खेल


यूएईमाथि नेपालको रोमाञ्चक जित

यूएईमाथि नेपालको रोमाञ्चक जित

लक्ष्मी जि.सी
असोज २६, २०८२ आइतबार १९:३९, काठमाडौँ

आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा चीर प्रतिद्वन्द्वी संयुक्त अरब एमिरेन्ट्स (यूएई)माथि रोमाञ्चक जित निकाल्दै नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ। नेपाल र यूएईलाई विश्वकपनजिक पुग्न आजको खेलमा जितको आवश्यक थियो। 

आइतबार भएको खेलमा यूएईलाई १ रनले पराजित गर्दै नेपालले सुपर सिक्समा ४ अंक बनाएको हो। नेपालले २ अंक समूह चरणमा जापानलाई हराउँदै पाएको थियो। आजै भएको सुपर सिक्सको पहिलो खेलमा कतारलाई ३४ रनले पराजित गर्दै ओमानले अंक तालिकामा ४ अंक बनाउँदै शीर्ष स्थानमा छ। 

ओमानसँगै समान ४ अंक भए पनि नेपाल नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ। नेपालसँग पराजित भए पनि २ अंक भएको यूएई तालिकाको तेस्रो स्थानमा छ। 

एसोसियट एल क्लासिको भिडन्तमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो। 

यूएईका लागि अलिसान सराफुले सर्वाधिक ५८ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। ४० बलमा ३ चौका र ५ छक्का प्रहार गरेका अलिसान दिपेन्द्र सिंह ऐरिको बलमा बोल्ड आउट हुन पुगे। 

ओपनर जोनाथन फीजी १९ रनमा पेभेलियन फर्के। ध्रुभ परासनले ३२ रन बनाए। १९ औँ ओभरको अन्तिम बलमा ध्रुभ परासरले नन्दन यादवलाई छक्का प्रहार गरेपछि नेपाल दबाबमा आएको थियो। 

यद्यपी अन्तिम ओभरको तेस्रो बलमा सरासरले दिपेन्द्र सिंह ऐरिलाई छक्का हानेपछि नेपाल हारनजिक पुगेको थियो तर चौथो बलमा सन्दीप जोराले परासरलाई क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए। 

पाचौँ ओभरमा हैडर अलीलाई सन्दीप जोराले रन आउट गराएपछि नेपालले केही राहत महसुस गरेको थियो। ओभरको अन्तिम बलमा जैद अली रन आउट भएपछि नेपालले युएईमाथि रोमाञ्चक जित निकालेको हो। 

नेपालका लागि दिपेन्द्र सिंह ऐरिले ३ विकेट झारे। सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे। 

ओमानको अल एमिरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४० रनको योगफल तयार पारेको थियो।  

पहिलो विकेटका लागि ओपनर आशिफ शेख र कुशल भुर्तेलले ७.५ ओभरमा ५६ रनको साझोदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। 

२६ बलमा २ चौका र २ छक्का सहयोगमा २८ रन बनाएका कुशल भुर्तेल हर्सित कौशिकको बलमा एलबीडब्लू धरापमा परे। 

१९ बलमा १ चौका सहयोगमा २० रन बनाएका कप्तान रोहित पौडेल मुहम्मद रोहिदको बलमा क्याच आउट हुन पुगे। 

आशिफ शेख ५१ रन बनाउँदा ध्रुभ पारासरको बलमा बोल्ड आउट भए। ४७ बलमा ४ चौका र १ छक्का हानेका आशिफ १६ औँ ओभरमा पेभेलियन फर्के। 

दिपेन्द्र सिंह ऐरि १ रनमा क्याच आउट भए। गुल्सन झा ५ बल २ चौका र १ छक्का सहयोगमा १४ रन बनाउँदा क्याच आउट नै हुन पुगे। १८ औँ ओभरमा गुल्सनले पहिलो बल डट राखे। दोस्रो बलमा चौका, तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गरे। तर पाचौँ बलमा क्याच आउट हुन पुगे। 

कुशल मल्ल १० रन बनाउँदा क्याच आउट नै भए। सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा नटआउट रहे। 
युएईका लागि हर्सित कौशिक, ध्रुभ पारासर, जाहिद अली, हाइडर अली, जुनैद सिद्दीकी र मुहम्मद रोहिदले समान एक विकेट आफ्नो नाममा गरे। आजै हुने सुपर सिक्सको अर्को खेलमा सामोया र जापान खेल्नेछन्।

आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको खेलमा यूएईमाथि रोमाञ्चक जित निकाल्न अलराउण्डर दिपेन्द्र सिंह ऐरि नायक बने। 

यूएईविरुद्धको खेलमा प्लेयर अफ दि म्याचसमेत बनेका दिपेन्द्रले खेलपछि आफ्नो प्रर्दशनबाट खुसी भएको बताएका छन्। 

खेलपछिको पोष्ट म्याच प्रेजेन्टसनमा दिपेन्द्रले भने, 'एकदमै खुसी छु। नेपाललाई विश्वकपमा पुर्‍याउन यस्तो प्रर्दशन गरेँ। पहिला पनि राम्रो गर्थेँ। पहिलाको भन्दा अलि कम भए पनि राम्रो गरिरहेको छु।' 

आगामी खेलबारे दिपेन्द्रले कुनै टोलीलाई कमजोर नठानी खेल्नुपर्ने प्रतिक्रिया दिएका छन्। 

उनले थपे, 'सबै खेल राम्रो खेल्नुपर्छ लोड नलिइकन कुनै टोलीलाई कमजोर ठान्नुहुन्न र हामी विश्वकपमा छनोट भएर फर्कनुपर्छ।'
 
यूएईविरुद्ध नेपाललाई रोमाञ्चक दिल दिलाउन दिपेन्द्रले आफ्नो स्पेलमा २२ रन खर्चेर ३ विकेट झारे। नेपाललाई महत्वपूर्ण जित दिलाउन इनिङ्सको अन्तिम ओभर रोमाञ्चक बनेको थियो। 

अन्तिम ओभरको पहिलो बलमा दिपेन्द्रले जाहिद अलीलाई १ रन दिए। दोस्रो ओभर डट राखेका उनलाई तेस्रो बलमा भने धु्रव परासरले छक्का प्रहार गरे। 

ओभरको चौथो बलमा परासरलाई सन्दीप जोराले क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए। पाचौँ बलमा हैदर अलीलाई सन्दीप जोराले विकेट किपर आशिफ शेखको हातबाट रन आउट गराए। 

ओभरको अन्तिम बलमा जुनैद सिद्दीकी कप्तान रोहित पौडेल र आशिफको हातबाट रन आउट भएपछि नेपालले युएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad