अखिल नेपाल फुटबल संघ (एन्फा)ले झण्डै तीन वर्षयता सहिद स्मारक ए डिभिजन लिग गर्न सकेको छैन। यसले खेलाडीहरू रोजगारी खोज्दै विदेश पलायन हुन बाध्य छन्।
ए डिभिजन लिग नेपाली घरेलु फुटबलको मेरुदण्ड हो। तर लामो समयदेखि स्थगित हुँदा सिनियर टोलीले घरेलु मैदानमा समेत औपचारिक फुटबल खेल्न पाएको छैन। निर्बाध रुपमा लिग सञ्चालन गर्नुपर्ने दायित्व बिर्सेर एन्फा नेतृत्व भने आन्तरिक राजनीतिमा व्यस्त छ।
जसले लिग पर्खेर बसेका खेलाडीहरूलाई पनि आजित बनाएको छ। खेलाडी निराश भइरहँदा सोमबार मात्र एन्फाले विज्ञप्तिमार्फत १४ महिनापछि मात्रै ए डिभिजन लिग गर्ने निर्णय गरेको जानकारी दियो। एन्फाका अनुसार २०८३ को पुसमा मात्र ए डिभिजन लिग हुनेछ।
त्यसअघि पुस ९ गतेदेखि राष्ट्रिय लिग सञ्चालन गर्ने बताएको थियो। त्यसमा ए डिभिजन क्लबका पदाधिकारीहरूले सहमति गरेको समेत एन्फाले बताएको छ।
एन्फाले ‘होम एन्ड अवे’को आधारमा अर्को वर्षमात्र ए डिभिजन लिग गर्ने बताएपछि खेलाडीहरूले सामाजिक सञ्जालमा विरोध गरेका छन्। ए डिभिजन लिग गर्न दबाबस्वरूप खेलाडीहरूले केही समय अघिदेखि नै सामाजिक सञ्जालमा विभिन्न पोस्ट गर्न थालेका थिए। तर सोमबार रातिदेखि भने त्यसलाई तीव्रता दिएका छन्।
नेपाल फुटबल खेलाडी संघले विज्ञप्ति जारी गर्दै असन्तुष्टि व्यक्त गरेको थियो। संघले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई प्रतिवेदन नै पेस गरेको छ।
कसले के भने?
राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले सामाजिक सञ्जाल फेसबुकमा अझै १३ महिना लिग नहुने एन्फाको घोषणाप्रति दुःख व्यक्त गरेका छन्।
‘म आफू ए डिभिजन लिगको साविक विजेता चर्च ब्वाइज युनाइटेडको कप्तान तथा उक्त लिगको सर्वोत्कृष्ट खेलाडी पनि हुँ। सामान्य अवस्था हुन्थ्यो भने म त्यसपछि अझै २ संस्करणको लिगमा उपाधि जोगाउन वा जित्न खेलिरहेको हुन्थेँ तर त्यो सौभाग्य मैले पाउन सकिनँ’, उनले भनेका छन्।
उनी हाल बंगलादेशको क्लबसँग आबद्ध रहे पनि नेपालको लिग भए फुकुवा हुने प्रावधान सम्झौतामा राखेको बताउँछन्।
उनले भने, ‘अझ कतिको मंसिरसम्म मात्र सम्झौता छ। आज मलाई साविक विजेताको ट्याग भारी भएको छ। म हरेक वर्ष लिग खेलेर च्याम्पियन बन्न चाहन्छु, एकपटक खेलेर सधैँभर होइन। लिग मेरो लागि मात्र होइन, मजस्ता हजारौँ खेलाडीको लागि हो। सबै ए, बी र सी डिभिजन क्लबका सरहरूलाई दश औँला जोडेर बिन्ति गर्छु, हामी खेलाडीलाई जिउँदै नमार्नुहोस्।’
गोलरक्षक विकेश कुथुले पनि एन्फालाई सुनाउँदा सुनाउँदा थाकेको बताएका छन्।
‘हामीलाई मैदानमा खेल्न दिनुभएको छैन, हिजो यो बारे आवाज उठाउँदा पनि मेरो फेसबुक रिपोर्ट गरेर बन्द गर्ने प्रयास भयो। तर सत्यको मुख थुनेर हुदैन विचार गर्नुस्। खेलाडीहरूको आशुँ र पसिनाको मुल्य तिर्नुपर्छ’, उनले भनेका छन्।
‘खेलाडीहरू अन्ततः विदेशिन बाध्य हुने नै हुन् त?’
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले एन्फा र क्लबका पदाधिकारीसँग भेट गरेका थिए। त्यसलाई नै कटाक्ष गर्दै नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले ए डिभिजन लिग सञ्चालन नभएकोबारे नै आवाज उठाएका छन्।
उनी भन्छन्, ‘माननीय युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताज्यू, हामी खेलाडीहरूले राखेका मागमध्ये ए डिभिजन लिग तत्काल सञ्चालन गर्ने विषय लागू भयो कि भएन?’ एन्फासँग खेलाडी संघ लडिरहेको उनको भनाइ छ।
‘तर तपाईंलाई एन्फाले खेलायो कि तपाईं आफैं खेल्नुभयो? यदि अझै पनि ए डिभिजन लिग यो वर्ष हुने माग पूरा भएको छैन भने — तपाईंले भन्नुभएको अनुसार, के तपाईं पनि हामीसँगै सडकमा खेल्न तयार हुनुहुन्छ?’, मन्त्रीलाई उनको प्रश्न छ।
राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द ठकुरीले पनि एन्फाले लिग सञ्चालन हुने भने पनि विश्वास नलागेको उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा उनको प्रश्न छ, ‘ए–डिभिजन लिग अझै कति पटक सर्ने हो? खेलाडीहरू रहरले विदेश पलायन भएका होइनन्, अव्यवस्थित र दूरदृष्टिविहीन प्रणालीका कारणले गर्दा हो। अब अर्को वर्ष बल्लतल्ल ए डिभिजन लिग होला, तर बी र सी डिभिजनका खेलहरू कहिले हुने हुन्? लिगको प्रतीक्षामा रहेका अधिकांश खेलाडीहरू अन्ततः विदेशिन बाध्य हुने नै हुन् त?’
यता राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनले पनि खेलाडीको मर्म र भावनामाथि खेलबाड गरेको भन्दै एन्फाको आलोचना गरेका छन्।
‘खेलाडीको मर्म र भावनामाथि खेलबाड नै गर्ने यस निर्णयको खेलाडी संघ घोर भत्र्सना गर्दै एन्फाको यो कदमविरुद्ध मौखिक, लिखित र सामाजिक संजालबाट उठेर अब सडक संघर्षमै उत्रन बाध्य भएको महसुस गराएको छ। यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी एन्फा हुनेछ’, उनले भनेका छन्।
अन्य खेलाडीहरूले समेत सामाजिक सञ्जालबाट एन्फालाई लिग गराउनका लागि दबाब दिइरहेका छन्। तर सामाजिक सञ्जालबाट गरिएको खबरदारीले एन्फा नेतृत्वलाई यसको कुनै वास्ता छैन।
यसरी नै लिगहरू नहुने हो भने अझै थुप्रै खेलाडीहरूले वैदेशिक रोजगारीलाई गन्तव्य बनाउन बाध्य हुने उनीहरुको भनाइ छ।
Shares

प्रतिक्रिया