एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेल १–१ को बराबरीमा सकिएको हो।
दुवै टोलीले पहिलो हाफमा १ गोल गरेपनि दोस्रो हाफमा कुनै टोलीले गोल थप्न सकेनन्।
पहिलो हाफको दसौँ मिनेटमा सेनु परियारको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको थियो।
तर खेलको १८ औँ मिनेटमा केल्डिन वाल्मोले नेपालको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै गोल गरेपछि घरेलु टोली खेलमा फर्किएको थियो। नेपालकी गोलरक्षक अघि बढेको मौकामा उनले तिन डिफेन्डरको बीचबाट गोल गरेकी थिईन्।
बराबरी सँगै दुवै टोलीले समान एक अंक बाँडेका छन्।
आजै भएको समूह चरणको पहिलो खेलमा उत्तर कोरियाले साउदी अरेबियालाई १५–० को फराकिलो अन्तरले हराएको थियो।
समूह चरणको दोस्रो खेलमा नेपालले शुक्रबार साउदी अरेबियासँग खेल्नेछ। समुह चरणको अन्तिम खेलमा २५ गते आइतबार कोरियासँग खेल्ने तालिका छ।
एसियन कप छनोटमा नेपाल रहेको समूहमा आयोजक भुटानसहित उत्तर कोरिया र साउदी अरब रहेका छन्। यो समूहमा रहेको मंगोलियाले भने नाम फिर्ता लिएको छ।
छनोटका सबै खेलहरू थिम्पुस्थित चाङलिमिथान स्टेडियममा हुनेछ। छनोटको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यू-२० महिला एसियन कपमा स्थान बनाउनेछ।
छनोटमा सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। ८ समूहका विजेता टोली, उत्कृष्ट ३ उपविजेता टोलीले एसियन कपमा स्थान बनाउनेछन्।
Shares

प्रतिक्रिया