खेल


ललितपुर महानगरको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल हुँदै

ललितपुर महानगरको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल हुँदै

फाइल तस्बिर


नेपालखबर
चैत ८, २०८१ शुक्रबार १२:४८, काठमाडौँ

ललितपुर महानगरपालिकाको आयोजनामा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आगामी हुने भएको छ। 

ललितपुर महानगरपालिकाले आफ्नो १०६ औँ वार्षिकोत्सवको अवसरमा चैत १० देखि १५ सम्म प्रतियोगिता गर्न लागेको हो।

शुक्रबार पत्रकार सम्मेलन गर्दै महानगरले आफ्नो वार्षिकोत्सवका अवसरमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा महिलातर्फ ८ र पुरुषमा १४ टोली सहभागी हुनेछन्।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास र विस्तारको लागि यस प्रतियोगिताले टेवा पुग्ने विश्वास महानगरले लिएको छ। प्रतियोगितामा बागमती प्रदेशका पालिकास्तरीय टोली मात्र सहभागी हुन पाउनेछन्। टिममा राष्ट्रिय टिमका सदस्य, विभागीय टोलीका र विदेशी खेलाडीहरू समावेश गर्न नपाइने आयोजकले स्पष्ट पारेको छ।

नयाँ प्रतिभाशाली खेलाडीलाई प्रतिभा देखाउने अवसर दिन र पालिकाहरूबीच सुमधुर सम्बन्ध स्थापित गर्न पनि यस किसिमको आयोजना गरिएको आयोजकको भनाइ छ।

महिलातर्फ आयोजक ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, चन्द्रागिरि नगरपालिका, धादिङकको नीलकण्ठ नगरपालिका, सिन्धुपाल्चोकको हेलम्बु नगरपालिका, नुवाकोटको दुप्चेश्वर नगरपालिका र दोलखाको बिगु गाउँपालिकले प्रतिस्पर्धा गर्नेछन्। 

पुरुषमा ललितपुर महानगरपालिका, बागमती गाउँपालिका, महांकाल गाउँपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, मेलुङ गाउँपालिका, मन्थली नगरपालिका, महांकाल–४ सीएलसी, दुप्चेश्वर गाउँपालिका, पनौती नगरपालिका, गल्छी नगरपालिका, पञ्चकन्या गाउँपालिका, काठमाडौँ महानगरपालिका र मेलम्ची नगरपालिकाले चुनौती प्रस्तुत गर्नेछन्।

महिला र पुरुष दुवैमा शीर्ष तीन स्थानमा रहने टोलीले समान दुई लाख, एक लाख र ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले समान १० हजार रुपैयाँका साथै विधागत उत्कृष्ट अन्तर्गत स्पाइकर, सेटर, ब्लकर, लिबेरो र प्रशिक्षकले पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad