खेल


नेपाली महिला फुटबलका पहिलो मुख्य प्रशिक्षक: कसका छोरी, नातिनी भन्न छाडौँ, खेलाडी छानौँ

नेपाली महिला फुटबलका पहिलो मुख्य प्रशिक्षक: कसका छोरी, नातिनी भन्न छाडौँ, खेलाडी छानौँ

लक्ष्मी जि.सी
असार २८, २०८२ शनिबार ९:२६, काठमाडौँ

एक समय थियो, जब नेपाली महिला फुटबलमा खेलाडी पाउनु चानचुनको कुरा हुन्थेन। प्रतियोगिताको मिति नजिकिँदै गर्दा प्रशिक्षकहरू गाउँतिर दौडिन्थे- न त छनोट टोली हुन्थ्यो, न त सहज पहुँच। छोरी माग्न जाँदा जस्तै गरी, प्रशिक्षकहरूले घरघरमा पुगेर अभिभावकलाई सम्झाउनुपर्ने अवस्था हुन्थ्यो। तर अहिले परिस्थिति फेरिएको छ। खेलाडीहरूका लागि खुलेर खेल्ने वातावरण छ। 

राष्ट्रिय महिला फुटबल टोलीका पहिलो मुख्य प्रशिक्षक खेमबहादुर गुरुङ भन्छन्- त्यो समय जस्तो अहिले छैन, अवस्था फेरिएको छ। त्यो समयमा खेलाडी छनोट गर्न पनि मुस्कील पर्थ्यो। एउटै प्रशिक्षकले सबै काम गर्नुपर्ने थियो। अहिले त प्रशिक्षक पनि फरक-फरक छन्। 

नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय महिला फुटबलमा पाइला राख्दा उनै गुरुङले प्रशिक्षकको जिम्मा पाएका थिए। करिब ४० वर्षअघिको विगत सम्झँदै उनी भन्छन्, 'अहिले जस्तो धेरै प्रतियोगिता हुन्थेनन् त्यो बेलामा, वर्षमा दुई वटा प्रतियोगिता मात्र हुन्थ्यो, अन्तर अञ्चलको राष्ट्रिय खेल हुन्थ्यो। अर्को 'स्व.वडा महारानी ऐश्वर्य'को जन्मोत्सवमा वर्थ डे कप हुन्थ्यो। त्यहीबाट खेलाडी छनोट गरेर टिम तयार पार्थ्यौँ।'

सन् १९८६ मा हङकङविरुद्धको खेलअघिको क्षण सम्झँदै पुर्व प्रशक्षक गुरुङले थपे, 'पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको नानीहरू जम्मा गरेर टिम बनाएका थियौँ। पहिलो खेल खेल्न लागेका थियौँ कोहीसँग अन्तराष्ट्रिय खेलको अनुभव थिएन।' 

सो खेलमा नेपाल हङकङसँग १-० गोल अन्तरले पराजित भएको थियो। हङकङबाट फर्किएपछि गुरुङले अन्तराष्ट्रिय एक्सपोजरका लागि टोलीलाई युरोपियन मुलुक वा राम्रो देशमा लैजानुपर्छ भन्ने नभए पनि भारतका नजिक पर्ने बोर्डरतिर गएर खेल संख्या बढाउनु पर्‍यो भन्ने प्रस्ताव राखेका थिए।

'वर्षको दुई वटा खेल खेलेर केही हुँदैन, कि त नेपालमा नै खेलको संख्या बढाउनु पर्‍यो' उनले त्यति बेला भनेको सम्झिए। तर उनले भने जस्तो केही भएन। यद्यपि पहिलाको तुलनामा अहिले महिला फुटबल राम्रो भएको मान्छन् उनी। 

'पहिलो पटक टोली बनाउन एकदमै गाह्रो भएको थियो त्यो बेलामा अहिलेको जस्तो फोनको सुविधा थिएन,' उनले भने, 'त्यो बेलाको र अहिलेको खेलमा सुधार भएको छ। तर नतिजामुखी भएन,' उनले भने, 'सुविधा पाए अनुसार एड्भान्स हुन पर्ने हो। पहिलाको जस्तो छोरीलाई खेल्नै नदिने छैनन्। खेल्न पनि पर्ने रहेछ भन्न थाले। म्याच एक्पोजर पाएका छन्। उमेर समूहमा पनि खेल भइरहेको छ।' 

राजनिति नगरौँ
महिला फुटबलको पछिल्लो राजनीतिलाई लिएर गुरुङले चित्त दुखाए। खेलाडीको कोटामा खेलाडी नै लैजानुपर्ने ठाउँमा अफिसियलको नाममा लावालस्कर जाने काम तत्काल बन्द गर्न उनको सुझाव छ। 

'कस्को छोरी, नातिनि भन्ने कुरा आइरहन्छ। एक्स्ट्रा कोटामा खेलाडीलाई नै लैजानुपर्छ, अफिसियलको कोटा घटाएर पनि खेलाडी लग्यो भने राम्रो हुन्छ। तर हाम्रोमा अफिसियल नै धेरै जान्छन्,' उनी भन्छन्, 'अतिरिक्त कोटामा अफिसियलको साटो खेलाडी लग्यो भने खेल्न नपाए पनि सिकेर आउँछन्। जसको फाइदा पछि टोलीलाई नै हुन्छ। '

गुरुङको प्रशिक्षण यात्रा
गुरुङ फुटबलको प्रशिक्षण गराउन होस् वा फुटबलको गतिविधिका लागि दुर्गम ठाउँतिर पुगिरहेका हुन्थे। उनी फुटबलकै लागि भनेर दाङ, सल्यान तिर गएर प्रशिक्षण पनि दिन्थे। त्यो समयमा अब महिला टोली बन्छ होला तपाईँको नाम आउला है भन्ने खबर उनले पाए। 

उनले भने, 'त्यो बेलामा दुर्गम तिर पनि मैले फुटबल गराईराखेको हुन्थेँ। टिकाराम शाहीले मलाई हङकङबाट खेलका लागि प्रस्ताव आएको भनेर जानकारी गराउनु भयो। अनि म प्रशिक्षक भएँ।'

पहिलो अन्तर्राष्ट्रिय खेलका लागि महिला टोलीले हप्ता दश दिन मात्रै प्रशिक्षण गरेको थियो। महिला टोलीले पहिलो पटक प्रशिक्षण पनि भद्रकालीस्थित आर्मी हेडक्वार्टरको मैदानमा गरेको थियो। उनले सम्झिए, 'दशरथ रगंशालामा अरु कै प्रशिक्षण भइरहेकाले हामीले  आर्मीको मैदानमा प्रशिक्षण गरेका थियौँ।' 

गुरुङ दुई पटक महिला टोली लिएर हङकङ पुगे। त्यसपछि उनी रिटायर्ड भए। विसं २०३५ सालबाट गुरुङ राखेपको प्रशिक्षक भएका थिए। २०३५, ०३६, ०३७ गण्डकीमा, २०३८ मा लुम्बिनीको अञ्चल सचिव २०४९ पछि भारतको पटियालामा गएर प्रशिक्षण लिए। त्यसपछि उनी नेपाल फर्किएर रिटार्यड भए। 

'अहिले त एउटै टोलीमा पनि प्रशिक्षक फरक-फरक छन्। राम्रो भइरहेको छ। सुविधाहरू पनि पाउँछन्। त्यो बेलामा त बिहान बेलुका खाने मात्र थियो' उनले उतिबेलाको सम्झना गरे।  

उमेर ढल्कदै गए पनि गुरुङको स्मरण शक्ति भने अझै उस्तै छ। उनलाई पहिलो पुस्ताका खेलाडीहरूको नाम अझै याद छ। उनी भन्छन्, पोखराकी सीता गुरुङ, स्व. दिलामाया गुरुङ, आइतु गुरुङ, नन्दा गुरुङ, गोलरक्षक गीता गुरुङ थिए। काठमाडौँकी रमा सिहं, सरिता श्रेष्ठ, मुन्ना श्रेष्ठ, नारायणगढबाट अरुणा गुरुङ, मीरा चौधरी, लुम्बिनीको मोतिकला गुरुङ (सहायक गोलरक्षक), कमला हिराचन, भगवती थापा, पाल्पाकी किरण बज्रचार्य, कोशीकी सिता राई, सावित्री राई (डोर कुमारी राई) लक्की गुरुङ टोलीमा थिए।' 

टोलीमा रहेका मध्ये पनि कुन अञ्चलका कुन खेलाडीको चर्चा बढी हुन्थ्यो भन्ने पनि उनले अझै याद छ। 

उनले थपे, 'त्यो बेलामा कोशीमा सावित्री राई, सीता राईको नाम एकदम चर्चामा थियो। बागमतीमा सरिताहरूको नाम आउँथ्यो। लुम्बिनीमा कमला हिराचन, गोलरक्षकमा मोतिकला, फरवार्डमा भगवती थापा, किरण बज्राचार्यको नाम आउँछ। त्यो बेलामा लुम्बिनीको वर्चश्व थियो। '

उनले अहिलेका खेलाडीलाई पनि आफूले राम्रोसँग नियाली रहेको बताए। 

उनले अहिलेको महिला फुटबल टोलीमा रहेकामध्ये गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बा, फरवार्डमा सावित्रा भण्डारी, मिडफिल्डमा प्रिती राई र डिफेन्समा गीता रानालाई राम्रो खेलाडी मान्छन्। 

गुरुङका अनुसार अहिलेको महिला टोली शारिरिक रुपमा बलियो हुन सकेन। 'हामी फिजिकल कै कारण अलि तल पर्ने हो' उनले भने। महिला फुटबलमा अट्याकिङ अलि बढाउनु पर्ने सुझाव उनको छ। उनी भन्छन्, 'अट्याकिङ इम्प्रुभ गर्नुपर्छ जस्तो लाग्छ। बाँकी त अन्य टोलीसँग १९–२० को मात्र फरक हो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad