खेल मात्रै यस्तो माध्यम हो, जसले सभ्यता र अनुशासनको पहिचानसहित राष्ट्रिय एकताको सन्देश दिन्छ।
कम लगानी र धेरै उपलब्धि खोज्ने नेपालजस्तो राष्ट्रका लागि त खेलबाट अन्तर्राष्ट्रिय मञ्चमा पदक हात पार्नु अझ दुर्लभ कुरा हो।
तर केही लगानी गरे नेपाली खेलाडीले पनि छोटो समयमै देशको शिर अन्तर्राष्ट्रिय मञ्चमा उँचो बनाउन सक्छन् भन्ने उदाहरण बनेकी छन्, करातेकी एरिका गुरुङ।
एसियाली खेलकुदकी रजत पदक विजेता एरिकाले कराते–१ प्रिमियर लिगमा नेपाललाई ऐतिहासिक काँस्य पदक दिलाएर नेपाली खेलकुदलाई फेरि एउटा ठूलो गुन लगाएकी छिन्।
आइतबार राति मोरक्कोको रवातमा सम्पन्न महिला ६८ केजीमाथिको तौल समूहमा एरिकाले काँस्य पदक जित्दै नेपाली करातेलाई थप उचाइमा पुर्याएकी छिन्। उनै करातेकी एरिकालाई मंगलबार त्रिभुवन विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरियो।

पछिल्लो २ वर्षमा एरिकाको यो नवौँ पदक हो। नेपाल फर्किएपछि एरिकाले भनिन्, 'यो ठूलो क्षण हो तर यसलाई म नयाँ सुरुवात भन्न चाहान्छु। यसलाई मैले नयाँ सुरुवातको रुपमा लिएको छु।
'पहिलो सहभागितामा नै पदक आयो तर आगामी दिनमा त्यहाँ हाम्रो लागि धेरै कुरा छ,' उनले भनिन्, 'उपलब्धीअनुसार राष्ट्रिय खेलकुद परिषद्ले जुन लगानी गरेको छ, त्यो लगानीले नै मलाई तयार पारिरहेको छ।'
स्वर्णको लक्ष्य बोकेकी एरिका रजतमै रोकिएपछि भन्छिन्– खुसी र दुखी दुवै छु (भिडिओ)
प्रिमियर लिगमा एरिका प्रशिक्षकबिनै मोरक्को पुगेकी थिइन्। तर उनले आफूलाई कहिल्यै एक्लो महसुस हुन दिइनन्। 'त्यहाँ म एक्लै गएँ पनि मलाई पूरा नेपालले हेरिरहेको थियो। नेपाल नै मसँग थियो। यो पदक पहिला मैले नेपालको लागि जितेको छु, दोस्रोमा राष्ट्रिय खेलकुद परिषद्का लागि, सबै खेलाडी, प्रशिक्षक अनि अन्तिममा मात्र मेरो लागि हो,' उनी थप्छिन्, 'त्यहाँ प्रशिक्षक नभएको अभाव भएन। हरेक खेलपछि म नेपालमा प्रशिक्षकसँग कुरा गरिरहेको हुन्थेँ, कमजोरीबारे सोधिरहेको हुन्थेँ। यसरी पनि मैले धेरै कुरा सिक्न पाएँ। टेक्निकल रुपमा म केही कमजोर भएकै हो।'
उनले मोरक्कोमा रजिष्ट्रेसन गर्दा नेपाल सुन्दा धेरै दंग सुनिएको पनि बताइन्। 'त्यहाँ जादा रजिष्ट्रेसन गर्ने बेलामा सुरुमा पहिलो पटक नेपाल सुन्दै छु भनेका थिए,'आफ्नो यात्राबारे अनुभव सुनाउँदै भनिन्, 'पछि पहिले नेपाल सुन्दा दंग हुनुहुनेहरू नै पहिलोपटकको सहभागितामै पदक जित्दा उ धेरै प्राउड फिल भएको छ भन्नु भयो। मलाई पनि खुसी लाग्यो।'

उनले खेलपछि यहाँ रहेका प्रशिक्षकसँग कुरा गरिन्। कमजोरीहरूबारे सोधिन्। उनले मेडल पाएको खुसी साट्न भने राम्रो क्षण पर्खिरहेको सुनाइन्।
एरिकालाई एक्लै हुँदा पदक जितेको खुसी साट्न पनि कोही भएनन् है भन्ने प्रश्न प्रशिक्षक कुशल श्रेष्ठ भन्छन्, 'उसले मेडल जितेपछि पहिला मलाई नै फोन गरिन् होला त्यो मेरो लागि पनि गर्वको कुरा हो। नेपाली प्रशिक्षकले पनि विश्व च्याम्पियन जन्माउन सक्छ भन्ने भइरहेको छ।'
कराते–१ प्रिमियर लिग विश्वका शीर्ष ३२ मा रहने खेलाडीले खेल्ने प्रतियोगिता हो। तर एरिकाले आवेदन दिने समयमा उनी ५७ वरीयतामा थिइन्। प्रिमियर लिगमा वरीयताको ६४ सम्म रहने खेलाडीले आवेदन दिन पाउँछन् त्यहाँ कोही खेलाडी अनुपस्थित भए भने ति खेलाडीले स्पर्धा गर्न पाउँछन्।
करातेकी स्टार ‘एरिका’, जसको मेहनतले दिलायो एकै वर्षमा दुई ऐतिहासिक पदक
'यसअघि पनि एरिकाको लागि प्रयास गरिरहेका थियौँ तर रिजेक्ट भइरहेको थियो। यो पटक संयोगवस रिप्लेसमेन्टका लागि आवेदन दिएका थियौँ त्यसमा हामी सफल भयौँ। उताबाट एरिका रिप्लेसमेन्टबाट रजिष्ट्रेसनका लागि योग्य भएको खबर आयो,' उनले भने, 'अनि हामीले रजिष्ट्रेसनका लागि काम गर्यौँ, उनको भिषा प्रक्रिया सुरु गर्यौँ। त्यो समयमा सबै तौल समूहमा संसारभरबाट चार जनाले मात्र मौका पाएका थिए। त्यसमा एरिकाले मौका पाइन्। हाम्रो लक त्यहीँबाट नै सुरु भइसकेको थियो।'
एरिकाले एसियन च्याम्पियनसिप र एसियाडमा पदक ल्याउँदा अन्य खेलाडीको पनि स्तरोन्नती भइरहेको अनुभव प्रशिक्षक श्रेष्ठले गरेका छन्। एसियन च्याम्पियनसिप जितेपछि एरिकाको वरीयता ५७ बाट ५० मा आएको थियो। अहिलेको प्रतियोगितापछि वरियता आइसकेको छैन।
प्रिमियर लिग खेलेपछि एरिकाको अनुभव छ- विदेशी खेलाडी र हाम्रो स्तर एकै छ। तर हामीमा आत्मविश्वासमा केही कमीमात्र हो। मेहनत गरे अनुसारको फल चाँही आउँछ। हामीलाई च्याम्पियन बन्नु छ। यो अवसर पाउनु नै ठूलो कुरा हो, प्रिमियर लिगमा नाम राख्नु नै गाह्रो कुरा हो। अझै धेरै समय छ। सपनाहरू कहिल्यै पनि पूरा हुँदैनन्। '
कराते महासंघका अध्यक्ष युवराज लामाले अहिले देशभरका कराते खेलाडीको स्तरोन्नती भएको दाबी गर्छन्। 'अहिले एरिकापछि पनि नयाँ खेलाडीहरू पदक जित्ने लाइनमा छन्। यो पदक भनेको खेलाडी र प्रशिक्षकको रगत पसिनाको फल हो,' लामाले भने, 'दक्षिण एसियाली क्षेत्रमा हामी पावर हाउस हुँदैछौँ। करातेको हरेक इभेन्टमा हामीले पदक ल्याएका छौँ।'
एसियन गेम्स : २५ वर्षपछि व्यक्तिगत स्पर्धामा एरिकाले दिलाइन् नेपाललाई रजत पदक
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले नेपाली करातेले सफलताको उचाइ छुँदै गएको बताउँछन्। 'करातेले पछिल्लो दुई वर्षमा पदकहरू ल्याइरहेको छ। एरिका र प्रशिक्षक नेपाली करातेका लागि बाहिर जाने हरेक प्रतियोगिताको खर्च राखेपले व्यहोर्ने छ,' घिसिङले भने। उनले मिसन २०२६ दोहोरो स्वर्णसहितको पदक तालिकाका लागि राखेपले काम गरिरहेको दाबी गरे।
Shares

प्रतिक्रिया