खेल


लगातार बलिङ नचलेपछि रोहितको ठट्टा - अब बुमराहलाई ल्याउनुपर्छ

लगातार बलिङ नचलेपछि रोहितको ठट्टा - अब बुमराहलाई ल्याउनुपर्छ

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १८:४१, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो खेलमा कीर्तिमानी लक्ष्य दिँदा पनि पराजित भएको लुम्बिनी लायन्सले शुक्रबार दोस्रो खेलमा पनि नतिजा गुमाउन पुग्यो। राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहित पौडेलको कप्तानीमा रहेको लायन्सलाई शुक्रबार पोखराले सहजै पराजित गर्यो र पहिलो अंक जोड्यो। 

लुम्बिनीले राम्रो ब्याटिङ गरे पनि खराब बलिङका कारण खेल गुमायो। टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनाएको थियो। 

लुम्बिनीका लागि कप्तान पौडेलले ५९ बलमा ९५ रन जोड्दै अन्तिम बलमा रनआउट भए। उनले १० चौका र ४ छक्का प्रहार गरेका थिए। 
कप्तानको उत्कृष्ट ब्याटिङमा संघर्षपूर्ण लक्ष्य दिएको लुम्बिनी पहिलो इनिङ्ससम्म जित्नेमा आशावादी देखिन्थ्यो। तर दोस्रो इनिङ भने लुम्बिनीको सम्झन लायक रहेन। 

पोखराले बिनाविकेट १७ औं ओभर चलिरहँदा लुम्बिनीले दिएको लक्ष्य पूरा गर्यो। दुवै खेलमा पहिले ब्याटिङ गरेको लुम्बिनीले आफ्नो हारको कारण बलिङको कमजोरी ठानेको छ। 

खेलपछि पत्रकारसँग कुरा गर्दै कप्तान रोहित पौडेलले आफ्नो टोलीको बलिङमा समस्या देखिएको स्वीकार गरे। टिममा भएका सबै विकल्प प्रयोग गर्दा पनि बलिङमा राम्रो हुन नसकेको रोहितले बताए। 

भिडिओ:

यी दुवै खेलमा बलिङमै समस्या देखिएको बताएका रोहितलाई पत्रकारहरूले अब कसरी समाधान गर्नुहुन्छ भनेर सोधेका थिए। 
जवाफमा रोहितले ठट्टा गर्दै भने, ‘अब बुमराहलाई ल्याउनुपर्छ।’

बुमराह भारतका तीव्र गतिका बलर हुन्। अहिले उनी विश्व वरीयताकै पहिलो नम्बरमा छन्। एनपीएलमा भने कर्णालीका शिखर धवन एक मात्रै भारतीय खेलाडी हुन्। रोहितले त्यसअघि आफ्नो टोलिको बलिङ पावरप्लेमा पनि राम्रो हुन नसकेको बताए। 

बलिङ राम्रो भए १७० रनको लक्ष्य दिनु पनि जितका लागि काफी हुने उनको बुझाइ छ। आफ्नो पावरप्लेमा कुनै पनि अप्सनले काम नगरेको र पोखराका लागि दुवै ओपनर आन्द्रेस गौस र दिनेश खरेलले राम्रो ब्याटिङ गरेको बताए। 

खेल चलिरहँदै रोहितले गौससँग कुरा गरेका थिए। त्यो क्षणबारे रोहितले हाँस्दै भने, ‘मैले छक्का चौका कसरी हानिरहेको छौ भनेर सोधेको थिएँ। उसले त मैले होइन, मेरो ब्याटले हो भनिरहेको थियो। उसले एकदम राम्रो ब्याटिङ गर्‍यो। विकेटमा केही छैन भने जसरी खेलिरहेको थियो।’

त्यस क्रममा रोहितले आफ्नो इनिङको पनि चर्चा गरे। शतक बनाउन ५ रनले चुकेका रोहितले विपक्षी बलर आकाश चन्दले निक्कै राम्रो बल फालेको बताए। 

‘मलाई शतक हान्छु भन्ने थियो। बोर्डमा हेर्दै खेलिरहेको थिएँ तर आकाशले शतक पूरा गर्न दिएन। उसले निक्कै राम्रो बल फाल्यो,’ रोहितले भने। 

अझै ५ वटा खेल बाँकी रहेकाले बलिङमा सुधार गर्न केही न केही बाटो पत्ता लगाउनुपर्ने पनि रोहितले बताए। यसअघि लगातार दुई खेल हारेका पोखरा, विराटनगर, कर्णालीले पनि तेस्रो खेलमा जित निकालेका छन्। 

अब शनिबार लुम्बिनीले सुदूरपश्चिमको सामना गर्दैछ। सुदूरपश्चिमले लगातार दुई खेल जितेको छ। शनिबार नै विराटनगरले कर्णालीको सामना गर्दै छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad