खेल


एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित

एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जित

लक्ष्मी जि.सी
मंसिर १७, २०८१ सोमबार १६:०, काठमाडौँ

कर्णाली याक्सलाई पराजित गर्दै जनकपुर बोल्टसले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ।

सोमबार भएको दिनको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो। 

जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई पनि ८ विकेटले पराजित गरेको थियो। 

कर्णाली याक्सले दिएको १ सय ४२ रनको लक्ष्य जनकपुरले २९ बल अगावै २ विकेटको क्षतिमा भेट्टायो।

ओपनर अनिल शाह ६२ र जेम्स निसम १६ रनमा अविजित रहे। अनिलले ४२ बलमा ६ चौका र ३ छक्का हाने। निसमले ८ बलमा २ चौका र १ छक्का प्रहार गरे। 

पहिलो विकेटका लागि ओपनर अनिल शाह र आशिफ शेखले ८४ रनको साझेदारी गर्दै जनकपुरलाई बलियो स्थितीमा पुर्याएका थिए। एनपीएलमा पहिलो विकेटका लागि बनेको यो सर्वाधिक रनको साझेदारी हो। 

कर्णालीका मौसम ढकालले दशौँ ओभरको चौथो बलमा आशिफ शेखलाई ३६ रनमा क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए। आशिफले २९ बलमा २ चौका र २ छक्का हाने।

लाहिरु मिलान्था २४ रनमा जेसन मक्सुदको बलमा एलबीडब्लु धरापमा गरे। मिलान्थाले १३ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए। 

कर्णालीका लागि जिसन मक्सुद र मौसम ढकालले समान एक् विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रनको योगफल तयार पारेको थियो। जारी एनपीएलमा बनेको यो सर्वाधिक योगफल हो। यसअघि जनकपुरले विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य भेट्टाएको थियो। 

सातौँ विकेटका लागि अर्जुन घर्ति र सोमपाल कामीले ५६ रनको साझेदारी गरेपछि कर्णालीले बलियो योगफल तयार पारेको थियो। 

अर्जुनले १९ औँ ओभरमा लगातार दुई छक्का र २ चौका प्रहार गरे। २२ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३३ रन बनाएका अर्जुन रनआउट भए। सोमपाल १३ बलमा २९ रनमा नटआउट रहे। नन्दन यादव शुन्य रनमा अविजित रहे। 

अलराउण्डर गुल्सन झाले बनाएको ३६ रन नै कर्णालीका लागि सर्वाधिक रह्यो। गुल्सनले २७ बलमा १ चौका र ३ छक्का सहयोगमा ३६ रन बनाउँदा किशोर महतोको बलमा बोल्ड आउट भए।

त्यसअघि १४ बलमा १४ रन बनाएका शिखर धवन पाचौँ ओभरको दोस्रो बलमा हर्ष ठाकेरको बलमा बोल्ड आउट भए। ओपनर देव खनाल १ रन बनाएर आउट भए। जनकपुरका ललित राजवंशीले दोस्रो ओभरको दोस्रो बलमा देवलाई बोल्ड आउट गरे। बाबर हायात १२ रन बनाउँदा क्याच आउट भए। 

जिसन मक्सुद शुन्य रनमा नै जेम्स निसमको बलमा एलबीडब्लु धरापमा परे। चाडविक वाल्टन १ रनमा मोहम्मद मोहसिनको बलमा एलबीडब्लु आउट भए। 

जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिए। किशोर महतो, ललित राजवंशी, हर्ष ठाकेर र जेम्स निसमले समान एक विकेट लिए। 

एनपीएलमा मंगलबार दुई खेल हुनेछन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad