नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटेको बायाँ क्लाभिकल बोन (घाँटीमुनिको हड्डी/ब्युटी बोन) को पुनः शल्यक्रिया गरिएको छ।
आइतबार घरमै अभ्यासका क्रममा क्लाभिकल बोन पुनः फ्याक्चर भएपछि उनको सोमबार शल्यक्रिया गरिएको हो।
रेनुकाको शल्यक्रिया ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा डा. अमित जोशीको टोलीले गरेको हो।
यो पटक उनको ब्युटीबोन जोड्न गाह्रो भएपछि कम्मरको हड्डी काटेर जोड्नुपरेको रेनुकाका श्रीमान् अभिषेक लामाले जानकारी दिए।
अहिले रेनुकाको अवस्था सामान्य रहेकाले केही दिनमै डिस्चार्ज गर्ने लामाले बताए। लामाका अनुसार डा. जोशीले २ महिनामा खेल्न खेल्न सक्ने बताएका छन्।
गत असोजमा शल्यक्रिया गरेर उनको पहिलोपटक राखिएको स्टिल निकालिएको थियो। यो पटक भने निकाल्न नपर्नेगरी हड्डी नै जोडिएको अभिषेकले बताए।
यसअघि गत वर्षको असारमा एसियन गेम्सको तयारीका क्रममा रेनुका घाइते भएकी थिइन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा अभ्यासका क्रममा लड्दा उनको बायाँ क्लाभिकल बोन भाँचिएको थियो। त्यो बेलामा उनको शल्यक्रिया गरेर स्टिल राखिएको थियो।
Shares
प्रतिक्रिया