नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा आइतबार संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै सुखद् सुरुवात गरेको छ।
मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाहुना टोली युएईलाई डीएल मेथडअनुसार ५ रनले हराएको हो। यससँगै नेपालले टेस्ट राष्ट्र अफगानिस्तान, युएई, ओमान र हङकङ सम्मिलित यू-१९ विश्वकप एसिया छनोटमा सुुखद् सुरुवात गरेको छ।
छनोटको विजेताले सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने विश्वकप खेल्नेछ। अघिल्लो संस्करणको छनोटमा विजेता बन्दै नेपालले विश्वकप खेलेको थियो। यसपल्ट पनि नेपालले सुखद् सुरुवात गरेको छ। अफगानिस्तानले पनि आईतवार नै ओमानमाथि ८ विकेटको जित निकाल्दै सुखद् सुरुवात गरेको छ।
नेपाल र युएईबीचको खेलमा मैदानमा हिलो भएपछि टस गर्न ढलाइ हुँदा ४० ओभरमा छोट्याएको थियो। कप्तान नरेन भट्टको अर्धशतक प्रेरित नेपालले २०१ रनको लक्ष्य दिएको थियो। जवाफी लक्ष्य पछ्याएको युएई ३६औं ओभरमा १७१-७ को अवस्थामा हुँदा खेलकै बीच वर्षा भयो। त्यसपछि खेलका अम्पायरले खराब प्रकाशका कारण थप खेल हुन नसक्ने निर्णय दिन लागेका थिए। तर युएईका खेलाडीले विरोध जनाए। लामो समय पर्खाइपछि मात्र अम्पायरले खराब प्रकाशका कारण खेल हुन नसक्ने निर्णय दिए र नेपालले साँघुरो अन्तरले जित निकाल्यो। त्योभन्दा केही ओभरदेखि नै नेपाल र युएईबीच डीएल मेथडअनुरूप अगाडि रहन प्रतिस्पर्धा चलिरहेको थियो। अन्ततः त्यसमा नेपालले सफलता पाएको हो।
युएईका यायिन किरण राईले अविजित शतक प्रहार गरे पनि वर्षा बाधक हुँदा आफ्नो टोलीलाई जित दिलाउन सकेनन्। उनी र उदीश सुरी क्रिजमा थिए। युएईलाई अन्तिम २४ बलमा ३० रन आवश्यक थियो। पूरै ओभर हुँदा उत्कृष्ट ब्याटिङ गरिरहेका किरण नेपालका लागि घातक हुन सक्थे। तीन मात्र विकेट रहेकाले नेपाली बलरले पनि खेल आफ्नो पक्षमा पार्न सक्ने अवस्था थियो। तर, खेल हुन सकेन। त्यसअघि नेपालले पहिलो ओभरमा नै युएईका ओपनरद्वय आयन मिसबाह ४ र अक्षत राईलाई शून्यमा आउट गर्दै राम्रो सुरुआत गरेको थियो। तर तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका किरणले धैर्यपूर्वक ब्याटिङ गर्दै इनिङ सम्हाले।
किरणले चौथो विकेटका लागि मोहमद रायन खानसँग ७५ रनको साझेदारी गरे। रायन खान ५३ बलमा ३५ रन जोडेर आउट भए। त्यसपछि भने नेपाली बलरले अर्को छेउबाट विकेट लिँदै साझेदारी बन्न दिएनन्। करण धिमानले १५ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। तर, किरण राईले ९६ बलमा आठ चौका र पाँच छक्का हिर्काउँदै शतकीय इनिङ खेले।
नेपालको बलिङमा सन्तोष यादव र अशोक धामीले समान दुई विकेट लिँदा अभिशेक तिवारी र नरेन भट्टको नाममा समान एक विकेट रह्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै दुई सय रनको योगफल बनाएको थियो।
नेपालका लागि नरेनले सर्वाधिक ६७ रनको योगदान दिए। उनले ७५ बलमा सात चौका हिर्काए। दिलसद अलीले ३४, शहिल पटेलले ३२, नीरजकुमार यादवले १८, सन्तोष यादवले ११ र अशोक धामीले अविजित १० रन बनाए। युएईको बलिङमा युदिश सुरीले तीन, युग शर्मा र शलोम डी सुजाले समान दुई तथा अली अस्गर सम्स र करण धिमनले समान एक विकेट लिए। नेपालले दोस्रो खेल ओमानसँग सोमबार नै खेल्नेछ।
Shares

प्रतिक्रिया