थपे, ‘कुदाए भनेर मेरो दुखेसो हैन्। सिनियर खेलाडी तथा उपकप्तानको हैसियतले मैले ‘पहिलो दिनमै यति कडा ट्रेनिङ किन गराएको’ सोधेको थिए। सोध्दा सहजै जवाफ दिनुपर्ने हो तर उसले विश्वकै टप खेलाडीहरुलाई ट्रेनिङ गराएको भन्दै एट्च्यिुड देखायो।’

चिया छ्याप्नुमा आ–आफ्नै दाबी
दुबैबीच कडा प्रशिक्षणका विषयमा विवाद भइरहँदा क्यान्टिनमा सहायक प्रशिक्षक किरण श्रेष्ठ छिरेका थिए। प्रशिक्षक श्रेष्ठले हल्ला नगर्न भनेपछि दुबैजना चुप त लागे। तर, त्यसपछि भएको चिया छ्याप्ने घटनामा दुबैको आ–आफ्नै दाबी छ।

विवेकले आफू बाहिर ढोकामा निस्कदा किरण आएर आफ्नो घाटी समातेको र बचाउ गर्न खोज्दा उनको शरिरमा चिया छ्यापिएको दाबी गर्छन्। किरणले भने सहायक प्रशिक्षकले विवाद नगर्न भनेपछि आफू लुगा चेञ्ज गर्नका लागि बाहिर निस्कन लागेको र त्यतिबेला पछिबाट आएर विवेकले चिया छ्यापेको बताएका छन्।

‘क्यान्टिनको ढोकाबाट बाहिर निस्कने बेलामा मेरो घाटीमा समातेर हानौंला जस्तो गर्‍यो,’ विवेकले भने, ‘आफ्नो आत्मरक्षाका लागि मैले उसको हात त हटाउँनुपर्यो। त्यसबेला चिया उसको शरिरमा पोखिएको हो। मैले आफ्नो बचाउ मात्रै गरेको हो।’

किरण भने यो सबै झुठो भएको बताए। उनले भने, ‘सहायक प्रशिक्षक आएर झगडा नगर भनेपछि मैले विवेकलाई धेरै बोल्नुभन्दा पनि आफ्नो काम गर्नु भनेर निस्किए। उ(विवेक) मेरो पछि पछि आयो। मैले किन पछि पछि आएको भन्दा झ्याम्म चिया हान्यो। म त्यतिबेला ‘अनकन्सिएस’ भए। म उठेर प्रतिक्रिया गर्न खोज्दा। अरु खेलाडीहरु आएर रोकिहाले। थप झगडा हुन पाएन्।’

दुबैले आ–आफ्नो दाबी गरिरहँदा प्रत्यक्षदर्शी खेलाडीहरु भने घटनाको बारेमा केही बताउँन चाहादैँनन्। प्रत्यक्षदर्शीमध्येका एक खेलाडी एलन न्यौपानेले भन्छन्, ‘हामीलाई यस घटनामा केही नबोल्नु भनेको छ। प्रशिक्षकबाट जानकारी लिनुहोला।’

घटनास्थलमा रहेका सहायक प्रशिक्षक श्रेष्ठले आफू हातमुख धुन धारामा गएकाले चिया छ्यापेको प्रत्यक्ष नदेखेको बताए।

‘ट्रेनिङ भन्दा अघि क्यान्टिनमा उनीहरु चिया खाईरहेका थिए,’ घटनाबारे बताउँदै उनले भने, ‘उनीहरुबीच केही विषयमा विवाद परिरहेको थियो। मैले हल्ला नगर भनेपछि उनीहरु शान्त भए। किरण बाहिर निस्कियो र त्यसपछि विवेकले चिया लियो। अनि म हात धुन गए। त्यहीबेला उनीहरुबीच उक्त घटना(चिया छ्याप्ने) भएछ। चिया छ्यापेको मैले मेरो आँखाले देखिन्। किचनको ढोकातिर उक्त घटना हुँदा म हात धुने ठाउँबाट देख्ने अवस्था थिएन्। लगत्तै केटाहरु र स्टाफहरुले छुटाइहाले।

‘किरणका अनुसार विवेकले चिया मुखमा फ्याक्यो भन्ने छ,’ प्रशिक्षक श्रेष्ठले थपे, ‘विवेकले पहिले किरणले आफूलाई धक्का दिएको र त्यसपछि उक्त घटना भएको भन्ने छ। पछि किचेनको दिदीहरुले किरणलाई ‘आइस’ लगाइदिएका थिए। त्यसकुरालाई अघि नबढाऔं भनेर मैले किरणलाई ‘रेस्ट’ दिदैं त्यसदिन दश मिनेट अघि नै ट्रेनिङ सुरु गराएको थिए।’

स्पष्टिकरणपछि कारबाहीः एन्फा
अखिल नेपाल फुटबल संघ(एन्फा) प्रवक्ता किरण राईले दुबैबीच वादविवाद भएको प्रारम्भिक जानकारी आएको बताए। उनले दुबैलाई स्पष्टिकरण सोधिएको र त्यसपछि कारबाही अघि बढ्ने बताए।

‘दुबैजनालाई स्पष्टिकरणका लागि पत्र काटिसकेका छौं,’ उनले भने, ‘स्पष्टिकरणको जवाफ आएपछि उनीहरुलाई कस्तो कारबाही हुने हो एन्फाले निर्णय गर्नेछ। प्रारम्भिक रिपोर्टअुनसार उनीहरुबीच बादविवाद भएको देखिन्छ।’

सिधैं मेरो मुखमा चिया हान्योः गोलरक्षक किरण
मैले विस्तृत रुपमा यो घटनाको बारेमा एन्फालाई बताइसकेको छु। र एन्फाको निर्णय पर्खिरहेको छु। अवश्यपनि आफू बच्नलाई अर्कालाई दोष लगाउँने कुरो भइरहन्छ। केटाहरुले कोचले सबैकुरा देखेका छन्। उसले(विवेक) कतिकति झुठ उसले बोलेको छ भनेर प्रष्ट छ।

उसले पहिलो दिनको ट्रेनिङको बारेमा पूरै झुठ बोलेको छ। उसले ‘कल ट्रेनिङ’ गराएको भनेको छ। प्लेयरहरुलाई दोष लगाउँन खोजेको छ। हामी नेशनल टिममा पर्दैनौं भनेर डरायौं रे भनेको छ। हामीले १०–१० वर्ष फिटनेश ट्रेनिङ गरिरहेका छौं। उसले भनिरहेको छ, कल ट्रेनिङमात्र गराएको छ। कल ट्रेनिङ हैन्, त्यहाँ पहिलो दिन केटाहरुले सकिनसकि ‘गिभअप’ नगरी प्रशिक्षण गरेको छ। म स्कुलको एउटा कार्यक्रमले गर्दा अनुपस्थित थिए। अनुपस्थित भएकाले उपकप्तानका रुपमा अर्कोदिन सोध्दाको यो इस्यु हो।

कृष्ण(थापा) सरजस्तो उपाध्यक्ष मान्छेको अघि ‘म गुण्डा हो’ भनेर उसले बोलेको छ। उसको पक्षबाट उसले म राम्रो हो भनि हाल्छ नि। चियाँ नै छ्यापीसकेपछि मैले चियाँ छ्यापे कसले भन्छ र? एसिड प्रहार गरिसकेपछि मैले किरणलाई एसिड हानेको हो भनेर कसैले भन्दैन्।

मैले हात हाले, पड्काए, उसले ज्यान जोगाउनका लागि मेरो मुखमा चियाँ घोप्टियो भनेको छ। त्यहाँ भाईहरु बसिरहेको छ। उसले सिधैँ मेरो मुखमा चिया हानिदिएको हो। तातो चियाले झण्ड मेरा आँखामा चाँही केही भएन्, मेरो मुखको मुनि छालामा स्क्राचहरु भएको छ। मैले यो माहौललाई किन तताउँनु। भनेर फोटोहरु चाही अपलोड गरेको छैन्।

अर्कोदिन बिहान पनि हामीले कुरा गरौं। यो मान्छेले कतिसम्म झुठो दाबी गर्दो रहेछ भने। खेलाडीले ‘गिभअप’ दिए भन्ने कुरा गरिरहेको छ। हामी कहिलेपनि प्रशिक्षणसँग डराउँदैनौं। फुटबल भनेको कुदेरमात्रै फिट भएर खेल्ने गेम हैन्। फुटबल कुदेर फिट भएर खेल्ने हो भने त विश्वकै टप रनरहरुलाई खेलाउँदा विश्वकप नै जितिन्थ्यो होला। उसको भनाई नै त्यही भयो। हामीले नेशनल टिममा पर्दैनौं भनेर पूरै प्रशिक्षण छोड्यौं रे।

पहिलो दिनमा पनि सिनियर खेलाडीमा विक्रम(लामा)मात्रै थियो। मनाङको कोही पनि गएन्। विराज(महर्जन) कप्तान गएनन्, म उपकप्तान पनि स्कुलमा भएकोले गएन्। तर, मैले सहायक प्रशिक्षकसँग कुरा चाही गरिरहेको थिए। भ्याए भने चाहीँ आउँछु भनेको थिए।

पहिलो दिन ६ मिनेटमा ५ राउण्ड हान्नुपर्ने त्यो पनि ‘थ्री ल्याप’ त्यसरी कुदाएको थियो रे। कुदाए भनेर पनि मेरो दुखेसो हैन्। सिनियर खेलाडीको हैसियतले मैले ‘विक्रम पहिलो दिनमै यति हार्ड ट्रेनिङ गराएको, हामी त ब्रेकबाट आएको हो। मैले त रेगुलर प्रशिक्षण गर्छु, म कुदौला रे। तर अरु खेलाडीलाई गाह्रो हुन्छ भनेको थिए। अरु खेलाडीले पनि नगरेका हैनन्। तर पहिलो दिनको ट्रेनिङ यसरी गराइन्छ? भन्दा यो इस्यु भएको हो।

उसका अनुसार उ पहिले हिडेर क्यान्टिनबाट बाहिर गयो रे। अनि म पछि पछि आएर फाइट भएको भनिरहेको छ। त्यहाँ सहायक कोच र दुईजना भाईहरु पनि थिए। उसले पूरै झुठ बोलिरहेको छ।

उसले झुठ बोलेको कुरा सुन्दा यो मान्छे यस्तो रहेछ भन्ने पर्सनली रुपमा अझै बुझ्यौ। कल ट्रेनिङ, म भन्दा अघि उ गएको, उ गएर मैले फलो गर्दा मैले हान्दा उसले रक्षामा चिया पोखियो भनेको सबैकुरा झुठो हो। म चाही अगाडी निस्केको चेञ्ज गर्नका लागि। सहायक कोच आएर झगडा नगर भनेर म सुइसुइ निस्केपछि मेरो पछि त्यो आएको हो। किन मलाई फलो गरेको भनेर फर्कदा तातो चिया मेरोमा छ्यापिदियो।

राष्ट्रिय टोलीका उपकप्तानमाथि चिया छ्याप्नु सामान्य कुरो हैन्। एसिड प्रहार गरेजस्तै भयो। आँखामा लागेको भए मेरो ‘लाइफ ड्यामेज’ हुन्थ्यो। फुटबल खेल्न सक्दैन थिए।

यो मेरोमात्रै इस्यु हैन्। उसले गरेको व्यवहारप्रति धेरै खेलाडीहरुको इस्यु पहिलेदेखि नै छ। जापनिज कोच हुँदासँग पनि उसको विवाद नै परेको थियो। उ फुटबलको ट्रेनर नै हैन्। स्पेशली उ जिमको ट्रेनर हो। नेपालमा उ फुटबलमा ट्रेनर गराइरहेको छ। यो पनि समस्या हो।

मैले सोसियल मिडियामा पनि फोटो हालेको छैन्। छालाहरु स्क्राच भएको फोटोहरु हालेपछि विवाद चर्कन्छ भनेर नहालेको। हामीले एन्फालाई भनिसकेका छौं। खेलाडीहरु पनि यो ट्रेनरबाट सन्तुष्ट छैनन्। हामीले सुनेअनुसार महिला टिमबाट पनि कम्लेन आएको थियो रे। अब एन्फाले के गर्छ भनेर कुरीरहेका छौं।

किरणले दादागिरी रवैया देखायोः ट्रेनर विवेक
उताबाट आएका धेरै कुराहरु अपूरा छन्। किरणले प्रश्न सोध्दा म फाइटर जस्तो भएर आइलागे भनेका छन्। चिया खाईरहेको मान्छे चिया लिएर कोही झगडा गर्न जान्छ? त्यहाँ भएको घटना भन्दा किरणले मलाई हातपात गर्न खोज्या हो, मैले आफ्नो बचाउ गरेको हो। मेरो कुरा पत्यार लाग्दैन् भने सीसीटीभी क्यामरा त्यही छ। त्यो चेक गर्नुस त्यसपछि आएर कुरा गर्नुस् न।

मलाई किरणले तिमले हिजो टेष्ट(फिटनेश) लियौं रे प्लेयरलाई, किन लियौं भन्ने खालको कुरा गर्यो। प्लेयरलाई पहिलो कुरो मैले टेस्ट लिएकै थिइन्। मैले टेस्ट नभनीकन त लिदिन्। फिजिकल टेस्ट लिदा डराउँनुपर्ने कुरा पनि केही छैन्।

फुटबल भनेको शरिर काडियोले खेल्ने हो। त्यही भएर अफ सिजन चलिरहेको छ। कोच नआएसम्म प्रि– सिजन गर्छौ भनेर आजभन्दा एकमहिना अघि कोच, म र सहायक कोच बसेर पूरा प्रोग्राम डिजाएन गरेका थियौं। त्यो कोचलाई देखाएर, उनीबाट पनि सहमति भएर आएको कुरो हो। मैले मनलाग्दी तरिकाले यो एक्सरसाइज चाही आज गर्ने भनेर दिएको कुरा थिएन्।

किरणले किन यस्तो गरायौं भन्यो? मैले यस्तो यस्तो कारणले गराएको भने। प्रश्न सोधे पछि मैले उत्तर त दिनुपर्यो।

अनि, ‘कस्तो हो यो? पहिलो दिन यस्तो प्रशिक्षण गराउँने? हामीले त देखेनौं। हामीले त बाहिर गएर ट्रेनिङ गरेर आएको’ किरण भने।

बाहिर गएर ट्रेनिङ गराएर आएको भन्नुहुन्छ भने म पनि बाहिर गएर ट्रेनिङ गराएर आएको हो। मैले त विश्वकप, च्याम्पियन्स लिग खेलेका प्लेयरहरुसँग काम गरेको हो। यस्तो इस्युज पहिला त थिएन्।

त्यस्तो भएपछि म छोडेर चिया लिन गए। मलाई चिया लिने ठाउँमा हानौला जस्तो लगेर हातै उठायो। हात उठाएको हो तर हान्न त हानेन्। सहायक प्रशिक्षक त्यहीबेला भित्र छिर्नु भएको थियो। सहायक प्रशिक्षक देखेर उसले मलाई नहानेको या तर्साएकोमात्रै हो त्यो थाहा छैन्।

कोही पिट्न आएपछि ‘सक’ हुन्छ। तपाई किन यस्तो गर्या हो? भन्नुहुन्छ नि। मैले नि त्यस्तो सोधेपछि मुखसुख छाडेर गाली गर्न थाल्यो। मैले त्यसबेला केहीपनि भनेको छैन्। अपशब्द पनि भनेको छैन्।

त्यसपछि क्यान्टिनको गेटबाट बाहिर निस्कने बेलामा ढोकामा म त्यहाँ उभिरहेको थिए, मलाई समातेर हानौंला जस्तो गर्रो। त्यसबेला मैले उसको हात हटाउँनुपर्यो। त्यसपछि मैले आफ्नो बचाउ गरेको हो। म हातमा चिया लिएर बसेको मान्छे। त्यहीबेला हातमा भएको चिया पोखिएको हो।

मेरो लागि यो प्लेयरको दादागिरी हो। ट्रेनिङ गर्न नमान्ने। ट्रेनिङ गाह्रो–सजिलो भयो भनेर प्रश्न गर्न पाइन्छ। किन गराको, केका लागि गराको, अलि ‘सफ्ट’ गर्न सकिन्छ कि भन्न पाइन्छ। तर, त्यस्तो उग्ररुपले आएर पुरा पिटौला जस्तो गरेर, थर्काउँला जस्तो गर्नु भनेको आफू सेलिब्रेटी हुँ कसैले केही गर्न सक्दैन भन्ने देखाएको हो कि? किन ट्रेनिङ गराइस? तैले गराउँनुहुदैन भन्ने रवैया आफ्नो शक्ति दुरुपयोग गर्न खोजेको जस्तै हो। त्यहीमाथि कोचहरु जस्तो मान्छेलाई हात उठाउँनु अनुशासनविहीन काम हैन् र?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad