खेल


लन्डन म्याराथनमा सन्तोषीसँगै सयौँ नेपालीको आत्म गौरवको दौड

लन्डन म्याराथनमा सन्तोषीसँगै सयौँ नेपालीको आत्म गौरवको दौड

प्रजय शुक्ल
बैशाख १०, २०८२ बुधबार ६:३१, लन्डन

विश्वप्रसिद्ध लन्डन म्याराथनमा सहभागिता जनाउन नेपाली ओलम्पियन सन्तोषी श्रेष्ठ बेलायत आइपुगेकी छन्। यही आइतबार लन्डनमा हुने विश्वप्रसिद्ध दौडमा ५६ हजारभन्दा बढी धावकले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ। 

दौडमा सन्तोषी नेपालकी प्रतिनिधि मात्र नभइ, हजारौँ युवा युवतीका लागि प्रेरणाको स्रोत बन्नेछिन्।

लन्डन म्याराथन विश्वकै सबैभन्दा ठूला म्याराथनमध्येमा पर्छ। यसपटक नेपालीको उपस्थिति पनि ऐतिहासिक बन्ने अपेक्षा गरिएको छ। यस म्याराथनमा करिब एकसय नेपालीको सहभागिता रहनेछ, जसले नेपाली समुदायको एकता र सशक्त उपस्थितिको प्रतिनिधित्व गर्नेछ।

धादिङको सानो बस्तीबाट यात्रा सुरु गरेकी सन्तोषीको जीवन कथा संघर्ष र सम्भावनाको प्रतीक हो। 

नेपालका दुर्गम पहाडहरूबीचबाट सुरु भएका उनका दौडका पाइला आज लन्डनका सडकमा अघि बढ्नु आम नेपालीका लागि गौरबको विषय हो। 

उनी हाल नेपाल रन यूकेको आर्थिक सहयोगमा बेलायत आएकी हुन्। उनी भन्छिन्, ‘धेरैले भने– तिमीले के गर्न सक्छ्यौ?’ तर म दौडिरहेँ। दौडिरहँदा आफैँसँग प्रतिस्पर्धा गर्न सिकेँ।’

१३ औँ दक्षिण एसियाली खेलकुदमा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी सन्तोषीले बंगबन्धु शेख मुजीब म्याराथन, ढाकामा २ घण्टा ४६ मिनेट २२ सेकेन्डको राष्ट्रिय कीर्तिमानसहित पुनः स्वर्ण हात पारिन्। 

उनले गत वर्ष पेरिस ओलम्पिकमा पनि सहभागिता जनाएकी थिइन्। हाल उनी दृढ आत्मबल लिएर लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्न तयार छिन्। 

यो लन्डन म्याराथनमा सन्तोषी श्रेष्ठको सहभागिता उनको व्यक्तिगत सफलताको लागि मात्र होइन, नेपाललाई विश्वभर चिनाउने एक अवसर पनि हो। सन्तोषी भन्छिन्, ‘म अघिल्लो समयलाई तोड्न चाहन्छु। यो दौड केवल प्रतिस्पर्धा होइन, आफनो सीमा चिर्ने संघर्ष पनि हो।’

नेपाल रन यूकेका संस्थापक सन्तोष राई पनि दौरा सुरुवालमा म्याराथन दौडिने तयारीमा छन्। गिनिज वल्र्ड रेकर्डको प्रयाससहित दौडमा सहभागी हुन लागेको राईले बताए। ‘हामी खेलमार्फत नेपाली संस्कृति र पहिचानलाई विश्वमञ्चमा पु¥याउन चाहन्छौँ,’ उनले भने।

उनको प्रयासमा लन्डन म्याराथन च्यारिटीमार्फत जुम्लामा प्रस्तावित ‘हाई अल्टिच्युड ट्रेनिङ क्याम्प’ को लागि कोष संकलन गरिँदैछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad