ओपनर कुशल भुर्तेलको अर्धशतक सहयोगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा कुवेतसामु जितका लागि १ सय ४२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
ओमानको अल एमिरेट्स क्रिकेट मैदान टर्फ १ मा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४१ रनको योगफल तयार पारेको हो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ५६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
दीपेन्द्र सिंह ऐरीले २० रन बनाउँदा रन आउट हुन पुगे। गुल्सन झा २० रन बनाउँदा अनुदिप चेन्थामाराको बलमा बोल्ड आउट भए।
कप्तान रोहित पौडेल १६ रन बनाउँदा क्याच आउट हुन पुगे। सन्दीप जोराले ५ र कुशल मल्ल ४ रन बनाउँदै आउट भए।
सोमपाल कामी १ र नन्दन यादव २ रनमा अविजित रहे। नेपालले अन्तिम ओभरमा २ विकेट गुमाएको थियो।
कुवेतका लागि नविनराज राजेन्द्रनले २ विकेट लिए। मोहम्मद आकिफ फारुक, अनुदिप र मोहम्मद अस्लामले समान एक विकेट आफ्नो नाममा गरे। अहिले कुवेतले ब्याटिङ गरिरहेको छ।
Shares

प्रतिक्रिया