टाइब्रेकरमा मछिन्द्र फुटबल क्लबलाई पराजित गर्दै थ्री स्टार क्लब पोखरामा जारी आहा-रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वार्टरफाइनलमा मछिन्द्रलाई टाइब्रेकरमा ४-२ गोल अन्तरले हराउँदै थ्री स्टारले अन्तिम चारमा स्थान बनाएको हो।
पाँचपटकको च्याम्पियन थ्री स्टारले जारी सिजन पहिलो खेल खेलेको हो। टाइब्रेकरमा थ्री स्टारका दिपेश घले, फोडे फोफोना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे।
मछिन्द्रका दिवाकर चौधरी र सनिष श्रेष्ठले मात्र गोल गरे। विशाल घलानको प्रहार क्रसबारमा लाग्दै बाहिरियो। आदित्य शाक्यको प्रहार थ्री स्टारका गोलरक्षक सरिन जिसीले बचाएपछि टोलीले अन्तिम चारको यात्रा तय गरेको हो।
निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलियो।
अतिरिक्त समयमा पहिलो हाफको इन्ज्युरी समयमा थ्रीस्टारका फोडे फोफोनाको प्रहार बारमा लाग्दै बाहिरिदा अग्रताको सुन्दर मौका गुम्यो।
पहिलो हाफको १९ औं मिनेटमा थ्रीस्टारका दिपेश घलेको प्रहार क्रसबारमा लाग्दै बाहिरिँदा अग्रता बनाउने सुन्दर मौका गुमायो। २२ औँ मिनेटमा मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठअघि बढेको अवस्थामा आशिष चापागाईँको प्रहार डिफेन्डरले क्लीयर गरिदिए।
२४ औ मिनेटमा कमल श्रेष्ठको कर्नरमा एलेक्स विलियमको प्रहार क्रसबार माथिबाट बाहिरियो। खेलको ९० औ मिेनेटमा मछिन्द्रका आदित्य शाक्यको फितलो प्रहार सिधै गोलरक्षक अभिषेक बरालको हातमा पुग्यो।
थ्री स्टारले अब सेमिफाइनलमा थन्डरबोल्ट र ब्ल्याक बुल्स एफसी उज्वेकिस्तान बीचको खेलको विजेतासँग माघ २९ गते खेल्नेछ।
प्रतियोगिताको तेस्रो क्वार्टरफाईनलमा भोलि सोमबार साविक विजेता त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाईटेड क्लब भिड्नेछन्। चर्च ब्वाइजले प्रि-क्वार्टरफाइनलमा सडनडेथमा एनआरटीलाई हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो।
Shares

प्रतिक्रिया