संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०२६ को पुरुष टी–२० विश्वकपमा स्थान बनाएसँगै सबै २० टोलीको टुंगो लागेको छ ।
अर्को वर्ष भारत र श्रीलंकामा क्रिकेट टी–२० विश्वकप आयोजना हुँदै छ ।
बिहीबार ओमानको अल अमरातमा आयोजित एसिया–पूर्वी एसिया प्रशान्त क्वालिफायर प्रतियोगितामा ८ विकेटले जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट भएको हो ।
यसअघि नेपाल र ओमान यही प्रतियोगिताबाट शीर्ष–६ को खेलमा शीर्ष ३ मा परेका थिए । आयोजकद्वय भारत र श्रीलंकाबाहेक स्वतः योग्य प्रणालीअनुसार सन् २०२४ को टी–२० विश्वकपबाट शीर्ष रहेका सात टोलीहरु अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजले पनि स्थान सुरक्षित गरिसकेका थिए ।
त्यसैगरी टी–२० वरीयताको आधारमा न्यु जिल्यान्ड, पाकिस्तान र आयरल्यान्ड पनि विश्वकपमा छनोट भइसकेका छन् । उक्तबाहेक क्यानडा अमेरिका क्वालिफायरबाट, इटली र नेदरल्यान्ड्स युरोपको पाँच टोली छनोट प्रतियोगिताबाट छनोट भइसकेका छन्।
यसबाहेक नामिबिया र जिम्बाब्वे आठ टोली सहभागी भएको अफ्रिका छनोटबाट योग्य हुँदा नेपाल, ओमान र यूएईले एसिया–ईएपी राउन्डबाट विश्वकपमा छनोट भएका हुन्।
सन् २०२६ को विश्वकप यसअघिकै विश्वकपको फर्म्याटमा हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले जनाएको छ। विश्वकपमा २० टोलीलाई चार टोलीको पाँच समूहमा विभक्त गरिनेछ। टोलीहरूबीच राउन्ड–रोबिन शैलीमा खेल हुनेछ।
समूहका एकअर्काबीचको खेलपछि शीर्ष २ टोली सुपर ८ मा प्रवेश गर्नेछन्। जहाँ उनीहरुलाई चार टोलीको दुई समूहमा राखिनेछ। यसमध्ये सुपर ८ का शीर्ष २ टोली सेमिफाइनल प्रवेश गर्नेछन्।
सेमिफाइनलका विजेताहरुले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्।
Shares

प्रतिक्रिया