दक्षिण एसियाको महिला फुटबलमा केही वर्ष अघिसम्म नेपालका लागि मुख्य चुनौती भारत हुने गर्थ्यो। त्यसको कारण हो- दक्षिण एसियाली खेलकुद (साग) का सबै फाइनल र साफ च्याम्पियनसिपमा पनि खेलेका सबै फाइनलमा नेपाल भारतसँग नै पराजित भएको इतिहास छ।
साफ च्याम्पियनसिपको पछिल्लो दुई संस्करणमा नेपालले भारतविरुद्धको आफ्नो हरेक पटक हार्ने छविलाई बदलेको छ। काठमाडौंमा भएका पछिल्ला दुवै संस्करणको सेमिफाइनलमा नेपालले भारतलाई हरायो। तर पनि नेपाल च्याम्पियन बन्न सकेन, कारण थियो बंगलादेश। नेपालले बंगलादेशसँगको दुवै फाइनल हार्यो। त्यसअघिको च्याम्पियन भारत र नेपाललाई बंगलादेशले एउटै संस्करणमा पछाडि छाड्यो। बंगलादेश नयाँ शक्ति बनेर उदायो।

अब नेपालका लागि भारतभन्दा ठूलो चुनौती बंगलादेश बनेको छ। अब त झनै बलियो प्रतिद्वन्द्वीको छवि बंगलादेशले बनाएको छ। बंगलादेशको महिला फुटबल इतिहासमा पहिलो पटक एएफसी एसियन कप छनोट चरण पार गर्न सफल भएको छ।
अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन महिला कप २०२६ का लागि अहिले छनोट चलिरहेको छ। बंगलादेशले समूह चरणको अन्तिम खेलअघि नै एसियन कपमा पुग्ने इतिहास रचिसकेको छ। झन्डै दुई वर्षअघि नेपालबाट साफ च्याम्पियनसिप जितेर फर्केपछि बंगलादेशको महिला टोली विवादमा फसेको थियो। समयसँगै स्थित सामान्य बनाएर छनोट यात्रामा निस्केको बंगलादेशले महिला फुटबलमा सफल नतिजा निकाल्दै एसियाको ध्यान खिचेको छ।
यता नेपाली महिला टोलीको आन्तरिक विवाद छताछुल्ल भएको छ। छनोट यात्रामा निस्किनु अघिबाटै यसपटक महिला टोलीमा नयाँ कप्तानको चर्चा चलेको थियो। कप्तानको जिम्मेवारी नतोकी उज्वेकिस्तान उडेको टोलीको लाओससँगको पहिलो खेलअघि कप्तान विवादको विषय बन्यो।
एन्फाले पहिला जारी गरेको प्लेइङमा रेनुका नगरकोटे कप्तान थिइन्। तर, मैदानमा सावित्रा भण्डारी (साम्बा) ले कप्तानको ‘आर्मब्यान्ड’ लगाइन्। फेरि म्याच रिपोर्टमा रेनुका नै कप्तान थिइन्।

खेलअघिको ड्रेसिङ रुपको माहोल सहज रहेन। टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले साम्बालाई कप्तान तोके। तर त्यसअघि नै टोलीका म्यानेजर वृन्दा देवान र हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ मलेखुले कप्तानमा रेनुकाको नाम राखेका थिए। त्यही विषयमा डि वाइल्डको देवान र मलेखुसँग चर्काचर्की भयो। अन्त्यमा देवानले नै साम्बालाई कप्तानको ‘आर्मब्यान्ड’ लगाउँदै माहोललाई शान्त पार्ने प्रयास गरिन्। दोस्रो खेलमा साम्बा नै कप्तान भएपछि अहिले अवस्था केही शान्त देखिएको छ।
प्रशिक्षक डि वाइल्डले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई घटनाका बारेमा इमेल गरेका छन्। घटनापछि एन्फा कसलाई स्पष्टीकरण सोध्ने भन्नेमा दुविधामा रहेको बुझिएको छ। एन्फाका एक पदाधिकारीले सबै घटनाक्रम बाहिरिएपछि एन्फामा खैलाबैला मच्चिएको बताएका छन्।
ती पदाधिकारीको भनाइ मान्ने हो भने अमूक खेलाडीको पृष्ठपोषण गर्ने प्रवृत्तिले नेपाली टोलीमा परेको असरको स्पष्ट चित्र अहिले बाहिरिएको छ।
यसअघिका प्रशिक्षक, केही खेलाडी र एन्फा पदाधिकारीले महिला टोलीभित्र गुट छैन भन्ने गरे पनि त्यसको केही झलक यसअघिका प्रतियोगितामा देखिएको थियो। कतिपय खेलाडी एकअर्कासँग सहज छैनन् भन्ने आकलन मुख्य प्रशिक्षक डि वाइल्डले टोली सम्हालेको केही दिनमै गरिसकेको बताइन्छ। त्यसैले उनले खेलाडीलाई त्यसबारे सचेत गराइसकेका थिए।
घरेलु फुटबलको कार्यकारी निकाय एन्फा आफैँ अधिकांश समय आन्तरिक किचलोमा रहन्छ। त्यसको केही असर महिला टोली परेको देख्न सकिन्छ। यसअघि टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङ अहिले सहायक प्रशिक्षकमा रहनु, टोलीको मुख्य प्रशिक्षक परिवर्तन भइरहँदा व्यवस्थापनमा रहनेले निरन्तरता पाइरहनुले प्रश्न जन्माएकै छ।
महिला फुटबलले जोगाइरहेको एन्फाको साख
फुटबलमा एन्फा नेतृत्वको चर्काे आलोचना हुने गरेको छ। त्यसका बाबजुद महिला टोलीको प्रदर्शनका कारण समय समयमा नेतृत्वमाथिको आलोचना केही मत्थर हुने गरेको छ।
तर त्यही महिला फुटबलमा लगानी गर्न भने एन्फा अनुदार रहने गरेको छ। उमेर समूहको महिला फुटबल एन्फाको प्राथमिकतामा परेको छैन। सिनियर खेलाडीका लिग, राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, साफ र एएफसीकै प्रतियोगिता कुर्नुपर्ने अवस्था छ। त्यसबाहेक महिला फुटबलमा एन्फाको लगानी र कार्यक्रम छैन। विना लगानी, योजना नै नारामा सन् २०२७ वा २०३१ को विश्वकप खेल्ने भन्ने छ।
उमेर समूहको लिग हुन थाले पनि सिनियर पुरुष खेलाडीले सहिद स्मारक ए डिभिजन लिग खेल्न नपाएको दुई वर्षभन्दा बढी भइसकेको छ।
उमेर समूहमा पनि फिफाको प्रोजेक्टबाहेक एन्फा आफैँले रिसोर्स जुटाएर प्रतियोगिता गर्नसकेको छैन। उमेर समूहमा लगानी गर्न नसक्दा त्यसले भविष्यमा असर गर्ने राष्ट्रिय टोलीलाई नै हो। नयाँ खेलाडी तयार पार्न एन्फा चुकिरहेको छ।
ग्रासरुटमा लगानी
राष्ट्रिय टोली बलियो बनाउन ग्रास रुटमा लगानी कति आवश्यक छ भन्ने उदाहरण अहिले बंगलादेशको टोलीले देखाइरहेको छ। उमेर समूहमा गरेको लगानीको नतिजा सिनियर टोलीले अहिले दिइरहेको छ। जसको प्रत्यक्ष फाइदा अहिले बंगलादेशको टोलीले उठाइरहेको छ।
बंगलादेशले महिला र पुरुषतर्फ उमेर समूहमा लगानी गरिरहेको छ।
लगानीअनुसारको प्रतिफल बंगलादेशको खासगरी महिला टोलीले दिन थालिसकेको छ। तर नेपालको फुटबलको स्तर भने लगातार खस्किँदै गएको छ। महिला टोलीमा धेरै विकल्प तयार हुनसकेको छैन। उमेर समूहमा लगानी गर्न जति ढिला हुन्छ, भविष्यमा सफलताको आशा पनि पछाडि धकेलिँदै जानेछ। बिना लगानी, तयारी नतिजा मात्रको आशा गर्नु खेलाडीमाथि मनोवैज्ञानिक दबाब दिनु मात्रै हुनेछ।
Shares

प्रतिक्रिया