समाज


दैनिक ३०० पढैयाको गन्तव्य बनेको सहरबीचको एउटा महल

१० वर्षमा मन्त्रालय फर्केपछि साँघुरियो ठाउँ
दैनिक ३०० पढैयाको गन्तव्य बनेको सहरबीचको एउटा महल

प्रज्ञा तिम्सिना
असोज २५, २०८२ शनिबार १०:४६, काठमाडौँ

ब्याग र पानीको बोतल बोकेका विद्यार्थीहरू लाइनमा छन्। बिहानको ९ बजे उनीहरू ढोका खुल्ने समय कुरिरहेका छन्। तर, कुनै विद्यालयको होइन, पुस्तकालयको।

आफ्नै पाठ्यसामग्री बोकेर आएका उनीहरू लोकसेवा, शिक्षक सेवा, प्रवेश परीक्षा र कलेजको परीक्षा लगायतको तयारी गर्न जमलस्थित केशर पुस्तकालय पुग्छन्। 

पुस्तकालयको ढोका खुलेसँगै उनीहरू अध्ययनमा तल्लीन हुन्छन् दिनभर। साँझ ६ बजेसम्मको दैनिकी यस्तै हुन्छ उनीहरूको। 

पुस्तकालयमा पढ्न पुग्नेको भीडमा प्रवेश परीक्षाको तयारी गर्न आएकी १९ वर्षीया सुदिना लामा पनि छिन्। 

नुवाकोट घर भएकी उनी यसरी नै पुस्तकालय गएर पढ्न थालेको ३ महिना भइसक्यो। कक्षा १२ को नजितापछि चितवनको रामपुरस्थित कृषि विश्वविद्यालयमा कृषि विषयमै अध्ययन गर्न प्रवेश परीक्षाको तयारी गर्न उनी दैनिक पुस्तकालय जाने गरेकी छन्। 

बालाजुको माछापोखरी बस्ने उनी घरमै बसेर तयारी गर्न सक्दिनन्। सडक छेउमै बास हुँदा गाडी र आवाजले बाधा गर्छ। त्यसैले शान्त ठाउँ खोज्दै उनी केशर पुस्तकालय पुगेकी हुन्।

उनी भन्छिन्, ‘घरमा बसेर पढ्दा प्रवेश परीक्षालाई तयारी नपुग्ने लाग्यो। केशर पुस्तकालयमा निःशुल्क बसेर पढ्न पाइने भन्ने थाहा पाएपछि आउन थालेकी हुँ।’ 

सुरुमा बिहान ९ बजे नै खुल्ने पुस्तकालयमा पढ्न आउँदा उनी अत्तालिन्थिन्। पठन कक्ष भरिभराउ हुन्थ्यो, कहाँ बस्ने, कता पढ्ने? यसमै अलमल हुन्थ्यो। पछि बानी पर्दै गयो।

‘पुस्तकालयको नयाँ भवनमा जहाँ पनि बसेर पढ्न पाइने भएपछि नियमित आउने गरेकी छु,’ उनले भनिन्।

२० वर्षीया हेमा गुरुङ पनि चिकित्सा शिक्षा (एमबीबीएस) को प्रवेश परीक्षाको तयारी केशर पुस्तकालयमै बसेर गरिरहेकी छिन्। धादिङ घर भएकी हेमा क्षेत्रपाटीमा बस्दै आएकी छन्। १ वर्षदेखि एमबीबीएसको तयारी गरिरहेकी हेमा छात्रवृत्तिमा नाम निकाल्न चाहन्छिन्। त्यसैले उनको दैनिक गन्तव्य हुन थालेको छ केशर पुस्तकालय।

‘आवाज निकालेर पढ्ने बानी भएकाले म धेरैजसो बाहिर चौरमा बसेर पढ्ने गरेकी छु। बस्ने स्थान जति पनि छ। हरियो चौर पनि भएकाले चौरमा बसेर पढ्न सजिलो भएको छ,’ उनी खुसी हुँदै सुनाउँछिन्। 

कोठामा बसेर पढ्दा वरपरको हल्लाले पढ्न असहज भएका कारण नै उनले पनि पुस्तकालयलाई अध्ययन केन्द्र बनाएकी हुन्। 

‘गत वर्ष छात्रवृत्तिमा नाम निस्किएन। यो वर्ष त जसरी पनि नाम निकाल्ने सोच छ,’ उनी दृढ सुनिन्छन्। 

असन बस्ने सुजित प्रजापतिको दैनिकी पनि सुदिना र हेमाको जस्तै छ। लोकसेवाको तयारी गरिरहेका सुजित बिहानदेखि साँझसम्म पुस्तकालयमै हुन्छन्। निजी कम्पनीको जागिर छोडेर उनी हाल लोकसेवा तयारी गरिरहेका हुन्। 

‘घरमा बस्यो पढाइमा ध्यान जान गाह्रो। यहाँ त सबै पढेको देखेपछि आफूलाई पनि पढ्न मन लाग्ने रहेछ, अनि नियमित आउन थालेको हुँ,’ उनले भने। 

गत वर्ष ७० करोड लागतमा सबलीकरण सकिएपछि केशर पुस्तकालयको पुरानै भवन फेरि खुलेको हो। अहिले यहाँ ३०० भन्दा बढी विद्यार्थी दैनिक पढ्न जाने गरेका छन्। २०७२ सालको भूम्कपका कारण पुस्तकालय टहराबाट सञ्चालित थियो। टहरा हुँदा नै दैनिक १०० विद्यार्थी आउने गरेका थिए। आफनै भवनबाट सञ्चालनमा आएपछि विद्यार्थीको संख्या पनि बढेको हो।

पुस्तकालय प्रमुख यादवचन्द्र निरौला पढ्न आउने विद्यार्थीका कारण  भवनको धेरै स्थान भरिभराउ हुने गरेको बताउँछन्। अध्ययन कक्ष विद्यार्थीहरूका लागि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खुला हुने उनले जानकारी दिइन्। 

‘आफ्नै पाठ्यसामग्री बोकेर आउने विद्यार्थी लोकसेवा, शिक्षक सेवा, मेडिकल इन्ट्रान्स, कलेजको परीक्षा लगायतको तयारी गरिरहेका हुन्छन्,’ उनले भने। 

पुस्तकालयमा विशेष गरी जेनजी पुस्ता ज्यादा आउने गरेको निरौला बताउँछन्। 

ठूलो क्षेत्रफल, हरियो बगैँचामा पनि बसेर पढ्न मिल्ने, शान्त र सफा वातावरणका कारण केशर पुस्तकालय विद्यार्थीको रोजाइमा परेको उनको भनाइ छ।

३५ रोपनीमा फैलिएको पुस्तकालयमा हाल तीन सरकारी कार्यालय सञ्चालित छन्। आन्दोलनमा सिंहरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जलेपछि अहिले यही केशर पुस्तकालय भवनमा सारिएको छ। भूकम्पअघि भने शिक्षा मन्त्रालय यही भवनमा थियो। पछि त्यसलाई सिंहदरबारमा सारिएको थियो।

मन्त्रालय आएपछि भने पढ्न आउने विद्यार्थीका लागि ठाउँ साँघुरो भएको महसुस उनले गरेका छन्।

तत्कालीन श्री ३ चन्द्र शमशेरका छोरा केशर शमशेरले यो भवनमा आफ्नो निजी पुस्तकालय बनाएका थिए। पछि यो केशरमहलको नामले पनि चिनियो। केशर शमशेर बेलायत भ्रमणमा जाँदा पुस्तकालय र संग्रहालयबाट प्रभावित भएर देश फर्केपछि व्यक्तिगत रूपमा पुस्तकालय सञ्चालनमा ल्याएका थिए। पुस्तक, ऐतिहासिक वस्तु, आखेटोपहार, चित्रकला तथा फोटोग्राफीलाई संकलन गरेर पुस्तकालयमा राखिएको छ।

केशर शमशेरको संकलन पुस्तकालय मात्र नभई पछि संग्रहालयकै रूपमा विकास भयो। उनकै चाहनाअनुसार परिवारले २०२६ मा उक्त पुस्तकालय तथा संग्रहालयसहितको जग्गा सरकारलाई हस्तान्तरण गरेको थियो।

निरौलाका अनुसार अंग्रेजी, नेपाली, हिन्दी, नेपालभाषा (नेवारी), संस्कृतलगायत भाषा तथा विविध विधाका ६५ हजार पुस्तक पुस्तकालयमा छन्। त्यस्तै महत्वपूर्ण कागजातका पाण्डुलिपि, दस्तावेज, चित्रकला, पत्रपत्रिका, फोटोग्राफी, आखेट छन्।

‘केशरशमशेरले संकलन गरेका पेन्टिङ, बाघको टाउको, भालुको छाला, सिंह, जरायो, जंगली भैँसीको छाला छन्,’ निरौलाले भने, ‘राजाहरूले गरेको सिकार पनि सुरक्षित राखिएको छ।’

केशर पुस्तकालयलाई अब अध्ययन गर्ने थलोसँगै संग्रहालय नै बनाउने लक्ष्य रहेको उनी बताउँछन्।

‘पुस्तक मात्र नभई अन्य संकलन रहेकाले पछि म्युजियम पनि बनाउने उदेश्य लिएका हौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad