खेल


बेलायतमा आयोजित ‘अटम टेनिस टुर्नामेन्ट’को उपाधि वारोकको पोल्टामा, कृष्ण दोस्रो

बेलायतमा आयोजित ‘अटम टेनिस टुर्नामेन्ट’को उपाधि वारोकको पोल्टामा, कृष्ण दोस्रो

विजेता वारोक राई (दायाँ) र उपविजेता कृष्ण थापा


मगेन्द्र राई
असोज २१, २०८१ सोमबार ११:०, बेलायत

युकेमा नेपालीहरूद्वारा सञ्चालित गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एक दिवसीय ‘अटम टेनिस टुर्नामेन्ट’ को शीर्ष उपाधि वारोक राईले हात पारेका छन्।

गएको शनिबार अल्डर्सटस्थित सैनिक छाउनीको टेनिस सेन्टरमा सम्पन्न उक्त प्रतियोगितामा प्रमुख उपाधिका निम्ति मिन्स सिङ्गल्स ओपन ए तर्फ सनसनीपूर्ण फाइनल खेलमा वारोक राईले कृष्ण थापा मगरलाई ६-२, ६-३ को सोझो सेटमा पाखा लगाउँदै च्याम्पियन बनेका हुन्।

वारोकले पहिलो सेटको खेलमा सुरुमै ब्रेक गरी अग्रता लिएका थिए। निकै कन्सिस्टेन्ट खेल खेलेका उनले पहिलो सेट ६-२ ले आफ्नो पक्षमा लिए। कमब्याक गर्ने आशा गरिएका कृष्णले दोस्रो सेटमा वारोकलाई चुनौती दिन चुके। फलत: वारोकले ६-३ को अन्तरले च्याम्पियनसिप सेट हात पारे।

वारोक बेलायतमा पूर्व जुनियर आईटीएफ खेलाडी हुन्। उनले क्लबले आयोजना गरेको प्रतियोगितामा हालसम्म अपराजित कीर्तिमान कायम गरेका छन्‌। त्यस्तै, कृष्ण पूर्वगोर्खा सैनिक हुन्‌, उनीसँग सेनाको तर्फबाट प्रतियोगिताहरू खेलेको अनुभव छ।

त्यसैगरी प्रतियोगिताको अन्य समूहबीच भएको प्रतिस्पर्धामा मिन्स सिङ्गल्स ओपन बी तर्फको फाइनल खेलमा नेल पुन मगरले सहदेव पन्तलाई ५-३, ४-० को फराकिलो अन्तरमा पराजित गरे।

लेडिज सिङ्‌गल्सकी विजेता रितु गुरुङ र ओपन बी का विजेता नेल पुन (बीचमा)

४५ वर्षभन्दा माथि भेटेरान्सतर्फको फाइनल खेलमा पञ्च पुनले मीन पुनलाई हराए। त्यसैगरी, ५५ माथितर्फ नमराज गुरुङले रुद्रराज गुरुङलाई पराजित गरे। यसका साथै, नोभाइसतर्फ सञ्जय थापाले आर्य शाहलाई पराजित गरे।
 
मिन्स डबल्स ए तर्फ सुरेश पुन र पशुपति सुनुवारको जोडीले एल्डिन राई र सदिप गुरुङको जोडीलाई हरायो। बी तर्फ हर्क गुरुङ र दिनेश बानियाँको जोडीले ललित मल्ल र सुशील श्रेष्ठको जोडीलाई पराजित गरे। यस्तै, लेडिज सिङ्गल्सतर्फ रितु गुरुङले थाडोईलाई पराजित गरिन्‌।

प्रतियोगिताका विजेता र उपविजेताहरूलाई क्लबका अध्यक्ष हर्कबहादुर गुरुङले ट्रफी प्रदान गरेका थिए। पुरस्कार वितरण समारोह क्लबका सचिव क्याप्टेन मोहन गुरुङले सञ्चालन गरेका थिए। प्रतियोगितालाई सनसाइन मोर्गेजले प्रायोजन गरेको हो।

क्लबले हरेक वर्ष स्प्रिङ, समर, अटम र विन्टर गरी प्रमुख चार प्रतियोगिता आयोजना गर्ने गरेको छ। २०२५ को जनवरी २५ मा ब्यासिङ्स्ट्रोकस्थित इन्डोर कोर्टमा ‘विन्टर  टुर्नामेन्ट’ गराउने क्लबका महासचिव मेजर सरोज राईले नेपालखबरलाई बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad