खेल


नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्समा अनुबन्ध

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्समा अनुबन्ध

नेपालखबर
कात्तिक १०, २०८२ सोमबार १८:१६, काठमाडौँ

कर्णाली याक्स स्पोट्स प्रालिले नेदरल्याण्ड्सका ओपनिङ ब्याटर म्याक्स्वेल प्याट्रिक ओ डाउडलाई अनुबन्ध गरेको छ। 

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को लागि नेदरल्यान्ड्सका अनुभवि ब्याटर अनुबन्ध गरेको जानकारी गराएका छन्। 

यसअघि कर्णाली याक्सले पहिलो विदेशीमा स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र दोस्रो विदेशीको रुपमा अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरेको थियो। 

‘हामीले ओपनिङ ब्याटिङ जोडी मजबुद बनाउने योजनासहित एसोसिएट राष्ट्र नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेका हौं,’ निर्देशक घिमिरेले भने, ‘उनी त्रिविको मैदान र नेपाली खेलाडीसँग राम्रोसँग परिचित छन्। त्यसले हामीलाई पक्कै फाइदा पुग्नेछ।’ 

कर्णालीले बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडले पहिलो पटक एनपीएल खेल्दैछन्।
 
३१ वर्षीय म्यान्स ओ डाउडले नेदरल्यान्ड्सबाट ८७ टी–२० खेल खेलिसकेका छन्। जसमा उनले २ हजार तीन सय ९ रन बनाएका छन् । उनले एक सतकसहित १६ अर्धसतक बनाएका छन्। 

कीर्तिपुरको मैदानमै उनले मलेसियाविरुद्ध ७३ बलमा करियरकै अविजित सर्वाधिक एक सय ३३ रन बनाएका थिए। उनले नेदरल्यान्ड्सको लागि ६५ एकदिवसीय खेलमा दुई हजार १५३ रन बनाइसकेका छन्। 

दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ। कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दैछ। २०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको  कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्। 

कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad