खेल


नोभेम्बरमा कीर्तिपुर पुग्दा हुनेछ फरक अनुभव, मैदान र फ्लडलाइट निर्माण सकिँदै (भिडिओ)


लक्ष्मी जि.सी
जेठ ३ , काठमाडौँ

आउँदो नोभेम्बरमा घरेलु मैदानमा हुने खेल हेर्न कीर्तिपुरमा पुग्दा तपाईंले फरक अनुभव गर्न पाउनुहुनेछ। यसअघिजस्तो घाँसे मैदानमा बस्नुपर्ने छैन। रुख चढेर पनि हेर्नुपर्ने छैन। किनकि, यतिबेला धमाधम प्यारापिट निर्माणको काम भइरहेको छ।

अहिलेसम्म ६८ प्रतिशत काम सकिएको छ। बाँकी काम असार मसान्तभित्र सक्ने निर्माण कम्पनीले दाबी गरेको छ। 

प्यारापिट निर्माणका लागि अहिले अन्तिम ढलानको तयारी भइरहेको छ। भिरालो ढलानमाथि सिधै कुर्सी राखिनेछ। पूर्वी ब्लकमा २३ हजार वर्गफिट क्षेत्रफलमा दुई ब्लक हुनेछन्। त्यहाँ कुर्सीभन्दा अघिको अन्तिम ढलानका लागि काम भइरहेको छ।

अबको ८ देखि १० दिनभित्र कुर्सी राख्न‍े काम सुरु हुने बीकेओआई–केसीडीसी–बीजी जेभीका प्यारापिट निर्माण परियोजना निर्देशक भरत गिरीले नेपालखबरसँग बताए।  

भिडिओ :

मैदान र फ्लड लाइट निर्माणका लागि दुई फरक कम्पनीले ठेक्का पाएका छन्। ४३ करोड ७७ लाख रूपैयाँमा बीकेओआई–केसीडीसी–बीजी जेभीले मैदान निर्माणको ठेक्का पाएको छ। समयमै काम सक्न अहिले तीव्र गतिमा काम भइरहेको कम्पनीले बताएको छ।

फ्ल्ड लाइड जडानको ठेक्का भने विशाण–ईश्वरी जोइन्ट भेन्चरले २७ करोड ४० लाख रूपैयाँमा पाएको छ। प्यारापिटपछाडि ६ वटा प्वइन्ट राखेर यसको काम भइरहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि टीयू क्रिकेट मैदान तीन सय दिनमा सक्ने बताएका थिए। प्रधानमन्त्रीको घोषणासँगै सहरी विकास मन्त्रालयले वैशाखभित्र नै काम सक्ने दाबी गरेको थियो।

तर टीयू मैदान न त प्रधानमन्त्रीले भनेको समयमा नै सकियो, न त सहरी विकास मन्त्रालयले भनेकै अवधिमा। सोही कारण उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मैदानको अवलोकन गर्दै तोकिएको समयमा काम सक्न भनेका थिए।

मैदान बनाउन तोकिएको समयमध्ये २ सय ३४ दिन प्रक्रियामै सकिएको डाइरेक्टर भरत गिरीले बताए। 

'पहिला ३ सय दिनमा सक्ने योजना असम्भव थिएन। तर डीपीआर गर्ने, टेन्डरलाई प्रक्रियामा लैजाने, ठेकेदार छनोट गरेर सम्झौता गर्ने काममा २ सय ३४ दिन बित्यो। त्यसमा निर्माण पक्षले ६६ दिन मात्र पायौँ। ६६ दिनमा पनि १२ दिन पानी र चार दिन चाडपर्वका कारण होल्ड भयौँ। त्यसपछि वेष्ट ब्लकमा लास्ट ग्रिडको काम भइरहँदा पानीको कारण ल्यान्ड स्लाइड हुँदा एक मिटर गहिराइमा पुगेर काम गर्न पर्‍यो। सोही कारण नै समय थप भएको ह,' उनले नेपालखबरसँग भने।

'प्रधानमन्त्री केपी शर्मा ओलीले तोकेको समयमा निर्माण सम्पन्न हुने नदेखिएपछि असार मसान्तसम्म समय थप भएको छ। अहिलेसम्म ६५ देखि ६८ प्रतिशत काम समिएको छ। बाँकी काम असार मसान्तसम्म काम सकिन्छ। ढलानको काम जेठ २०-२२ सम्ममा सकिन्छ र कुर्सी राख्न असारका केही दिन लाग्छ,' उनले थपे।

अब एक साता वर्षा नभए माटोको काम सकिने र अबको एक साता पानी परेन भने अझ छिटो काम सकिने उनको भनाइ छ।

'लगातार पानी पर्दा भने केही समस्या हुन सक्छ,' गिरीले भने।

प्यारापिट निर्माणको काम भइरहँदा अहिलेसम्म भुक्तानीमा कुनै समस्या नभएको गिरीले बताए।

'हामीले काम सकेर बिल बुझाएअनुसार ५० प्रतिशत भुक्तानी पाएका छौँ। अब उहाँहरूले पनि बिल हेरेर भुक्तानी प्रक्रियामा जानुपर्ने हुँदा हामीलाई अहिलेसम्म केही समस्या भएको छैन,' उनले भने।

तस्बिर/भिडिओ : सरोज नेपाल

जेठ ३, २०८२ शनिबार १०:१७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad