कोरोना भाइरसका कारण काठमाडौमा भएको बी डिभिजन लिग फुटबल प्रतियोगिता स्थगित गरेको अखिल नेपाल फुटबल संघ एन्फाले विज्ञप्ती मार्फत जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को मंगलबार बसेको बैठकको निर्णय अनुसार आगामी १२ गते सम्मका लागि बी डिभिजन लिगसहित एन्फाले आयोजना गर्ने सबै गोष्ठी, सभा सेमिनार तथा अन्य फुटबलका कार्यक्रम स्थगित गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ।
एन्फाले एन्फा टेक्निकल सेन्टर धरान र बुटबल सहित सातदोबाटोको एकेडेमी र एन्फा सचिवालय समेत बन्द गरेको छ।
यस्तै संघको पूर्व निर्धारित कार्यक्रम अनुसार आगामी १६ गते हुने संघको १९ औं एन्फा कंग्रेस बैठक (वार्षिक साधारण सभा)समेत अर्को सुचना जारी नहुँदासम्मको लागि स्थगित गरेको छ। कोरोना त्रासका कारण बैठकमा फिफा र एफसीका प्रतिनिधिहरु समेत उपस्थित नहुने भएपछि कार्यक्रम स्थगित गरेको एन्फाले जनाएको हो।

प्रतिक्रिया